Advertisement

प्रभावकारी बन्दै ‘बालिका बचत’ कार्यक्रम

0 232

Advertisement

१४ चैत, खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाभरिका १२९ बालिकाको नाममा बचत गर्ने काम भइसकेको छ ।

कार्यक्रमअन्तर्गत हालसम्म ४६ बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । उहाँका अनुसार खाता खोलेको दश वर्षपछि नवीकरण गर्नुपर्नेछ ।

नगरपालिकाले वार्षिकरुपमा रु चार हजारका दरले तीन वर्षमा रु १२ हजार रकम जम्मा गरिदिने र त्यसमा घरपरिवारले पनि सकेको रकम जम्मा गर्ने गरेका छन् । यसबाट छोरीहरुको भविष्य उज्वल बन्ने आमाहरुको विश्वास छ ।

नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनका लागि सुरु गरेको सो कार्यक्रमअन्तर्गत खाता खोलिएका बालिकाको नाममा नगरपालिकाले जम्मा गरिदिएको भौचर सम्बन्धित बालिकाहरूका आमालाई प्रदान गर्ने गरिएको छ । समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले सो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख बिमला राईले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गतको सहयोग पाउन गर्भावस्थामा आमाले नियमित स्वास्थ्य जाँच गरेको र वर्थिङ सेन्टर (प्रसूति गृह) वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । उपलब्ध प्रमाणका आधारमा वडाले रकम जम्मा गरिदिन नगरपालिकालाई सिफारिस गर्नेछ ।

वडाको सिफारिसका आधारमा नगरपालिकाले सम्बन्धित बालिकाको नाममा सालपा विकास बैंकमा खोलिएको खातामा रकम जम्मा गरिदिनेछ । कार्यक्रम सुरु गरेपछि नगरपालिकामा नियमित गर्भजाँच गराउने र वर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने महिलाको संख्यासमेत वृद्धि हुँदै गएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभएको छ ।

कार्यक्रमअन्तर्गत छोरीको नाममा खाता खोलेर तीन वर्षको उमेर पुग्दासम्म किस्तागत रूपमा वार्षिक चार हजारका दरले खातामा रकम जम्मा गरिदिने गरेको छ । सालपा विकास बैंकको हलेसी शाखाले सो रकमको वार्षिक नौ प्रतिशतले ब्याज उपलब्ध गराउने छ ।

बैंक खातामा जम्मा भएको रकम बालिका १५ वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले रकम जम्मा गरिदिएको खातामा स्वयम् बालिकाको परिवारले समेत आफूले सकेको रकम बचत गर्न सक्ने बैंकका प्रबन्धक भाष्कर श्रेष्ठले जानकारीदिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले भने अहिलेसम्म उक्त कार्यक्रम लागू गरेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बर्थिङ सेन्टर भने सबैमा सञ्चालन गरिएको छ ।

सूचनाको हक कार्यान्वयनमा जोड

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली (थापा)ले सूचनाको हकको कार्यान्वयनले मात्र देशको विकास सम्भव हुने बताउनुभएको छ । सूचनाको हक र यसको कार्यान्वयनसम्बन्धी आइतबार दिक्तेलमा भएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले जनतालाई जगाउन र सरकारलाई घचघच्याउन सूचनाको हकको भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।

“प्रजातान्त्रिक देशमा सूचनाको हकको महत्वपूर्ण भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “सरकारलाई पारदर्शी र जवाफदेही बनाउन यसको खास महत्व छ । सूचना माग्नुस्, आउनुस्, कानुनले दिन मिल्ने सूचना लुकाउनुपर्ने कारण नै छैन ।”

स्थानीय तहबाट सूचनाको हक कार्यान्वयन नभएको पाइएको जनाइएको छ ।

कार्यक्रममा आयोगका सचिव भागीरथ पाण्डेयले माग गरेको सूचना नपाएको भन्दै सबैभन्दा बढी उजुरी स्थानीय तहविरुद्ध परेको जानकारी दिनुभयो । स्थानीय तहबाट सूचना नपाएको जनाउँदै आर्थिक वर्ष २०७६-०७७ मा ५३१ र आव २०७७-०७८ मा ५४५ उजुरी परेको आयोगले जनाएको छ ।

आयोगका अनुसार बैंक तथा वित्तीय संस्था (आर्थिक) सम्बन्धी आव २०७६-०७७ मा ७० र आव २०७७-०७८ मा ३२ , सूचना तथा सञ्चार प्रविधिसम्बन्धी आव २०७६-०७७ मा पाँच र आव २०७७-०७८ मा छ, कानुन, न्याय तथा प्रशासनसम्बन्धी आव २०७६-०७७ मा ५६ र आव २०७७-०७८ मा ३१ उजुरी परेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा खेलकुदसम्बन्धी आव २०७६-०७७ मा ९४ वटा र आव २०७७-०७८ मा ५६ वटा, खानेपानी, विद्युत् तथा यातायातसम्बन्धी आर्थिक वर्ष २०७६-०७७ मा १० र आव २०७७-०७८ मा २० , संस्थान तथा प्राधिकरणसम्बन्धी आव २०७६-०७७ मा ११ र आव २०७७-०७८ मा ७ , जग्गा, मालपोत, भूमि, वन तथा कृषिसम्बन्धी आव २०७६-०७७ मा ३४ र आव २०७७-०७८ मा १३ उजुरी परेको छ ।

गैरसरकारी संस्था तथा अन्य संस्थासम्बन्धी आव २०७६-०७७ मा २०१ र आव २०७७-०७८ मा ३१ , प्रहरी तथा सुरक्षा निकायसम्बन्धी आव २०७७-०७८ मा ११ र पर्यटनसम्बन्धी आव २०७६-०७७ मा एक उजुरी परेको जानकारी कार्यक्रममा दिइएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.