Advertisement

करिब १५ सय रोपनी जग्गा चकलाबन्दी गरेर सामूहिक खेती

0 271

Advertisement

१३ फागुन, गोरखा । जिल्लाको करिब १५ सय रोपनी जग्गामा चकलाबन्दी गरेर सामूहिक खेती गरिएको छ । सिजन अनुसार कृषक समूहले विभिन्न खेती गर्दै आएका छन् ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन गरेको जग्गा चकलाबन्दी कार्यक्रम अन्तर्गत जिल्लाका चार ठाउँमा चकलाबन्दी गरेर खेती सुरु गरिएको हो । अजिरकोट, शहीद लखन, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकामा उक्त कार्यक्रम लागू भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अजिरकोट गाउँपालिका-४ फुरभुजेमा चकलाबन्दी गरिएको १५८ रोपनी जग्गामध्ये ५० रोपनीमा मार्गदर्शक कृषि सहकारीले धैलागिरी जातको गहुँ लगाएको छ । गत वर्ष ८० रोपनीमा गहुँ र ४५ रोपनीमा तोरी खेती गरेको सहकारीले त्यस अघि रैथाने जातको धान लगाएको थियो । चकलाबन्दीका लागि गण्डकी प्रदेश सरकारबाट ३५ लाख रकम अनुदान पाएको सहकारीका पूर्णचन्द्र दवाडीले बताए ।

सिरानचोक गाउँपालिका-४ छोप्राकमा १ हजार ६ रोपनी जग्गा चकलाबन्दी गरेर खेती गरिएको छ । जन्मभूमी कृषि सहकारी संस्थाले तीनवटा प्लट बनाएर धान खेती गरेको छ ।

हाल हर्दिनाथ–१ र चैते धानको बीउ लगाइएको संस्थाका हरि अधिकारीले बताए । चकलाबन्दीका लागि गण्डकी प्रदेश सरकारले रोपनीको २४ हजारका दरले रकम उपलब्ध गराएको थियो भने २ हजार केजी धानको बीउ अनुदानमा उपलब्ध गराइएको थियो ।

त्यस्तै, सोही क्षेत्रको ३० रोपनी जग्गामा महिला चेतना कृषि तथा पोखरेल एर्गिकल्चर फर्मले आलु खेती गरेको छ । टिपिएस–१ जातको आलु लगाइएको संस्थाका अमर पोखरेलले बताए ।

३५ क्विन्टल आलुको बीउ अनुदानमा पाएको उनले जानकारी दिए ।
शहीद लखन गाउँपालिका–३ मनकामनाको कल्लेरीमा १६९ रोपनी जग्गा चकलाबन्दी गरिएको छ । साना किसान सहकारी मार्फत सो क्षेत्रमा आलु, तोरी, गहु, काक्रोलगायत खेती गरिएको छ । करिब १६० रोपनीमा खेती भएको चकलाबन्दी उपसमितिका लाल बहादुर थापाले बताए । ‘गत बर्ष सावित्री जातको धान लगाएका थियौ, अहिले तरकारी खेती गरेका छौ,’ उनले भने ।

चकलाबन्दीका लागि गण्डकी प्रदेश सरकारबाट ३८ लाख ५६ हजार रकम अनुदान पाएको उनले जानकारी दिए ।

त्यस्तै, पालुङटार नगरपालिका–७ को १३६ रोपनी जग्गा चकलाबन्दी गरेर मकै र धान खेती गरिएको छ । लक्ष्मी बहुउदेश्यीय सहकारीले मकै र धान खेती गरेको हो । उक्त सहकारीलाई मकैको बीउसँगै मकै रोप्ने, गोड्ने, ड्याङ बनाउने मेसिनलगायत कृषि औजार अनुदानमा उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चकलाबन्दीका लागि उक्त सहकारीले २० लाख रकम अनुदान पाएको थियो ।

जग्गा फराकिले बनाएर सामूहिक खेती गराउने उदेश्यका साथ गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ बाट जग्गा चकलाबन्दी कार्यक्रम सञ्चालन गरेको हो ।

५० रोपनी देखि १०० रोपनीसम्म जग्गा चकलाबन्दी भएमा दश लाख, १०० देखि २०० रोपनीसम्मलाई बढीमा २० लाख र २०० भन्दा माथि भएमा प्रतिरोपनी दश हजारका दरले अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत प्रमोद गैह्रेले बताए । चकलाबन्दी भएको ठाउँमा यस वर्ष उन्नत प्रविधी प्रदर्शनी कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.