Advertisement

याक चौँरी जोगाउन मुस्किल

0 461

Advertisement

२९ माघ, फुङ्लिङ । चर्न गएका याक चौँरी नभेट्दा साङ्बु शेर्पा निकै पिरोलिनु भएको छ । निरन्तर हिमपातले याकहरू कुन ठाउँमा हिउँले पुरेको छ, उहाँलाई थाहा छैन । फक्ताङलुङ गाउँपालिका–७ याङमागाउँ निवासी उहाँ याकहरु देख्न नपाएर दिनरात पिररोलिरहनुभएको छ । शेर्पाको पुख्र्यौली पेशा नै याक गोठ हो ।

सत्तरीवटा याक शेर्पाले हेर्दै आउनुभएको थियो । अहिले प्रायः प्रत्येक दिन हिमपात भइरहेको छ । याङमा गाउँ ताप्लेजुङ जिल्लाकै उच्च स्थानको बस्ती हो । समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित सो बस्तीमा प्रायः हिमपात भइरहन्छ । अहिले याङमामा हिउँले भरिएको छ ।

यहाँ ११ घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँको पुख्र्योली पेशा घुम्ती याक गोठ हो । एक चरन क्षेत्रको घाँस सकिएपछि अर्को चरन क्षेत्रमा गोठ सार्ने काम हुन्छ । अहिले हिमपातको समय छ । हिमपातमा याक जोगाउन भदौ र असोजमै घाँस काटेर घाममा सुकाएर जोहो गरी राख्नु पर्दछ । विगत वर्षभन्दा यस वर्ष निरन्तर हिमपात भइरहेको छ ।

निरन्तर हिमपात हँुदा शेर्पाले जोहो गरेर राखेको घाँस पनि सकिएको छ । चरन क्षेत्रमा हिउँले सबै पुरिएकाले कतै घाँस छैन । याक भोकभोकै हिउँमा फसेका छन् । याकको सा–साना बाछा गोठभित्र राखिएको छ । बाछालाई पनि जाडोबाट जोगाउन समस्या हुने गरेको शेर्पाले बताउनुभयो ।

साङ्बु शेर्पाको मात्रै होइन, याङमा बासिन्दाकै पीडा उस्तै छ । विगत वर्षभन्दा यस वर्ष अलिक धेरै हिमपात भएको छ । हिमापातले हिमाली क्षेत्रको जनजीवनसँगै पशुचौपायलाई समेत निकै असर पारेको छ । चरन क्षेत्रमा हिउँले छोपिएसँगै याक भोकभोकै भएको याकपालक याङ्डे शेर्पाले बताउनुभयो । उहाँका अनुसार जोहो गरेको घाँस पनि सकेकाले याकलाई जोगाउन मुस्किल भएको छ । गोठमा भएको याक कहाँ–कहाँ छन् भनेर आफूले खोज्न नपाउँदा चिन्ताले सताएको उहाँले बताउनुभयो ।

विगतका वर्षहरूमा हिमपाहिराले र हिउँमा फसेर धेरै याक मरेको गोलाङचुङ गोलाका याक किसान तेन्जिङ शेर्पाले बताउनुभयो । ठाउँ–ठाउँमा अहिले पनि हिमपहिराकोे क्रम चलिरहेता पनि क्षति भने नभएको उहाँको भनाइ थियोे । एउटा याक रु ५० हजारदेखि एक लाख पर्दछ । हिमपहिरो र हिउँमा फसेर भोकले म¥यो भने किसानलाई ठूलो आर्थिक क्षति हुने किसान शेर्पाले बताउनुभयो ।

न्यानो कपडाको अभाव

याकपालक किसानलाई हिमपात हुँदा न्यानो कपडा अभाव हुने गरेको पशुपालक किसानले बताए । आफ्नो गोठमा रहेको याक कुन ठाउँको हिउँमा फसेका छन् भनी खोज्न जान आफूसँग आवश्यक न्यानो कपडा, हिउँमा लगाउने जुत्तासमेत नभएको याङमाका फुटी शेर्पाले बताउनुभयो । हिमाली क्षेत्रका याकपालक कृषकको समस्या स्थानीय सरकारले नबुझेको उहाँले गुसानो गर्नुभयो ।

चिसोले दर्जनौँ बाख्रा मरे

ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनाँै बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मरेका हुन् । हिमपातसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार ३०० मिटर उचाइ रहेको फले अवस्थित छ ।

फलेकी स्थानीय फुटी शेर्पाका अनुसार हिउँ पर्न थालेसँगै चिसो अत्यधिक बढेपछि बाख्रा मर्न थालेका हुन् । शेर्पा आफैँले पालेका ३१ वटामध्ये हालसम्म १० वटा बाख्रा मरिसकेका छन् । उहाँले चिसोबाट जोगाउनलाई बाख्रा खोर (गोठ)भित्र राख्ने गरेको भए पनि राखेकै ठाउँमा मर्न थालेका बताउनुभयो । बेलुका तन्दुरुस्त देखिएका बाख्रा बिहान मरिराखेको पाइने गरेको उहाँको भनाइ थियो ।

लामो समयदेखिको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मर्न थालेका अर्का स्थानीयवासी पेमाला शेर्पाले बताउनुभयो । उहाँका अनुसार फलेमा एक दर्जनजति परिवारको बसोबास रहेको र हाल प्रत्येक परिवारले पालेका बाख्रा मर्न थालेका छन् । हिजोआज चरन क्षेत्र सबै हिउँले ढाकेको छ भने चिसोका कारण बाख्रा धमाधम मर्न थालेपछि ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको पीडितहरूको भनाइ थियो ।

यता चिसोसँगै अन्य कारणले बाख्रा मरेको भएमा उपचार र परीक्षण गराउने कुनै व्यवस्था नभएको पनि उनीहरुले बताए । बाख्रालगायत पशुचौपायाको उपचार तथा परीक्षण सेवाका लागि फलेका बासिन्दाले गाउँपालिका केन्द्र तापेथोक र सदरमुकाम फुङ्लिङमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

फलेदेखि तापेथोक पुग्नलाई दुई दिनको पैदलयात्रा गर्नुपर्छ भने सदरमुकाम फुङ्लिङका लागि तीन दिन लाग्छ । यहाँदेखि नजिकको बस्ती भनेको घुन्सा करिब दुई घण्टाको पैदल दूरीमा रहेको छ । त्यस्तै अर्को बस्ती ग्याब्ला करिब पाँच घण्टाको दूरीमा पर्दछ । दुर्गम क्षेत्र फलेका बासिन्दाले अहिलेको समयमा पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गर्न चाहेमा पनि तत्काल सम्भव नरहेको बताए ।

चिसोबाट पशुचौपायालाई बचाउने उपायबारे आफूहरु पशु विषेशज्ञको परामर्शका साथै स्थानीय जनप्रतिनिधिसँग सहयोग लिने पहुँचमा नरहेको पनि फुटी शेर्पाले बताउनुभयो । हिउँका कारण अहिले आउजाउ गर्नलाई बाटो अवरुद्ध रहेको छ भने सहजरूपमा टेलिफोन सम्पर्क गर्ने स्थितिसमेत नभएको उहाँको भनाइ थियो ।

स्थानीयवासीका अनुसार बाख्राबाहेक चौँरी र अन्य पशुचौपायालाई पनि चिसोले निकै समस्या बनाएको छ । त्यहाँका बासिन्दा हाल घरभित्रै आगो तापेर बस्नाका साथै साथै न्यानो–न्यानो कपडा प्रयोग गरेर बस्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.