Advertisement

रासायनिक मलको भर पर्दा हुन छाड्यो प्रांगारिक खेती

0 240

Advertisement

२५ माघ, काठमाडाैँ । कुनै समय नेपालको कृषि प्रणाली प्रांगारिक मलमा अधारित थियो। तर, पछिल्लो समय वार्षिक अर्बौँ रुपैयाँ बराबरको रासायनिक मल भित्रिने गरेको छ। त्यैपनि नेपालमा हरेक वर्ष रासायनिक मल अभाव हुन्छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार नेपालमा हरेक वर्ष १५ देखि २० अर्ब रुपैयाँ बराबरको रासायनिक मल आयात हुन्छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ मा रासायनिक मलको कारखाना खोल्न पहिलो पटक बजेट पनि छुट्याएका थिए। रासायनिक मलको आयात घटाउन सरकारले स्वेदशमै कारखाना खोल्ने योजना बनाएको थियो।

तर, सरकारले रासायनिक मलको विकल्प मानिएको प्रांगारिक तथा कम्पोष्ट मललाई प्रवर्द्धन गर्न सकेको छैन। नेपालमा प्रांगारिक मलको प्रयोग न्यून हुँदा माटोमा हुनै पर्ने प्राङगारिक पदार्थको तहसमेत घट्दै गएको छ। प्राङगारिक मल प्रवर्द्धन प्रविधि प्रसार विशेषज्ञ डा. विष्णुकुमार धितालका अनुसार रासायनिक मलको साटो प्रांगारिक तथा कम्पोष्ट मल प्रयोग गरेर त्यस्तो तह फर्काउन सकिन्छ।

गाई, भैँसी, बाख्रा आदि घरपालुवा जनवारको विष्टालाई सदुपयोग गरेर प्रांगारिक मल बनाउन सकिन्छ। सुधारिएको गोठे मल नै प्रांगारिक मल भएको डा. धितालले बताए। प्राङ्गरिक मलले नपुगेमा कम्पोष्ट मल बनाएर रासायनिक मलको विकल्पमा प्रयोग गर्न सकिने उनको भनाइ छ। ‘कम्पोष्ट मल बनाउनका लागि खाल्डो बनाउनु पर्छ। यसमा गाईवस्तुको मल हुँदैन। कम्पोष्ट मलका लागि एक ठाउँमा कारखाना खोलेर हुँदैन। घरघरमा बनाउनुपर्छ,’ उनले भने।

प्रांगारिक मल प्रवद्र्धनका लागि सरकारी प्रयास नभएका भने होइनन्। सरकारले प्रांगारिक कारखाना र मल बनाउनका लागि मापदण्ड बनाएको थियो। २०७७ सालमा नै यस्तो मापदण्ड बनाए पनि ठूलो मात्रामा प्रांगारिक मल उत्पादन हुन सकेको छैन।

कसरी बनाउने प्रांगारिक तथा कम्पोष्ट मल?

प्रांगारिक मल गाईवस्तुको तथा जनावरको मलमूत्रबाट बनाइन्छ। गाउँघरमा गाई, भैसी, बाख्रालगायत जनावर पालिने हुँदा तिनीहरूको मलमूत्रबाट बनाइएको मललाई नै प्रांगारिक मल भनिन्छ।

प्रांगारिक मल बनाउन गोबर वा वस्तुभाउको विष्टा र सोतर मिलाइन्छ। विष्टाको दुई गुणा सोतरको मात्रा राखेर मिश्रण गरी थुप्रो लगाइन्छ। थुप्रो लगाएको मललाई महिनाको एक पटक राम्रोसँग मिसिने गरी पल्टाउनुपर्छ। यसरी तीनदेखि चार पटक पल्टाएपछि प्रांगारिक मल तयार हुन्छ।

पराल, छ्वाली, उखुको पात, झारपात, स्याउला, रुखबाट झरेको पात, रुखको कलिलो डाँठ, तरकारी केलाएर फ्याँकिने बोक्रा खाल्डोमा कुहाएर कम्पोष्ट मल बनाउन सकिन्छ। कम्पोष्ट मल बनाउँदा सामग्रीहरू जति साना टुक्रा भए त्यति नै छिटो र सजिलोसँग कुहिन्छ। कम्पोष्ट मल बनाउन उपयुक्त चिस्यान हुनुपर्छ।

सुक्खायाममा कम्पोष्ट बनाउन सकिन्छ। कम्पोष्ट मल बनाउने खाल्डो दुई हात अर्थात् एक मिटरभन्दा बढी गहिरो बनाउनु हुँदैन। चौडाइ पनि दुई हातभन्दा बढी हुनु राम्रो हुँदैन। लम्बाइ भने आवश्यकताअनुसार बनाउन सकिन्छ। एक मिटर गहिरो, एक मिटर चौडा र एक मिटर लम्बाइ भएको खाडल वा थुप्रोमा करिब ४० डोको अर्थात् एक टन कम्पोष्ट मल बनाउन सकिन्छ। त्यसैअनुसार आवश्यकता अनुसार कम्पोष्ट मल बनाउन सकिन्छ।

‘प्रांगारिक र कम्पोष्ट मल बनाउने विधि सुधार्नु आवश्यक’

कृषिविज्ञ डा. कृष्ण पौडेल रासायनिक मलले बालीलाई विकृत गर्ने हुँदा प्रांगारिक खेतीतर्फ लाग्नुपर्ने बताउँछन्। रासायनिक मलबाट उत्पादन बढ्ने भ्रम त्याग्नुपर्ने उनको भनाइ छ। तर, समाज फेरिँदै जाँदा गाउँघरमा समेत प्रांगारिक मल बन्न छाडेको उनले बताए।

‘किसान झोला बोकेर विदेश जान थाले। काम गर्ने जनशक्ति छैन। त्यसैले रासायनिक मलको प्रयोग बढेको छ,’ उनले भने। गोठे मल, कम्पोष्ट मल बनाउने विधि सुधार गर्न सके यसको प्रयोग बढ्ने उनी बताउँछन्।

प्रांगारिक मल कारखाना बनाएर यसको उत्पादन नबढ्ने उनको भनाइ छ। ‘प्राङगारिक मल गोठमा बन्ने हो। कारखानामा बन्दैन। कम्पोष्ट मल पनि माटोमा झारपात र स्याउला कुहाएर बनाउने हो। बरु मल बनाउने प्रक्रियालाई सुधार गर्नतिर लाग्नुपर्छ,’ डा. पौडेलले भने।

झारपात र घरबाट निस्किने कतिपय कुहिने फोहोर पनि डढाउने या फाल्ने चलन छ। त्यसरी जलाउँदा र फाल्दा प्रदूषण बढ्ने डा. धिताल बताउँछन्। उक्त फोहोरलाई कम्पोष्ट मल बनाउन सकिने उनको भनाइ छ। हरियो स्याउला कुहाएर पनि कम्पोष्ट मल बनाउन सकिन्छ।

कारखाना चलाउनेभन्दा पनि सरकारले प्रांगारिक मल उत्पादन गर्न विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्नु पर्ने डा. धितालले बताए। किसानले उत्पादन बढाउने सोचले जथाभावी रासायनिक मल बढाइरहँदा माटोको गुणस्तर खस्केको उनको भनाइ छ। ‘माटो बिग्रनुको धेरै कारणमध्ये रासायनिक मलको अत्यधिक प्रयोग पनि हो,’ उनले भने, ‘कतिपय किसानहरूले अहिले ठूला होटल, रेष्टुरेन्टहरुसँग समन्वय गरेर अर्गानिक उत्पादन बेचिरहेको उदाहरण पनि छन्। अर्गानिक खेतीका लागि सरकारले बजार सुनिश्चित गरे संभव हुने यसले देखाउँछ।’

रासायनिक मलको आयातमा हरेक वर्ष वृद्धि

प्रांगारिक तथा कम्पोष्ट मल बनाउनको लागि समय बढी खर्च हुने र प्रक्रिया लामो भएकाले रासायनिक मलको प्रयोग बढ्दै गएको डा. धिताल बताउँछन्। कतिपय किसानले धेरै गाईवस्तु पाल्न छाडिसकेको र प्राङगारिक मलको प्रयोग गर्न झन्झटिलो मान्ने हुँदा पनि रासायनिक मलको माग बढेको उनले बताए।

केही स्थानीय तहहरुले प्राङगारिक मल उत्पादनमा जोड दिए पनि किसान भने रासायनिक मलतर्फ नै आकर्षित भएको उनको भनाइ छ। ‘खाल्डो खन्नु पर्‍यो। झारपात, स्याउला काटेर ल्याउनु पर्‍यो,’ उनले भने, ‘मिहिनेत बढी भएकाले रासायनिक मलको प्रयोग बढेको हो।’

नेपालमा वार्षिक चार लाख मेट्रिक टन रासायनिक मल आयात हुने गरेको छ। कृषि सामग्री कम्पनीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा तीन लाख २८ हजार २१७ मेट्रिक टन मल आयात भएको थियो। त्यसपछि वर्षेनी आयात बढेको छ। गत आर्थिक वर्ष चार लाख दुई हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.