Advertisement

पीसीआर परीक्षण शुल्क सरकारीमा ८०० र निजीमा १२ सय बनाउने तयारी

0 165

Advertisement

०५ माघ, काठमाडाैँ । ललितपुरको गोदावरीका एक व्यक्तिमा केही दिनअघि कोभिड–१९ संक्रमण देखियो । संयुक्त परिवारमा बस्ने उनको परिवारका सदस्यलाई पालैपालो संक्रमणको लक्षण देखिन थाल्यो । घरका आठ सदस्यमध्ये पाँच वर्षीया बालिकाबाहेक सबैमा लक्षण देखियो । तर, तीनजनाको नतिजा पोजिटिभ आएपछि अरूको परीक्षण गराइएन ।

काठमाडौंको घट्टेकुलो डेरा गरी बस्ने एक निम्नवर्गीय परिवारका तीनजना सदस्यमा पनि केही दिनअघि कोभिड संक्रमणका लक्षण देखिए । दोस्रो लहरको संक्रमणमा चारैजना संक्रमित भएको सो परिवारले फेरि परीक्षण गराउन चाहेन ।

बिहान–बेलुका तरकारी व्यापार गर्ने यो परिवारका अभिभावक भन्छन्, “पहिलेकै लहरमा जँचाउँदा, उपचार गर्दा निकै खर्च भयो । अहिले श्रीमती, छोरी र मलाई कोरोनाको लक्षण देखिएको छ । हुन त खासै गाह्रो भएको छैन, तैपनि जँचाउँदा फरक त नपर्ने हो । तर, कति मात्रै खर्च गर्नु, फेरि नेगेटिभ नआउँदासम्म जँचाइरहनुपर्‍यो ।”

ललितपुरवासी आठ सदस्यीय परिवारको पनि समस्या उही थियो, गाईपालनबाट गुजार्ने उनीहरूका लागि आठजनाको दोहोर्‍याएर पीसीआर परीक्षण गर्नु सामान्य कुरा थिएन । ती व्यक्ति भन्छन्, “एक महिनाको कमाइले पनि परीक्षण गर्न नपुग्ने देखेपछि चुप लागेरै बसेका छौँ ।

पीसीआर शुल्ककै कारण परीक्षण नगराउने समस्या यी दुई परिवारको मात्रै होइन । अहिले आम नेपालीको समस्या बनेको छ । पछिल्लो दुई सातायता अधिकांश परिवारमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिन थालेका छन् ।

यो अवस्थामा रोगको पहिचानकै लागि पनि अनिवार्य परीक्षण गराउन सरकारले पटक–पटक आग्रह गरिरहेको छ । तर, एउटै परिवारका  धेरैजनामा लक्षण देखिए पनि परीक्षणमा लाग्ने खर्चका कारण रोग लुकाएरै बस्ने नागरिकको संख्या बढ्दो छ ।

सर्वोच्चको आदेशकै अवज्ञा

 सर्वोच्च अदालतले ०७७ असोज १५ गते कोरोनाभाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको थियो । असोज २७ गते आएको आदेशको पूर्णपाठमा निजी प्रयोगशाला र भिसा प्रयोजनका लागि गरिने पीसीआर परीक्षणमा पनि शुल्क नलिन भनिएको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको पूर्णपाठमा कुनै पनि बहानामा पीसीआर परीक्षणमा शुल्क लिन नमिल्ने उल्लेख छ । लक्षण देखिएका व्यक्तिको सरकारी अस्पतालमा निःशुल्क पीसीआर परीक्षण हुन्छ, तर लक्षण नदेखिएकाले सरकारीमा पनि एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

निजी अस्पताललाई सरकारले तोकेको पीसीआर परीक्षण शुल्क प्रतिस्वाब नमुना दुई हजार रुपैयाँ हो । तर, सेवा शुल्क र विभिन्न बहानामा केही निजी अस्पतालले लिएको चर्को शुल्कको अनुगमन नै छैन ।

यता, सर्वोच्चले लक्षण वा चिह्न भएका व्यक्तिको मात्र परीक्षण गर्छु, अरूको गर्दिनँ भन्नु संविधानको मौलिक हक र जनस्वास्थ्य सेवा ऐन, २०७५ को व्यवस्थाविपरीत हुने स्पष्ट पारेको छ ।

पछिल्लो समय नेपालमा कोभिड संक्रमितको संख्या बढिरहँदा सरकारले सर्वोच्चको आदेश नै अवज्ञा गरेको भन्दै पीसीआर परीक्षण निःशुल्क हुनुपर्ने आवाज उठिरहेको छ । “पीसीआर परीक्षणका लागि कीट, रिएजेन्ट, जनशक्ति सबैको हिसाब गर्दा पनि ८०० रुपैयाँभन्दा बढी खर्च हुँदैन,”  एक निजी प्रयोगशालाका ल्याब टेक्निसियन भन्छन् ।

सरकारले पीसीआर परीक्षण निःशुल्क गर्नुपर्ने भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र समेत पठाएको छ । पत्रमा पीसीआर परीक्षणका लागि प्रयोग हुने टेस्ट कीटको अधिकतम साइज ९६ प्रयोग गर्दा पनि अधिकतम ८०० रुपैयाँभन्दा बढी खर्च नलाग्ने भन्दै पीसीआर र एन्टिजेन परीक्षण निःशुल्क गराउन तत्काल आदेश जारी गर्न सरकारलाई अनुरोध गरिएको छ ।

सरकार भन्छ– पीसीआर शुल्क घटाउँदै छौँ

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार अहिले दैनिक १७ हजार नमुनाको हाराहारीमा पीसीआर र १५ सयको हाराहारीमा एन्टिजेन परीक्षण हुने गरेको छ । ५९ सरकारी र ४५ निजी गरी अहिले १०४ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । अस्पतालमा परीक्षणको दायरा बढाउने हो भने अहिले देखिएको भन्दा चार गुणासम्म बढी संक्रमित भेटिने जनस्वास्थ्यविद्हरूको दाबी छ ।

तर, सरकारले परीक्षणको दायरा बढाउन न निःशुल्क सेवा दिएको छ न समुदायस्तरमा परीक्षण नै । निःशुल्क परीक्षण गर्नुपर्ने चौतर्फी दबाब आएपछि बरु केही शुल्क घटाउनेतर्फ सरकार लागेको छ ।

शुल्क घटाउने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गुणराज लोहनीको संयोजकत्वमा शुल्क समायोजन समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा ‘फिल्ड’बाट फर्किएपछि शुल्कबारे अन्तिम निर्णय गरिने स्वास्थ्यसचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

पीसीआर शुल्क घटाएर सरकारी अस्पतालमा प्रतिस्वाब नमुना ८०० र निजीमा एक हजार २०० रुपैयाँ तोक्ने तयारी भएको मन्त्रालयका एक अधिकारीले बताए । अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ पीसीआर शुल्क लिइँदै आएको छ ।खोप अभियान सफल पार्न भन्दै मधेस प्रदेशतर्फ गएका मन्त्री खतिवडा भोलि काठमाडौं फर्कँदै छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.