Advertisement

अर्गलका मगर समुदाय सिस्नो खोसेर कुलपूजा गर्न व्यस्त

0 318

Advertisement

२२ मंसिर, बागलुङ । ताराखोला गाउँपालिका–२ अर्गलका रैथाने मगर समुदाय सोमबारदेखि कुलपूजामा व्यस्त छन् । कुलपूजालाई उनीहरु पुस्तैनी पर्वका रूपमा लिन्छन् । तीन दिनसम्म हर्षबढाइँ गर्छन् । अर्गलीका कुलपूजामा अनौठो परम्परा छ, सिस्नो खोस्ने । यदि त्यसलाई झिकिदिने हो भने कुलपूजा अपुरो हुन्छ । पहिलो दिन कुल (समाज) घरमा भेला भएर गाउँलेहरु पूजापाठ गर्छन् । दोस्रो दिन सिस्नो खोस्छन्, त्यसपछि नचरीसहित पर्व सकिन्छ ।

मगरजनले कुलपूजामा छोरी, ज्वाइँचेला र आफन्तलाई निम्ता गरी मिठोमसिनो खुवाउँछन् । एकापसमा खुशी साट्छन्, रमाउँछन् । त्यस पर्वमा कुलसँगै भूमि र प्रकृति पूजा पनि हुन्छ । कूलपितृको उद्धार, मानवजातिको भलोका निमित्त अर्चना हुन्छ । रोगव्याधी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गरिन्छ । सिस्नो खोस्ने परम्परालाई युवायुवतीबीच भेटघाट हुने, आत्मियता बाँड्ने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्कता पनि झल्कने लोकविश्वास छ ।

कुलपितृका नाममा बलि चढाइएको सुँगुरलाई सिस्नोको मुठाभित्र बाँधेर अविवाहित युवायुवतीबीच खोसाखोस गर्ने चलन रहेको स्थानीयवासी दिलबहादुर रोकामगरले बताउनुभयो । एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा ‘आयो, आयो…’ भन्दै गीत गाउँछन् भने पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरु हुन्छन् । अर्को छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न तम्तायर युवतीहरु हुन्छन् ।

हातमा सिस्नो समातेका युवकहरु युवतीहरुको नजिक पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । युवतीहरु पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस । यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । युवायुवतीबीच सिस्नो खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । युवतीले जिते युवकहरुले दण्ड तिर्नुपर्ने चलन छ । जसले जिते पनि सँुगुरको मासु पछि प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन् ।

“दिव्य बाह्र वर्षमा कुलपूजा गर्ने परम्परा छ”, रोकामगरले भन्नुभयो, “यो हाम्रो ठूलो पर्व हो, धेरै वर्षमा आउने भएकाले पनि यसको महत्व बढी छ ।” त्यहाँका सिँजाली रोकामगरहरुले १२ वर्षमा कुलपूजा गर्छन् । अरु मगर जातिमा भने थोरै वर्षको अन्तर पारेर पनि कुलपूजा गर्ने चलन छ ।

मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले मगर समुदायको कुलपूजा पुरानो संस्कृति र पद्धतिमा आधारित रहेको बताउनुभयो । उहाँले ताराखोला–२ अर्गलबाहेक ४ तारागाउँ र २ हिलमा पनि कुलपूजामा सिस्नो खोस्ने परम्परा रहेको उल्लेख गर्नुभयो । तारागाउँमा हरेक दुई वर्षमा भदौ शुक्ल (उजेली पक्ष) मा सिस्नो खोस्ने पर्व मनाइन्छ । त्यो पनि कुलपूजा नै हो । पन्र्धौँ शताब्दीतिर डोल्पाको ताराभोटबाट आएका मगरका पूर्वजले सो पर्वको चलन बसालेको सचिव घर्तीमगरले बताउनुभयो ।

सोही समयमा पाल्पाको अर्गलीबाट थातथलो सरी ताराखोला–२ मा आएका मगरहरुले अर्गलमा सिस्नो खोस्ने संस्कार थालेका हुन् । दुवै गाउँका रैथानेले सिस्नो खोस्ने पर्वलाई पुर्खाले छाडेर गएको नासोको रुपमा लिन्छन् । शाखापुर्खादेखि चल्ने आएको संस्कृतिका रूपमा गर्व गर्छन् ।

कुलपूजामा बुढापाका, अविवाहित युवायुवती मिलेर बाटो सफाइ गर्ने, पूजास्थलमा धामी नाच्ने, पितृ डाक्ने, तीन महिना अघि राखेको कोदोको जाँड चढाउने, खाने गरिन्छ । कुलथानमा साँढ, सुँगुर, बोका र भालेको बली दिने चलन रहेको कुल घरका सञ्जय रोकामगरले बताउनुभयो ।

“हिजैदेखि कुलपूजा सुरु भएको हो, आज सिस्नो खोसिन्छ र भोलि नचरी लगाएपछि पर्व सकिन्छ”, उहाँले भन्नुभयो । सिस्नो खोस्नुपूर्व पितृ र देउताको पूजासँगै गाउँका साँध सीममा रहेको वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झने चलन छ । गुरुबा र पुजारीहरुले ढ्याङ्ग्रो बजाउँदै गीत गाउँछन् ।

पुर्खा, कुलपितृ र देवीदेउतालाई गीतबाटै घुमाएर कुल (समाज) घरमा ल्याएर राख्ने परम्परा छ । स्थानीयवासीले यो पर्वलाई कुल र भूमिपूजाका रुपमासमेत लिन्छन् । सिस्नो खोस्ने पर्वसँगै, असारे, भुस पोल्नेलगायतका पर्व ताराखोलामा प्रचलित छन् । भनिन्छ, ३६५ दिनमा १४५ दिन ताराखोलामा मेला, पर्व चल्छन् । मगर समुदायले आफ्नै बलबुतामा पुरानो संस्कृतिलाई धान्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.