Advertisement

ओझेल पर्दै लिम्बू सङ्ग्रहालय

0 673

Advertisement

१२ कात्तिक, फुङ्लिङ । ताप्लेजुङमा रहेको लिम्बू समुदायको पहिचान झल्किने पहिलो लिम्बू सङ्ग्रहालय ओझेलमा पर्दै गएको छ । लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो र व्यवस्थापनको अभावमा ओझेलमा पर्दै गएको हो ।

जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र सरोकारवालाले संरक्षणका लागि चासो नदिएकाले ओझेलमा पर्दै गएको स्थानीयवासीको भनाइ छ । लिम्बू समुदायको पहिचान झल्काउने पुरातात्विक र ऐतिहासिक सामग्री सङ्कलन गरेर राख्नका लागि नेपालमै पहिलो पटक २०५७ सालमा उक्त सङ्ग्रहालय स्थापना गरिएको हो ।

लिम्बूको पहिचान झल्कने सामग्री प्रदर्शन र अध्ययन तथा अवलोकन गराई पर्यटन प्रवद्र्धन गर्नेसमेत उद्देश्य राखेर स्थापना गरिएको सङ्ग्रहालय गुमनाम (बेखबर)जस्तै बन्दै गएको छ । सङ्ग्रहालयमा सङ्ग्रहित सामग्रीको उचित व्यवस्थापन नहुँदा पुरातात्विक सामग्री जीर्णसमेत बन्दै गएका छन् । सङ्ग्रहालयमा लिम्बू समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको हातहतियार, सिकार गर्दा प्रयोग गर्ने आवश्यक सामग्री तथा लिम्बू समुदायको जन्म र मृत्यु संस्कारमा आवश्यकपर्ने सामग्री सङ्कलन गरेर राखिएको छ ।

त्यस्तै विसं १८१४ र १८३१ मा पृथ्वीनारायण शाहले लिम्बूसँग गरेको सन्धि–सम्झौता र युद्धमा प्रयोग गरिएको ढाललाई सङ्ग्रहालयमा संरक्षण गरेर राखिएको छ । लिम्बू समुदायका पुर्खाको पालादेखि प्रचलनमा रहेको फेदाङमा र बिजुवा (झाँक्री तथा पुजारी) ले प्रयोग गर्ने पहिरन जामा, पगरीजस्ता सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित छ । जुन सङ्ग्रहालयमा संरक्षण गरी राखिएको प्राचीन पुरातात्विक सामग्री हाल कतिपय लोप भइसकेका छन् भने केही लोपोन्मुख हुँदै गएका छन् ।

यसरी लिम्बूका पुर्खाको पालामा प्रयोग भएका हाल लोप हुँदै गएका घरेलु तथा प्राचीन सामग्रीको अध्ययन साथै अवलोकन गर्न सकिने भए पनि कमजोर व्यवस्थापनका कारण सङ्ग्रहालय ओझेलमा रहेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर जाने पदर्मागमा रहेकाले आन्तरिक साथै बाह्य पर्यटकसमेतले अध्ययन अवलोकन गर्ने केन्द्र बन्नसक्ने सम्भावना भए पनि अहिलेसम्म सङ्ग्रहालय ओझेलमा परेको बताइएको छ ।

त्यसो त जिल्लाका अधिकांश ठाउँमा सडकको पहुँच पुगेको भए पनि लिम्बू सङ्ग्रहालय रहेको मामाङ्खेमा अहिलेसम्म सडकले छोएको छैन । मामाङ्खेसम्म सडक पहुँच बिस्तार भएमा साथै सङ्ग्रहालयबारे आवश्यक प्रचारप्रसारसहित व्यवस्थापन गरिएमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने स्थानीयवासी बताउँछन् । पर्यटकीय केन्द्र बन्ने प्रशस्त सम्भावना भए पनि सङ्ग्रहालय व्यवस्थापन समितिले आवश्यक चासो नदिएकै कारण ओझेलमा परेको स्थानीय लोकेन्द्र लिम्बूको आरोप छ ।

उहाँका अनुसार सङ्ग्रहालय स्थापनाको केही वर्षसम्म निश्चित शुल्क बुझाएरै स्वदेशी तथा विदेशी खोज अनुसन्धानकर्ताले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गर्ने गरेका थिए । पछिल्लो समय उचित व्यवस्थापन हुन नसकेका कारण सङ्ग्रहालयको अध्ययन तथा अवलोकन हुन छाडेको स्थानीयवासीको भनाइ छ ।

सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष टीका माबो लिम्बूले भने सङ्ग्रहालयको थप व्यवस्थापनका लागि आर्थिक जुटाउन नसकेकै कारण ओझेलमा परेको बताउनुभयो । सङ्ग्रहालयमा लिम्बू समुदायको पुरातात्विक सामग्री प्रशस्तै संरक्षण गरेर राखेको भए पनि प्रदर्शन तथा व्यापक प्रचारप्रसारलगायतका कार्य बजेट अभावले गर्ने नसकेको लिम्बूको भनाइ छ ।

स्थानीय वुद्धिजिवी डा चित्र माबो लिम्बूले सङ्ग्रहालयको प्रवद्र्धनका लागि गुरुयोजना बनाएरै काम अघि बढाउने तयारी रहेको बताउनुभयो । लिम्बू समुदायको पहिचान र इतिहासलाई संरक्षण गर्ने कुरामा स्थानीय, प्रदेश हुँदै सङ्घसम्म प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले आवश्यक पहल र सहयोग गर्ने आश्वासन दिँदै आएका पनि डा लिम्बूले बताउनुभयो ।

सङ्ग्रहालय व्यवस्थापनका लागि बजेटसहित आवश्यक सहयोगको अपेक्षा स्थानीय तथा व्यवस्थापन समितिले गर्दै आएको बुझिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.