Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ : सहरी विकासमन्त्री झाँक्री

0 36

२३ असोज, दमौली । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताउनुभयो ।

मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो । भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने मन्त्री झाँक्रीले उद्घोष गर्नुभयो । मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षाअनुसार काम गर्ने बताउँदै भन्नुभयो, “हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ ।”

मन्त्री झाँक्रीले न्यायोचित विकासको पक्षमा रहेर काम गर्ने बताउँदै भन्नुभयो, “गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, न्यायोचित विकासको पक्षमा म छु ।” मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका सवालमा भइरहेका दलाली र विकृति अन्त्य गर्ने बताउनुभयो । समाजवादोन्मुख राज्य प्रणाली स्थापनाका निम्ति नीति, कानून र मापदण्ड बनाउँदै मन्त्री श्रेष्ठले श्रमिकले श्रमको मूल्य नपाउने अवस्थाको पूर्ण अन्त्य गरिने बताउनुभयो ।

कोभिड महामारीका कारण करिब १५ लाखले रोजगारी गुमाएको बताउँदै मन्त्री श्रेष्ठले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेको बताउनुभयो । “सबै क्षेत्रसँग समन्वय गरेर सकेसम्म देशभित्रै रोजगारका अवसर सिर्जना गर्ने र आत्मस्वाभिमानको साथ काम गर्ने वातावरणको निम्ति पहलकदमी लिनेछु”, मन्त्री श्रेष्ठले भन्नुभयो ।

औद्योगिक क्षेत्रमा श्रमिकमाथि हुने शोषणको अन्त्य गर्ने बताउँदै मन्त्री श्रेष्ठले औद्योगिक निकायसँग छलफल गरेर दीर्घकालीन समाधानको काम गर्ने बताउनुभयो । कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य कलिला खान, रेखा थापा बस्याललगायतले तनहुँ जिल्लामा एकीकृत समाजवादीको सङ्गठन सुदृढीकरणमा ध्यान दिने बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.