भारतमा पानीको अत्यन्तै अभावलाई झल्काइदिएको त्याे तस्विर
२१ जेठ, नयाँ दिल्ली । अनलाइनमा भाइरल भइरहेको एउटा तस्बिरले भारतको मध्यप्रदेश राज्यका विभिन्न भागमा पानीको अत्यन्तै अभावलाई झल्काइदिएको छ ।
तस्बिरमा एकजना महिला पानीको बन्दोबस्त गर्न ठूलो जोखिम मोलेर एउटा गहिरो इनारको पर्खाल ओर्लिरहेको देखिन्छ । इनार र पोखरीहरूसमेत सुक्न थालेपछि घुसिया गाउँका वासिन्दाहरूले पानीका लागि संघर्ष गरिरहेका छन् । भारतका अन्य थुप्रै क्षेत्रमा पनि पानीको हाहाकार छ ।
गत अप्रिलमा पनि महाराष्ट्र राज्यमा एकजना महिला इनार पसिरहेको अर्को एक भिडियो पनि भाइरल भएको थियो ।
सन् २०१९ मा सार्वजनिक भएको एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनमा पानीको अत्यन्तै समस्या भएका १७ वटा मुलुकमा भारत पनि परेको थयो । उक्त प्रतिवेदनमा भारतका मध्यप्रदेश, पन्जाब, राजस्थान, उत्तर प्रदेश, गुजरात, उत्तराखण्ड र हरियाणा राज्य सबैभन्दा समस्याग्रस्त रहेको उल्लेख थियो ।
मध्यप्रदेशमा हरेक गर्मीयाममा पानीको अति अभाव हुने गरेको छ । यहाँको राज्य सरकारले सन् २०२४ सम्ममा प्रत्येक गाउँमा धाराको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । तर, अझै लाखौँ मानिससमक्ष खानेपानी पुग्न सकेको छैन ।
पानीको अभावकै कारण घुसियाका गाउँलेहरूले सरकारविरुद्ध विरोध जनाउन यस वर्षको स्थानीय चुनाव बहिष्कार गर्ने बताइसकेका छन् ।