Advertisement

तरकारीको मूल्यमा व्यापारीको मनपरी, मूल्यवृद्धि आकासियाे

0 517

Advertisement

०८ चैत्र, डाेेेेटी । बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य वर्षेनी बढेको बढ्यै छ ।

डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्रहरुमा पछिल्लो समय तरकारीको मूल्य एकाएक वृद्धि भएको छ । दैनिक भान्सामा प्रयोग हुने तरकारीको मूल्य बढेपछि उपभोक्ता आक्रोशित बन्दै गएका छन् ।

व्यापारीले तरकारीमा मनपरी मूल्य कायम गरेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उपभोक्ताको माग छ ।

विगत एकहप्तादेखि डोटीमा हरियो तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको उपभोक्ताको गुनासो छ । तरकारीको मूल्य बढेपछि यहाँका होटल तथा स्थानीय उपभोक्ता बढी मारमा परेको दिपायल पिपल्लाका स्थानीयवासी मानबहादुर धामीले बताए ।

उनले भने, “उपभोक्ताको मागअनुसार तरकारी आउन छोड्यो, व्यापारीले मनपरी मूल्य काम गरे नियन्त्रण गर्ने कसले ।”

यसैगरी तरकारीसँगै फलफूलको मूल्यमा समेत वृद्धि भएको बताइएको छ । फलफूलहरुमा स्याउ, अनार, सुन्तलालगायतका मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

स्थानीय उपभोक्ता रामसिंह कार्कीका अनुसार यहाँका तरकारी बजारमा सबैभन्दा बढि गोलभेँडाको भाउ बढेर प्रतिकिलो रु २०० तथा प्याजको मूल्य पनि रु २०० पुगेको छ ।

केही दिन पहिले प्रतिकिलो रु १०० मा पाउने गरेको गोलभेँडा एकाएक दुईगुणाले वृद्धि भएको अर्का उपभोक्त वीरभान विकले बताए। उनले भने, “सबैभन्दा बढी प्रयोग हुने प्याज र गोलभेँडा हो, त्यसैको भाउ बढेपछि कसरी घर खर्च चलाउने ।”

पर्याप्त मात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारण तराईबाट तरकारीलगायत अन्य सामग्री आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको श्रीवास्तव तरकारी पिपल्लाका व्यापारी महेश श्रीवास्तवले बताए ।

उनले भने, “अहिले गाउँबाट तरकारी खासै आउँदैन, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्य वृद्धि भएको हो, तराईमै मूल्य बढेका कारण यहाँ पनि मूल्य बढेको हो ।”

छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुरबाट यहाँ वर्षेनी तरकारी आयात गरिँदै आएको छ । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ९०, हरियो खुर्सानी प्रतिकिलो रु १५०, स्मिला प्रतिकिलो रु ८० रहेको तरकारी व्यापारी बताउँछन् ।

यति मात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसलैपिच्छे तरकारीको मूल्य अलग–अलग लिने गरेको उपभोक्ताको गुनासो छ । दिपायलका स्थानीयवासी दिनेशबहादुर खत्रीका अनुसार यहाँका तरकारी पसलमा पसलैपिच्छे अलग–अलग मूल्य लिइँदै गरेको छ । मूल्यमा एकरुपता ल्याउनका लागि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन् ।

मूल्यवृद्धि भएका वस्तुमध्ये यी त केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारमूल्यमा चलखेल बढ्दो छ । मूल्य बढ्नुका खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् ।

बजारमा तरकारी, तेल र खाद्यन्नको मूल्य वृद्धि अनियन्त्रित भए पनि यो साता यससँग सम्बन्धित बजार अनुगमन भने कुनै निकायबाट हुन सकेको छैन ।

तरकारी, खाने तेल र खाद्यन्नको मूल्यले उपभोक्ताको ढाड सेकिएको बेला जिल्लास्थित बजार अनुगमन समितिले अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको उपभोक्ताको गुनासो छ । “मूल्य बढ्नुको एउटै कारण राजतीनि नै हो”, स्थानीय उपभोक्ता मानबहादुर धामीले भने, “त्यसैको मौकामा ठगी गर्ने व्यवसायी थप सलबलाएका छन् ।”

पछिल्लो समय तरकारी, खाने तेल र खाद्यान्नको मूल्य पनि क्रमिक रूपमा बढ्दै गएको छ । तर बजा अनुगमन समितिले हस्तक्षेप गर्न सकिएको छैन् । हुनत् समितिले अनुगमन नै नगरेको पनि होइन । तर प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ ।

अनुगमन भएपनि त्यो सङ्ख्यात्मक र देखावटी मात्र भएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । “सङ्ख्या बढाउने अनुगमनले बजार सुधार हुँदैन । भएको पनि छैन”, उनीहरुले भने, “अनुगमन जागिर र भत्ताका लागि मात्रै हुँदा उपभोक्ताले राहत महसुस गर्न पाएका छैनन् ।” कानूनविपरीत काम गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.