Advertisement

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवरभवानी

0 5

Advertisement

०९ वैशाख, काठमाडाैं । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित ऐतिहासिक भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । भुवरभवानी मन्दिरमा पर्यटन प्रवद्र्धन गर्दै जिल्लाकै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफुहरु लागिपरेको राप्ती सोनारी–३ बैजापुरका अगुवा प्रेमराज श्रेष्ठले बताए ।

“धार्मिक पर्यटकीय क्षेत्रका रुपमा भुवरभावनी मन्दिरलाई विकास गर्न हामी लागिपरेका छौँ”, उनले भने,“माघी मेलामा मात्र नभइ बाह्ैमहिना धार्मिक पर्यटक आउने वातावरण बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगको खाँचो रहेको छ ।”

भुवरभवानी मन्दिरमा थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा चार दिनसम्म पूजाआजासँगै माघी मेला लाग्ने गर्दछ । यसबाहेक जेठ महिनाको पञ्चमी तिथिमा जेठी पूजैया र मङ्सिरमा लवाङ्गी नयाँ अन्न चढाउने विशेष पूजा हुने स्थानीय अगुवा बरघरका नेता चौधरी विष्णुप्रसाद थारुले बताए ।

“राप्ती सोनारी गाउँपालिकाको वडा नं २, ३, ४ र ५का स्थानीयले भुवरभवानी मन्दिरमा विशेष आस्थाका साथ पूजाआजा गर्दै आएका छन्”, उनले भने,“जेठी र लवाङ्गी पूजैया गर्दा जति खर्च हुन्छ त्यो चार वडाका नौ सय घरपरिवारबाट दामासाही तरिकाले सङ्कलन गर्ने चलन रहेको छ ।”

भुवरभवानी मन्दिर परिसरमै बागेश्वरी मन्दिर पनि रहेको छ । भुवर भवानी तथा बागेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिले मन्दिरको व्यवस्थापन गर्दै आएको छ । बैजापुरको वनघुस्री क्षेत्रको हरियाली डाँडामा रहेको भुवरभवानी मन्दिर रमणीय र सुन्दर रहेकाले एकपटक पुग्ने व्यक्ति फेरि आउने गरेको मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका निवर्तमान अध्यक्ष तुलसीराम थारुले बताए । उनले आफ्नो कार्यकालमा मन्दिरलाई वैधानिक रुपमा सञ्चालनका लागि विधान बनाउनेदेखि मन्दिरको सौन्दर्यकरण र मन्दिर परिसरमा वनभोजस्थल निर्माण कार्य गरेको बताए ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारुले भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको बताए । आफू गाउँपालिका अध्यक्ष हुँदा मन्दिरको संरक्षण र सम्वद्र्धनका साथै पूर्वाधार विकासका काम गरेको उल्लेख गर्दै उनले अब धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

वडा नं २, ३, ४ र ५ का स्थानीय अगुवा, बडघर र मतहवाको उपस्थितिमा शनिबार भएको भुवरभवानी तथा बागेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिको पाँचौँ साधारणसभाले भुवरभवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ टीकाराम थारुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

साधारणसभाले दिएको कार्यदेश अनुरुप आफूहरु मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धनसहित पूर्वाधार विकासका काममा अग्रसर हुने नवनिर्वाचित अध्यक्ष थारुले बताए । वडा नं ३ का वडाध्यक्ष मीनकुमार चौधरीले प्रचारप्रसारको अभावमा ओझेलमा परेको भुवरभवानी मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक बजेटका लागि आफूले गाउँपालिका र प्रदेश सरकारसँग पहल गरेको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.