Advertisement

पनौतीको सम्पदा र सीप जोगाउन जुटे स्थानीय

0 11

Advertisement

१८ चैत, काठमाडाैं । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीको सम्पदा र परम्परागत सीप संरक्षण गर्न पनौती पर्यटन विकास केन्द्रले अभियान सुरु गरेको छ । केन्द्रले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने उद्देश्यले पनौती–७ त्रिवेणीघाटमा सम्पदा झल्कने कलात्मक भित्तेचित्र लेखन तथा महिलालाई परम्परागत सामग्री बुन्ने तालिम दिएको छ ।

त्रिवेणीघाट मन्दिर परिसरको घरका भित्ताले सम्पदास्थल कुरुप झैँ देखिएको थियो । नगरपालिकाको सुझावलाई आधार मानि विकास केन्द्रले मकर मेला र पनौतीको सम्पदा झल्किने भित्तेचित्र तयार पारेको छ । केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार विज्ञको सल्लाहमा नमुना तस्बिर तयार पारेर भित्तेचित्र बनाउन लगाइएको हो । बागमती प्रदेश सरकारको सहयोगमा चित्रकार आयुस बज्राचार्य नेतृत्वको टोलीले पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्किने आकर्षक भित्तेचित्र कोरेका छन् ।

पनौतीका साहित्यकार सूर्यप्रसाद लाकाजुले पनौतीको सम्पदा झल्कने र परम्परागत सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने काम भएको बताए । भित्ते चित्रको परम्परा निकै प्राचीन रहेको उल्लेख गर्दै उनले ब्रम्हायणी मन्दिर र त्रिवेणी सत्तलको भित्तेचित्रले पनौतीको ऐतिहासिकता झल्किएको बताए । भित्तेचित्रले मोकिल परम्परा, कलासंस्कृति जोगाउने काम गरेको र आधुनिककालको इतिहास लेख्न बाँकी रहेको लाकाजुले बताए । “रोशी खोला र पुण्यमाता खोलाको बीचमा रहेको त्रिवेणीघाट परिसरमा घरभन्दा मन्दिर बढी छ भन्ने भनाइ छ”, उनले भने,“त्यसको संरक्षण गर्न अब सङ्घसंस्था र स्थानीयवासीले यसरी अभियान थालनी गर्नुको विकल्प छैन ।”

भित्तेचित्रमा पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार पारिएको छ । केन्द्रका अध्यक्ष कर्माचार्यले पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढिरहेको बताए । उनले त्रिवेणीघाटमा निर्मित कलाकृतिले पर्यटकलाई आकर्षित गर्ने बताए । पनौती घुम्न आउने पर्यटकलाई सहज बनाउन ‘सम्पदा राहदानी’ प्रयोगमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

केन्द्रले नेवार समुदायमा प्रयोग हुने सामग्री बुन्ने सीपसमेत सिकाएको छ । त्यस्ता सीप भएका व्यक्ति र सीप लोप हुने अवस्थामा पुगेकाले ज्येष्ठ नागरिकमार्फत सीप हस्तान्तरण गर्ने काम गरेको हो । चोयाबाट बन्ने मिम्चा, ढकिचा, पिचा, खंँचा, कलालीलगायतका सामग्री बुन्ने सीप चैत ४ गतेदेखि १६ गतेसम्म युवा पुस्तालाई सिकाइएको केन्द्रले जनाएको छ । तालिममा सहभागीलाई प्रमाणपत्रसमेत दिइएको छ । सीप सिकाउने काममा ज्येष्ठ नागरिक आशामाया देउला, गणेशमाया देउला र दिलमाया देउला प्रशिक्षक थिए ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले कलामार्फत पनौतीको सम्पदा झल्कने कलात्मक भित्तेचित्रसँगै महासत्व बुद्धको चित्र अङ्कित गर्ने लक्ष्य रहेको बताए । पनौतीको पुरानो बजार क्षेत्र संरक्षण र सरसफाइमा आमनागरिक र सङ्घसंस्थाको सहयोग आवश्यक रहेको उनले बताए । विसं २०५८ मा संरक्षण क्षेत्र घोषणा भए पनि पनौती बजार क्षेत्र ओझेलमा परेको थियो । यसलाई उजागर गर्न नागरिकस्तरबाट लाग्नुपर्ने प्रमुख भण्डारीको भनाइ छ ।

बागमती प्रदेशसभा सदस्य तीर्थबहादुर लामाले पनौतीको ऐतिहासिक महत्व युवापङ्क्तिले बिर्संदै गएकाले यसको महत्व र गरिमा बचाउन जिम्मेवार भएर लाग्नुपर्ने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.