Advertisement

पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार

0 23

Advertisement

१२ चैत, काठमाडाैं । इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् ।

इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र १७ गते तेस्रो संस्करणको ‘इलाम साहित्य महोत्सव’ आयोजना हुन लागेको हो । जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । उनका अनुसार ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार सहभागी हुनेछन् ।

“इलाम आफैँमा एउटा रमणीय र सुन्दर पर्यटकीय जिल्ला हो । यसलाई साहित्यका माध्यमबाट थप विकास र प्रवर्द्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएका हौँ”, अध्यक्ष थाम्सुहाङले भने, “महोत्सवमा नेपाल र भारतका गरी दुई सय बढी साहित्यकार यहाँ आउनुहुनेछ ।” नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुहुने महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे बहस हुने उनले जानकारी दिए । उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको सम्भाषण हुने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन ‘सङ्घीयताः यस्तो वा कस्तो ?’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीको बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरुप र सुमिनाको बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा अरुण गुप्ता र राजन मुकारङबोको बहस र ‘आख्यानः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतको बहस हुने प्रतिष्ठनका अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णीम वाग्लेको प्रस्तुति रहनेछ भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङको बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोको बहस हुने आयोजकले जनाएको छ । साथै ‘कविताको स्वर’ शीर्षकमा गद्य कविता वाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कविता वाचनसमेत सोही दिन हुने अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

दोस्रो दिन ‘संरक्षण र पर्या–पर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णको बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुको बहस हुनेछ । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाको संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङको बहस र ‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ ।

‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीको बहस, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार ९कर्नाटक० र डा अस्मिता विष्टको बहस, ‘कस्तो राजनीति’ शीर्षकमा डा सिके राउत, प्रदीप गिरी र विश्वप्रकाश शर्माको बहस हुनेछ । साँझ गजल सन्ध्यासँगै महोत्सव समापन हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.