Advertisement

काठमाडौं विश्वविद्यालयमा ३ फागुनदेखि अन्तराष्ट्रिय उपकुलपति सभा

0 27

Advertisement

०१ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयको आयोजनामा फागुन ३–५ (फेब्रुअरी १५–१७) मा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा हुने भएको छ ।

भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्वावधानमा आयोजित सभा तथा सम्मेलनमा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरुको उपस्थिति काठमाडौं विश्वविद्यालयले जनाएको छ ।

विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल–विषय रहेको सम्मेलनमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछ ।

हालसम्म करीब २२७ सहभागीहरूले सहभागिताका जनाउने निश्चित भएको सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट र दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुने केयूले जनाएको छ ।

अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदानप्रदानलाई प्रोत्साहित काठमाडौं विश्वविद्यालयको दाबी छ । सभा साझा सन्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदानको दिशामा कोशेढुंगा सावित हुने काठमाडौं विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले बताइन् ।

उनले भनिन्, ‘सम्मेलनले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरू, विशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरू बीच सांस्कृतिक विचार आदान प्रदानलाई बढावा दिन्छ ।’ सहभागीहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न प्रभावकारी रणनीतिहरूको बारेमा विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान र पाठ्यक्रम विकास सहितका विषयहरुमा छलफल गर्नेछन् । अन्तर्राष्ट्रिय उपकुलपति सभामा तीन प्राविधिक सत्रहरू हुनेछन् ।

पहिलो सत्रमा ‘इन्टरनेसनल कोलावरेसन एन्ड पार्टनरशीपः बील्डीङ ब्रीड्जेज फर हाइयर एजुकेशन’ हुनेछ । जसमा सहभागीहरूले अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम, र प्राज्ञिक साझेदारीका फाइदाबारे छलफल गर्दै उच्च शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका साझा मार्ग निर्माणमा केन्द्रित हुनेछन् ।

दोस्रो सत्रमा ‘ग्लोबल हाइयर एजुकेशस पोलिसी एन्ड रेगुलेसन्सः हार्मोनाइजिङ स्ट्यान्डर्डस’ मा छलफल हुनेछ । यसमा नियमन र नीति निर्माणका साझा मुद्दाहरु, जस्तै, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य जस्ता विषयहरूमा छलफल गरेर विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रष्टता सहित आगामी कार्यदिशा पहिल्याउने प्रयास हुनेछ ।

यसैगरी, तेस्रो सत्रमा ‘स्टुडेन्ट मोविलिटी एन्ड डाइभर्सिटीः इन्ह्यान्सिङ इन्टरनेसनल एक्पिेरियन्स’ शिर्षकमा छलफल हुनेछ । यसमा विद्यार्थी गतिशीलता र त्यसको विविधताका अन्तर्राष्ट्रिय अनुभवका बारेमा छलफल हुनेछ । छलफल विद्यार्थी आदानप्रदान कार्यक्रमहरु प्रवर्धन गर्ने तरिकाहरूमा केन्द्रित हुनेछ, जसमा विश्वविद्यालयमा समावेशीता, सदासयता र सांस्कृतिक विविधताका विविध पक्षको शैक्षिक वातावरण विकास गर्दै वैश्विक तादात्म्य खोज्ने कार्य हुनेछ ।

विश्वविद्यालयकी प्रवक्ता पुनको अनुसार आ–आफ्ना विशिष्ठिकृत अनुभव र दृष्टिकोणकोलाई उच्चाशिक्षाको साझा समृद्धिमा रुपान्तरण गर्दै भूमण्डलीकृत संसारमा साझा सफलता खोज्नु अन्तर्राष्ट्रिय उपकुलपति सभाको मुख्य उद्देश्य रहेको छ ।

भारतीय विश्वविद्यालय संघको स्थापना सन् १९२५ मा बम्बई विश्वविद्यालयका उपकुलपति÷उच्च शिक्षा अधिकारीहरूको बैठकमा अन्तर–विश्वविद्यालय संगठनको रुपमा भएको हो ।

यसमा नेपालबाट काठमाडौं विश्वविद्यालय लगायत बाङ्लादेश, भुटान, काजकस्तान, मलेसिया, मरिसस, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र बेलायतका देशका १३ विश्वविद्यालय÷संस्थाहरू एसोसिएट सदस्य छन् । विश्वविद्यालयहरूको समसामयिक सरोकारहरूमा छलफल गर्दै उच्च शिक्षाको विकासका लागि संघले यस्तो सम्मेलनको आयोजना गर्दै आएको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.