Advertisement

यू–१९ एसिया कप: नेपालका लागि टेस्ट राष्ट्रलाई ‘चक्मा’ दिने अवसर

0 40

Advertisement

२२ मंसिर, काठमाडौं । शुक्रबारदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा एसीसी यू–१९ एसिया कप क्रिकेट सुरु हुँदैछ। नेपाली क्रिकेट टोलीले पहिलो खेलमा टेस्ट राष्ट्र पाकिस्तानसँग खेल्दै छ। यो खेल नेपाली यू–१९ का लागि महत्त्वपूर्ण मात्र छैन यसले नेपालको स्तर पनि विश्वसामु देखाउने छ।

यू–१९ भविष्यको नेपाली राष्ट्रिय टिम समेत हो। त्यस्तै, छिट्टै विश्वकप समेत खेल्ने भएकाले नेपालले शुक्रबारदेखि सुरु हुने एसिया कपमा गर्ने प्रर्दशन सबैका लागि चासो हुने छ भने नेपालकै लागि पनि महत्त्वपूर्ण हुने छ। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’मा छन् । समूह ‘बी’मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्।

प्रतियोगिता मंसिर २२ देखि पुष १ गते (डिसेम्बर ८देखि १७) सम्म चल्नेछ। यो अवधिमा नेपालले टेस्ट मान्यता प्राप्त र क्रिकेटको दुनियाका ‘बादशाह’हरुसँग खेल्ने छ। पछिल्लो समय सिनियर टिमले समेत एसिया कपमा गर्विलो खेल प्रर्दशन गरेका कारण त्यसबाट अघि बढेर प्रर्दशन गर्नुपर्ने चुनौती नेपाली यू–१९ टोलीलाई रहेको छ। यही दबाबलाई महसुस गरी नेपाली कप्तान देव खनालले आफूहरु फाइलनमा पुग्ने लक्ष्य लिएर मैदान उत्रने बताएका छन्।

सबै खेल आइसीसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्। नेपाललाई एसिया कप २०२४ जवनरी १३ देखि फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकपको तयारी पनि हो। र नेपालको स्तर देखाएर अहिलेदेखि नै चुनौती दिने अवसर पनि हो।

यू–१९ विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ। नेपालको समूहमा न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान जस्ता टोली छन्।

त्यसअघि भारत ,पाकिस्तान जस्ता देशसँग खेल्न पाउनुले विश्वकप अघि एसिया कप नेपालको सबैभन्दा राम्रो तयारीको मौका पनि हो। नेपालले हामी विश्व क्रिकेट खेल्न तयार छौँ भनेर संकेत दिने अवसर पनि हो। नेपालले यो खेलबाट आफूले सुधार गर्नुपर्ने कुरा र कमजोरीहरु पत्ता लगाएर विश्वकपमा सुधार पनि गर्न पाउँछ।

हुन त नेपालको यू–१९ टोली एकदमै राम्रो प्रर्दशन गरेर यहाँसम्म आएको हो। नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै २ उपाधि जितेको छ । यो मनोबलले पनि नेपाललाई धेरै हौसला दिने छ। शुक्रबार मैदानमा उत्रिँदा नेपालले पाकिस्तान यू–१९ टोलीलाई ‘चक्मा’ दिने रणनीति निर्माण गरिरहेको छ।

यू–१९ को इतिहास हेर्न हो भने पनि नेपालले टेस्ट खेल्ने देशहरुलाई स्तब्ध पार्ने नतिजा दिएको छ। नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई स्तब्ध पारेको थियो। तत्कालीन समयमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए। उनले भारतविरुद्ध अलराउण्ड प्रर्दशन गरेका थिए। उनले ८८ रन र ४ विकेट लिएका थिए। यसपटक पनि त्यस्तै प्रर्दशन गर्ने अपेक्षा गरिएका केही खेलाडीहरु नेपालसँग छन्।

सिनियर टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा, कप्तान देव खनाल, अर्जुन कुमालको खेल नेपालका लागि महत्त्वपूर्ण हुने छ। कुमालले १४३ रनको इनिङ खेल्दै आफ्नो क्षमता देखाएका छन्। उनले २ शतक समेत बनाएका थिए। त्यस्तै उनीहरुलाई राहुल त्रिपाठी, उत्तम थापा मगर, विशाल विक्रम केसीले ब्याटिङमा साथ दिने छन्। त्यस्तै बलिङतर्फ पनि नेपालले उत्कृष्ट प्रर्दशन गर्दै आएको छ। गुल्सनसँगै दिपेश कडेँल, हेमन्त धामी, आकाश चन्द र सुवास भण्डारीले नेपालको बलिङ इनिङ सम्हाल्ने छन्। नेपालले २ स्पिनर ३ फास्ट बलरलाई मैदानमा उतार्ने छ।

के भन्छन् प्रशिक्षक टमाटा र कप्तान खनाल?
कुनै समय नेपाली सिनियर टोली समेत सम्हालेका जगत टमाटाले यू १९ को टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन्। उनले भारत र पाकिस्तानसँग खेल्न नेपाल उत्साहित रहेको बताउँदै नेपाली खेलले केही न केही छाप छोड्ने दाबी गरेका छन्।

नेपालबाट विदाइ हुदाँ उनले यी देशहरुसँग खेल्दा अलग्गै मजा हुने पनि बताएका थिए। नेपालका कप्तान देव खनालले राम्रो खेलेर नेपाल फर्किने दाबी गरेका थिए। उनले नेपालको पनि लक्ष्य भनेको उपाधि जित्ने नै भएको बताएका थिए।

नेपाली टोली:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.