Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरण : आशंका गर्दै शीर्ष नेताहरुको भेटमाथि संसद्‌मा प्रश्न

0 11

Advertisement

०१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान चलिरहँदा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकाप एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटलाई लिएर संसदमा पनि प्रश्न उठेको छ।

प्रतिनिधि सभाको बैठकमा सोमबार विशेष समय लिएर बोल्ने सांसदहरुले शीर्ष नेताहरुले किन यो प्रकरणमा अनुसन्धान चलिरहँदा तारन्तार भेट गरिरहेको भन्दै जवाफ माग गरेका छन्। नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनीहरुको सम्बन्ध शीर्ष नेताहरुसँग भएको भन्दै आशंका भइरहेको उठेको समयमा शीर्ष नेताहरुको भेट र कुराकानीबारे सांसदहरुले प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा कुरा उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झाले विपतको समयमा एक साथ नहुने ठूला दलका नेताहरु किन तारन्तार भेट गरिरहेको भन्दै प्रश्न गरे।

‘नक्कली शरणार्थी प्रकरण सार्वजनिक भएपछि तीन दलका नेताहरु पटकपटक आपसमा भेट भएको सुनेका छौं। विपतको समयमा यसरी तारन्तार भेटेको सुनिएको थिएन,’ उनले भने, ‘अहिले किन भेटिरहेका छन्?’

उनले आशंकाको घेरामा रहेकाहरुको नाम किस्ताकिस्तामा बाहिर आउने कार्य पनि गलत भएको बताए। उनले यसरी किस्ताकिस्तामा नाम सार्वजनिक हुँदा प्रमाण लुकाउनदेखि आफूविरुद्धको प्रमाण समेत नष्ट गर्ने मौका प्राप्त भएको दाबी गरे।

‘शंकास्पदहरुको नाम एकै पटक सार्वजनिक होस्,’ उनले भने, ‘पटकपटक गरेर सार्वजनिक गर्ने अनि पक्राउ गर्ने कार्य नहोस्। जसले गर्दा प्रमाण पनि सुरक्षित होस्।’ उनले यो प्रकरणमा राम्रोसँग कारबाही हुन नसकेमा देश नयाँ आन्दोलनमा जाने बताए।‘के देश लामो आन्दोलनको तयारीमा हो?, ’ उनले भने, ‘हो भने हामी यसका लागि तयार नै छौं।’

त्यस्तै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी सार्वजनिक भएदेखि शीर्ष नेताहरुको दौडधुप र भेटघाटले धेरै आशंका जन्माएको बताए।

नेता यादवले केही दिनयता ठूला तीन दलका नेताहरु निरन्तर भेटिरहेकामा आशंका सिर्जना गरेको भन्दै यसलाई सामान्य घटनाको रुपमा लिन नहुने टिप्पणी गरे। ‘शीर्ष नेताहरुको लगातार भेटघाटले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको छ, ’ उनले भने, ‘यो सामान्य भ्रष्टाचारको मुद्दा मात्र नभई राष्ट्रद्रोह हो।’

उनले शीर्ष नेताहरुको भेटले यसलाई सामान्य भ्रष्टाचारको घटनामा रुपान्तरण गर्न सक्ने भन्दै आशंका समेत व्यक्त गरे। ‘यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदैछ, यो सामान्य भ्रष्टाचार मात्र होइन,’ उनले भने, ‘यो देशद्रोह हो। यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ।’

माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि नक्कली शरणार्थी प्रकरणलाई विषयान्तर गर्न नहुने भन्दै सरकारलाई सचेत गराए। उनले भ्रष्टाचारका विषयमा सिंगै देश र अन्तर्राष्ट्रिय जगत बहसमा भएको भन्दै मानव तस्कर सहितको विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने माग गरे।

‘सम्पूर्ण रुपमा देश यही विषयमा केन्द्रित भएर निष्कर्षमा पुर्‍याइनुपर्छ,’ उनले भने,‘घटनालाई विषयान्तर गर्ने, कमजोर पार्ने अरु विषयहरु उठाउनु भनेको अन्तत: भ्रष्टाचारलाई नै मद्दत पुर्‍याउनु हो।’ उनले मानव तस्करको विषय टुंगोमा पुर्‍याएर मात्रै सरकारले अर्को फाइल खोल्नु पर्नेमा जोड दिए।
यसैगरी नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबारे सदनमा जानकारी गराउन माग गरे। उनले हालसम्म अनुसन्धानमा के प्रगति भएको छ, त्यसको जानकारी संसदमा गराउन माग गरे। उनले सभामुख देवराज घिमिरेसमक्ष सरकारलाई रुलिङको माग नै गरेका थिए।

पछिल्लो पटक शीर्ष नेताहरु दैनिक भेट्दै आएका छन्। आइतबार चौथो पटक प्रधानमन्त्री प्रचण्ड, ओली र देउवा भेटेका थिए। कुनै समय एकअर्कालाई अनुहार समेत हेर्न नचाहने दलहरुका नेताहरु यो प्रकरण सार्वजनिक भएपछि पटकपटक भेट गरिरहेका छन्। उनीहरुले आफ्नो अडान छोडेर केही निर्णयहरु पनि गरेका छन्।

सर्वोच्चमा प्रधाननन्यायाधीश नियुक्ति, संसदीय समितिहरुको गठन, विचाराधीन विधेयकहरुलाई अगाडि बढाउने निर्णयहरु शीर्ष तहको बैठकबाट भएको छ। तर उनीहरुको भेटलाई लिएर नक्कली शरणार्थी प्रकरणमा आम आशंका भने धेरै भएको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरु कुनै न कुनै रुपमा शीर्ष तहमा जोडिएकाले उनीहरुमाथि आशंका उब्जिएको हो।

यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा रहेको छ। अब केही दिनमा प्रहरीले अनुसन्धान सकेर फाइल सरकारी वकिललाई बझाउने तयारी गरेको छ। त्यसपछि सरकारी वकिलको कार्यालयले मुद्दाको रुपमा अघि बढाउनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.