Advertisement

चिसो बढेसँगै बेंसी झरेका गोठाला, किसान ढोरपाटनमा उक्लिएपछि चहलपहल

0 18

Advertisement

२५ फागुन, काठमाडाैं । चिसो बढेसँगै बेंसी झरेका बोबाङका बासिन्दा गर्मीयाम सुरु भएसँगै ढोरपाटन उक्लिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँमा चिसो छल्न झरेका किसान गर्मीयामको सुरुआतसँगै ढोरपाटन क्षेत्रमा उक्लिएका हुन् ।

बर्खायामका लागि सबै बन्दोबस्तीका सामानसहित स्थानीय किसान ढोरपाटन उक्लिएको ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विकले जनाएका छन् । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका ठूला फाँटलाई पाटन भनिन्छ । त्यहीँ पाटन र बुकी किसानका गोठ राख्ने र आधा वर्ष कटाउने थलो हुन् । गर्मी महिनामा गाउँ छोडेर बुकी र पाटन गएका गोठाला सम्पत्ति लिएर हिउँदमा अधिकारी चौर बोबाङ, निसी, देवीस्थान, बुर्तिबाङ झर्ने गरेका छन् । चिसो छल्न र खेतबारीमा मल पु¥याउन बेंसी झरेका नफर्किंने बेलासम्म बुकी र पाटन सुनसान हुने गरेको ज्योति विकास आधारभूत विद्यालय ढोरपाटनका प्रधानध्यापक चकबहादुर अदैले बताए ।

ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्नेबाहेक कृषक र पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका थिए । गोठाला र किसान पाटन चढेपछि भरिभराउ भएको छ । हिउँदको बाली लगाउन गाई, भैँसी, भेडा लिएर तल झरेका किसान गर्मी चढेपछि फेरि बुकी जान्छन् ।

गाउँ, ढोरपाटन र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाले वर्ष गुजार्छन् । तल्लो क्षेत्रमा मकै, गहुँ, ढोरपाटन क्षेत्रमा आलु बाली लगाएपछि गोठाला चार महिनालाई खाना पुग्ने खर्च लिएर बुकी जान्छ । गर्मी मौससमा बस्तुभाउका लागि आवश्यक घाँस बुकीमा पाउने हुँदा पशुपालन क्षेत्रमा आबद्ध ढोरपाटन र निसीवासी घुम्ती बसाइमा निस्कने स्थानीय श्यामकुमार विकको भनाइ छ ।

हिउँदमा हिमपात र जाडो बढ्ने भएकाले जाडो छल्न बेंसी झरेको कृषक बताउँछन् । पुर्खाले सुरु गरेको चलनलाई नयाँ पुस्ताले पनि पछ्याएका छन् । वैदेशिक रोजगार र अध्ययन तथा रोजगारका लागि सदरमुकाम तथा जिल्ला बाहिर जाने युवाबाहेक गाउँमा बस्ने जवान पनि लेकबेंसी गर्छन् । अत्यधिक चिसो बढेपछि एक महिना बन्द भएका ढोरपाटन उपत्यकाका विद्यालय पनि पुनःसञ्चालन गरिएको छ ।

जाडो छल्न बेंसी झरेका बालबालिका गर्मी मौसमको सुरुआतसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो । गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् । चिसो बढेपछि ढोरपाटनको उपत्यकाको विकास आधारभूत विद्यालय, सल्लाथान प्रावि, ढोरपाटन दुर्गम प्रावि, बालज्योति प्रावि, सिद्दथान प्राविको पठनपाठन बन्द गरिएको थियो । विद्यालय बन्द भएपछि चिसो छल्न विद्यार्थी अधिकारी चौर, बोवाङ, बुर्तिवाङतिर झरेका थियो । फागुन महिला लागेपछि बालबालिका ढोर क्षेत्र फर्केको स्थानीय शिक्षक श्याम विकले जानकारी दिए ।

ढोरपाटन उपत्यका विद्यालयले असार साउन महिनामा हुने बर्खे बिदा गर्दैनन् । बर्खे बिदा नलिने विद्यालयले चिसो बढेपछि हिउँदे बिदा लिने ढोरपाटन नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक ज्ञानेन्द्र सापकोटाले जानकारी दिए । अर्धवार्षिक परीक्षा सकिएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालय बन्द गरिन्छ । हिउँदे बिदा लामो हुने हुँदा बर्खामा नियमित, दसैँमा एक हप्ता र तिहारमा पाँच दिनमात्रै विद्यालय बन्द गरिएको थियो । ढोर क्षेत्रकै जनवादी घुम्ती विद्यालयले बोवाङमा नियमित पठनपाठन गरेको छ । गर्मी मौसममा उपत्यका क्षेत्र र जाडो मौसममा बोवाङमा कक्षा सञ्चालन हुन्छ ।

जाडो छल्न हिउँदमा, भेडाच्याङ्ग्रा तथा गाईभैँसी लिएर बेंसी झरेका स्थानीय कृषक बस्तुभाउ लिएर आलु खेतीका लागि फेरि ढोरपाटन उपत्यका जान थालेका हुन् । गोठाला आलु लगाएर वैशाख अन्तिम सातादेखि छ महिनाका लागि बुकी जाने गर्छन् । बुकी क्षेत्र ढोरपाटन क्षेत्रका किसानको पशुपालनको उपयुक्त क्षेत्र हो । घुम्ती बसाइ गर्ने किसानले मौसमअनुसारको खेतीबाली ढोरपाटन उपत्यका र बोबाङमा लगाउने गर्छन् भने घाँसे मैदान पर्याप्त रहेको बुकी क्षेत्रमा पशुपालन गर्ने चलन रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.