Advertisement

युरोपेली संघकी आयुक्त उर्पिलाइनेन नेपाल आउँदै, महत्वपूर्ण विषयहरुमा सम्झौता हुने

0 43

Advertisement

२४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघकी आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने भएकी छन्। उनी एक दिने भ्रमणका लागि २६ माघमा काठमाडौं आइपुग्ने नेपालस्थित युरोपेली संघको दूतावासले जनाएको छ।

आयुक्त उर्पिलाइनेनले काठमाडौँमा शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने र केही महत्वपूर्ण विषयहरुमा सम्झौता गर्ने कार्यक्रम रहेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि युरोपबाट हुन लागेको यो पहिलो उच्चस्तरको भ्रमण हो।

केही दिनअघि अमेरिकी उप-विदेश मन्त्री काठमाडौं आएकी थिइन्। यसै साताभित्र अमेरिकी परियोजना युएसएआईडीकी प्रमुख तथा अमेरिकी सुरक्षा समितिकी सदस्य समन्था पावर पनि नेपाल आउने कार्यक्रम रहेको छ।

अमेरिकाबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण भइरहेको अवस्थामा युरोपेली संघबाट पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको हो।

आयुक्त उर्पिलाइनेनले आफ्नो भ्रमणको क्रममा डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान लगायतका कार्यक्रमहरु अघि बढाउने पनि जनाएकी छन्।

‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु। रुस-युक्रेन युद्धले नेपाल लगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ,’ आयुक्त उर्पिलाइनेनलाई उदृत गर्दै काठमाडौंस्थित ईयु दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु। आफ्ना साझेदारहरुसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न ईयु सकारात्मक छ।’

नेपालले सन् २०२६ मा अल्पविकसित देशको (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बेला आयुक्त उर्पिलाइनेनको भ्रमण महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ।

युरोपेली संघले नेपाललाई सन् २०२१ बाट मल्टिएनयुल इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ। यो सन् २०२७ सम्म कायम रहने छ।

नेपाल सरकारको अनुरोधमा ईयुले एमआईपीमार्फत कोभिड-१९ महामारीको कारण अर्थतन्त्रमा परेको प्रभाव पार गर्न नेपालको हरित, लचिलो र समावेशी विकास (ग्रिड) प्रयासमा योगदान गरिरहेको छ।

यस्तै, आसन्न भ्रमणमा आयुक्त उर्पिलाइनेनले ३ वटा क्षेत्रलाई प्राथमिकतामा राख्ने उक्त विज्ञप्तिमा उल्लेख छ। नेपालमा हरित अर्थतन्त्र, हरित रोजगारी र दिगो वृद्धि हासिल गर्न स्थानीय स्तरमा भएका प्रयासहरूलाई समर्थन गर्न समावेशी हरित वृद्धि गर्ने पहिलो प्राथमिकता रहेको छ।

यस्तै, क्षेत्रीय असमानता र मानव विकास सूचकांकहरूमा पर्याप्त ध्यान दिँदै, विशेष गरी शिक्षा र पोषणको क्षेत्रमा, जलवायु-उत्थानशील विकासका लागि सरकारी प्राथमिकताहरूसँग मेल खाने क्षेत्रहरूमा मानव पूँजी विकास गर्ने विषयमा छलफल हुने दोस्रो प्राथमिकता रहनेछ।

तेस्रो प्रथमिकतामा सुशासन रहेको छ। युरोपेली युनियन र उसका सदस्य राष्ट्रहरू नेपालमा सुशासन, द्वन्द्वबाट शान्तिमा, लोकतान्त्रिक संक्रमणमा यहाँका संस्था र नागरिक समाजका दीर्घकालीन समर्थकहरू हुन् भन्ने सन्देश आयुक्त उर्पिलाइनेनले दिनेछिन्।

एक दिने भ्रमणमा आयुक्त उर्पिलाइनेन परोपकार, प्रसूति तथा महिला अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नेछिन्। त्यस्तै, स्वास्थ्य मन्त्री पदम गिरीसँग बहुक्षेत्रीय पोषण कार्यक्रममा (ईयु, जर्मनी र युनिसेफको सहयोगमा) ईयुको प्रतिबद्धता नवीकरण गर्ने कार्यक्रम रहेको छ। यस कार्यक्रमले नेपालभर मातृ, किशोरी र बाल पोषण सुधार लाई निरन्तरता दिने दूतावासको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, आयुक्त उर्पिलाइनेनले नेपालको नयाँ शिक्षा क्षेत्र योजनाका लागि ५ करोड युरो सहयोग सम्झौता पनि गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमले बालबालिकाहरुलाई शिक्षामा पहुँच बढाउन र नेपालमा शिक्षाको गुणस्तर बढाउनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ। यो कार्यक्रम २० वर्षसम्म रहने बताइएको छ।

आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको पनि रहेको छ। यस्तै, उनले नागरिक समाज, विभिन्न संघ-संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.