Advertisement

सुदूरपश्चिमका शहरी क्षेत्रमा बढ्दै आगलागी: ३ महिनामा ३५ घटना हुँदा कैलालीमा ११, कञ्चनपुरमा १०

0 82

Advertisement

२८ कात्तिक, धनगढी । गत असोज १२ गते साँझ गौरीगंगा नगरपालिका- १, चौमाला बजारस्थित हिमाल मोबाइल ग्यालरीमा विद्युतको तार सर्ट हुँदा आगलागी भयो। गौरीगंगा नगरपालिकाको आफ्नै वरुण यन्त्र (दमकल) नहुँदा सोही पसलका नजिक जोडिएका अन्य पाँच पसलमा पनि आगो फैलियो।

७ बजेर २० मिनेटमा सुरु भएको आगलागी नियन्त्रणका लागि घोडाघोडी र गोदावरी नगरपालिकाको दमकल प्रयोग गरी झण्डै एक घण्टापछि नियन्त्रणमा लिइयो।

गत वैशाख ११ गतेको भीषण आगलागीबाट कैलारी गाउँपालिका– ७, विपतपुरका २७ घर आगलागीबाट पूर्ण रुपमा क्षति भए। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकलको प्रयोग गरी सो वस्तीमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो। सो वस्तीमा रहेका ७१ घरमध्ये २७ घर पूर्ण रुपमा जलेका थिए भने ३४ घरमा आंशिक क्षति पुगेको थियो।

गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाको आफ्नै वारुणयन्त्र नहुँदा एक घर तथा पसलबाट सुरु भएको आगलागीबाट अन्य घर पनि प्रभावित हुनु परेको हो। कैलारी गाउँपालिकाका २७ परिवार अहिलेसम्म घरबारविहीन छन् भने गौरीगंगामा व्यापार गरी बसेका व्यवसायीहरुले लाखौंको क्षति व्यहोर्नुपरेको छ।

गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले आफ्नै अग्नि नियन्त्रक नहुनु र अन्य पालिकाबाट ढिलो गरी वरुणयन्त्र पुग्दा ठूलो क्षति भएको बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीमा हालसम्म पाँच स्थानीय तहसँग मात्र आफ्नै वरुणयन्त्र रहेको छ। प्राधिकरणका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी र घोडाघोडी नगरपालिकासँग दुई/दुई तथा टीकापुर र लम्की चुहासँग एक/एक गरी आठ वटा वरुणयन्त्र छन्

पछिल्लो समय आगलागीका कारण कैलाली सहित सुदूरपश्चिम प्रदेशमा जनधनको क्षति हुने क्रम बढेको छ। चालु आर्थिक वर्षको तीन महिनामा प्रदेशभरि आगलागीका ३५ वटा घटना भएका छन्।

सुदूश्चिममा भएका आगलागीका घटनामध्ये कैलालीमा ११ र कञ्चनपुरमा १० आगलागीमा भएका छन्। आगलागीका घटनामा एक जना घाइते भएका छन् भने ४३ घरपरिवार प्रभावित भएका छन्। प्रदेशमा आगलागीबाटै एक करोड ४९ लाख ६७ हजार अनुमानित क्षति पुगेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्खेख छ।

आर्थिक वर्ष २०७८/७९ मा आगलागीका दुई सय ९ घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए। आगलागीबाट दुई सय आठ घरपरिवार प्रभावित हुँदा १० करोड २० लाख ७० हजार दुई सय रुपैयाँ अनुमानित क्षति पुगेको राष्ट्रिय आपत्तकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्लामा वर्षेनी आगलागीका घटना बढ्दैछन्। आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको कात्तिक पहिलो सातासम्म सुदूरपश्चिममका ९ जिल्लामध्ये तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आगलागीका अत्यधिक घटना भएका छन्।

आर्थिक वर्ष २०७६/७७ मा प्रदेशभरि आगलागीका ९९ घटना हुँदा कञ्चनपुरमा ४४ र कैलालीमा २७ वटा घटना भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेशभरि दुई सय २९ घटना हुँदा कैलालीमा ९९ सय र कञ्चनपुरमा ६८ वटा आगलागिका घटना भएका छन् भने आर्थिक वर्ष २०७८/७९ मा प्रदेशभरि दुई सय ९ आगलागीका घटना हुँदा कैलालीमा ८५ र कञ्चनपुरमा ५७ घटना भएको तथ्यांक रहेको छ।

किन बढ्दैछ आगलागी
कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पछिल्लो समयमा शहरी क्षेत्रमा विद्युत सर्ट नै आगलागीको प्रमुख कारण बन्दै गएको छ। ‘पसलहरु बन्द गर्नुभन्दा अगाडि विद्युतका बटन बन्द नगर्ने र विद्युतीय उपकरणहरुबाट शहरी क्षेत्रमा आगलागी भइरहेको पछिल्ला घटनाहरुले देखाउँछ,’ उनले भने।

उनले बजार क्षेत्रको आगलागीको मुख्य कारण भने विद्युतीय सट सर्किटसँगै ग्यास सिलिन्डर पड्कनु, ग्यास लिक हुनु र धूप बाल्ने चलन आदि रहेको बताए।

जिल्लाका अन्य क्षेत्रमा मौसम अनुसार आगलागीका घटनाका कारणमा फरक–फरक देखिने गरेको उनले बताए। सुख्खा तथा हावाहुरीको मौसम, बच्चाले सलाई, लाइटर जस्ता वस्तु खेलाउने, खेतमा आगो लगाउने क्रममा घर, बस्ती र जङ्गलमा आगो लाग्ने गरेको उनले बताए। जोशीले भने, ‘यसरी सानो गल्तीको कारण छोटो समयमा ठूलो धनजनको क्षति हुने गरेको छ।’

नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जोशीले आगलागीको जोखिम बढ्नु तथा क्षति धेरै हुनुमा धेरै कारण रहेको बताए। उनका अनुसार निरोधात्मक उपायको कमी, पूर्वतयारीमा लगानी अभाव, भएका दमकल पुरानो हुनु, सतर्कताको सूचना प्रसार गर्ने प्रभावकारी प्रबन्ध नमिलाइनु, बहुआयामिक अग्नि नियन्त्रण पद्धति अपनाउन ध्यान नदिनु जस्ता कारणले आगलागी भइहाले पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिएको छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.