Advertisement

राष्ट्र बैंकको हस्तक्षेपले एकल अंकमा झर्‍यो ट्रेजरी बिलको ब्याजदर

0 145

Advertisement

३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्ताक्षेप गरेपछि छोटो अवधिको सरकारी ऋणपत्र (ट्रेजरी बिल) को ब्याजदर एक अंकमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाले छोटो अवधिको सरकारी ऋण (ट्रेजरी बिल) मा मुद्दती निक्षेपको भन्दा उच्च ब्याजदर कबोल गर्न लागेपछि राष्ट्र बैंकले आफैंले धमाधम खरिद गर्दै गएको छ ।

पछिल्लो तीन सातामा राष्ट्र बैकले ३० अर्ब २० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेकोमा २८ अर्ब ५ करोड ५० लाखको ट्रेजरी बिल आफैंले खरिद गरेको हो ।

सोमबार राष्ट्र बैंकले क्रमशः २८ दिन, ९१ दिन र १८४ दिन अवधिको ५ अर्ब, २ अर्ब र ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो । कुल १३ अर्बको ट्रेजरी बिल बोलकबोलमा ल्याएकोमा बैंकहरुले ३० अर्ब २४ करोडको बोलकबोल पेश गरेका थिए ।

तर, राष्ट्र बैंकले १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ११ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल आफैंले खरिद गरेको छ ।

सोमबार राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल खुला गरेको थियो । जसमा १६ बैंक तथा वित्तीय संस्थाले ६१ बोलपत्रमार्फत ११ अर्ब ८२ करोड रुपैयाँ माग गरेका थिए ।

जसमध्ये सबैभन्दा न्यूनतम ब्याजदर ८.९९९४ प्रतिशत प्रस्ताव गर्नेलाई १ अर्बको ट्रेजरी बिल दिएर ४ अर्ब रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ । उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम, अधिकतम र औसत ब्याजदर ८.९९९४ प्रतिशत नै कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै ९१ दिन अवधि भएको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याउँदा २० वटा बैंक तथा वित्तीय संस्थाले ६२ बोलपत्रमार्फत ७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ लगानी गर्न बोलपत्र पेश गरेका थिए । जसमध्ये ७ करोड ५० लाख रुपैयाँको बैंकहरुलाई दिएर १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैल खरिद गरेको छ ।

उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम, अधिकतम र औसत ब्याजदर ९.५००४ प्रतिशत नै तय भएको छ । सोमबार नै १८२ दिनको ६ अर्ब बराबरको ट्रेजरी बिल नवीकरणमा ल्याएको थियो ।

जसमा १६ बैंक तथा वित्तीय संस्थाले ६२ बोलपत्रमार्फत १० अर्ब ९६ करोड ५० लाख रुपैयाँको बोलकबोल गरेको थिए । उक्त ट्रेजरी बिलमा २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिएर ५ अर्ब ७४ करोड राष्ट्र बैंक आफैंले खरिद गरेको छ ।

उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम ९.८ प्रतिशत, अधिकतम ९.९९९१ प्रतिशत र औसत व्याजदर ९.८९५३ प्रतिशत तय भएको छ ।

यसअघि २३ साउनमा ९१ दिन अवधिको ७ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दा ५९ करोड बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड राष्ट्र बैंकले नै खरिद गरेको थियो । जसको औसत ब्याजदर १०.४७७९ प्रतिशत तय भएको थियो ।

१६ साउनमा पनि राष्ट्र बैंकले ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोलमा लैजाँदा १२ करोड बैंकहरुलाई दिएर ४ अर्ब ९८ करोड राष्ट्र बैंक्ले नै खरिद गरेको थियो । जसको औसत ब्याजदर ११.६९४६ प्रतिशत तय भयो । सोही दिन १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदा ४ अर्ब ९० करोड राष्ट्र बैंकले नै खरिद गरेर १० करोड मात्रै बैंकहरुलाई दिएको छ ।

त्यस्तै ९ साउनमा बोलकबोल भएको ९१ दिन अवधिको ट्रजरी बिलमा १४ प्रतिशतसम्म ब्याजदर राष्ट्र बैंकले स्वीकार गरेपछि त्यसको आलोचना भएको थियो । त्यसपछि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेर ब्याजदर एकल अंकमा झरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.