Advertisement

पोखराको प्याराग्लाइडिङ विस्थापित हुने व्यवसायीको चिन्ता

0 211

Advertisement

३२ असार, पोखरा । निर्माणको काम लगभ पूरा भएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै डेढ अर्ब रुपैयाँ लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ। तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभइ व्यवस्थापन हुनुपर्छ भन्ने छ।

‘प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्राण्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन् त्यो अन्यत्रबाट हुँदैन। तसर्थ यहीँ कतै व्यवस्थापन गर्नुपर्छ,’ नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनिलबहादुर भट्टराई भन्छन्। सरकारले चाहेमा समय छुट्टाएर यही आकाशबाट उडाउन सक्ने र आफूहरुको पनि त्यही माग भएको भट्टराईको भनाइ छ।

‘हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्ने विषयमा जति उत्साहित भएका थियौँ, अहिले विमानस्थल निर्माणसँगै कतै आफ्नै व्यवसाय नै विस्थापित हुन्छ कि भन्ने चिन्ताले पिरोलिएका छौँ,’ भट्टराई भन्छन्।

जहाज उडानको समय तालिकालाई ध्यान दिएर प्याराग्लाइडिङको लागि दुई घण्टा समय तोकेरै भए पनि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

नाका पूर्वअध्यक्ष योगेश भट्टराई प्याराग्लाइडिङको व्यवस्थापनमा सरकारले विशेष चासो दिनुपर्ने बताउँछन्। ‘हामीलाई पूर्वाधार मात्र होइन पूर्वाधार निर्माण पछि आउने पर्यटक पनि चाहिएको हो जसले पोखरामा आनन्द लिन सकुन र उनीहरुको बसाई पनि लम्बियोस्,’ पुर्वअध्यक्ष भट्टराई भन्छन्।

पोखराको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनभित्र पर्ने र साहसिक पर्यटकको लागि उपयुक्त गन्तव्य भएको व्यवसायीको भनाइ छ। विश्वका कतिपय देशमा जहाज उडानसँगै ‘एयर स्पोट्र्स’ गतिविधि हुने गरेकाले आधुनिक प्रविधिको प्रयोग गरेर ती देशमा भएका अभ्यासको अध्ययन गरेर अनुशरण गर्न सकिने व्यवसायीको भनाइ छ।

प्राधिकरणले अहिलेसम्म यस विषयमा विशेष चासो राखेर व्यवसायीको आवाजलाई सम्बोधन गर्नेतर्फ नलाग्नु दुःखद् भएको उनको भनाइ छ। ‘अब कसरी जाने विकल्प के के हुन सक्छ ? विमानस्थलसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको सम्भावना अध्ययनको रिपोर्ट के छ भन्नेबारेमा पनि स्पष्ट धारणा आएको छैन, उडान सम्भव छैन मात्र भनिएको छ,’ भट्टराईले भने।

निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले पोखराको आकाशबाट उडान हुनुपर्ने र त्यसको प्राविधिक व्यवस्थापनसँगै दिगो पर्यटनका लागि प्राधिकरणले सोच्नुपर्ने बताउँछन्। ‘जहाजको ओभर सुट मिस एप्रोज हुँदा त्यसलाई ‘राइट टर्न’ नगरी ‘लेफ्ट टर्न’ गर्‍यो भने प्याराग्लाइडिङ पनि हुने र जहाज उडानमा थप सुरक्षा हुने भएकाले प्राधिकरणले यसलाई अवलम्बन गरेर सञ्चालन गर्नुपर्छ,’ भण्डारी भन्छन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखरामा भइरहेका साहसिक उडानका गतिविधि रोकिँदा पर्यटकको पोखरा बसाइ पनि घट्न सक्ने बताउँछन्। अहिले पोखरामा पर्यटकको बसाइ अवधि औसत २ दिन छ।

टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थी भन्छन्, ‘पोखरालाई विश्वमा चिनाउने पदमार्ग मोटरेबल बाटोले विस्थापित गरायो। अब प्याराग्लाइडिङ पनि विस्थापित हुने हो कि भन्ने शङ्का बढ्न थाल्यो।’

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो। पोखरामा प्याराग्लाइडिङ उडाउने पहिलो पाइलट राजेश बमजन हुन्। सन् २००० देखि व्यावसायिक रुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका थिए।

अहिले पोखराका ६० कम्पनीमा करिब डेढ अर्ब रुपैयाँको लगानी छ। करिब दुई हजारले रोजगारी पाएका व्यवसायीको दाबी छ। यो व्यवसायमा करिब ३७५ पाइलट छन्। ३ वटा प्याराग्लाइडिङ फ्लाइङ स्कुल, ४ वटा अल्ट्रालाइट कम्पनी र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.