Advertisement

आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा

0 180

Advertisement

२३ चैत, भोजपुर । भोजपुरमा एक परिवारले आफ्नै सन्तानलाई काठको खोरमा राखेका छन् । भोजपुरको साल्पासिछो गाउँपालिका–२ का ३३ वर्षीय डेगराज चौहानलाई विगत सात वर्षदेखि र ३७ वर्षीय डम्वर चौहानलाई दुई वर्षदेखि घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको हो । मानसिक सन्तुलन गुमेका उनीहरुको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको छ ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि दुबै छोरालाई खोरमा राख्नुपरेको बुबा छत्रबहादुर चौहानले बताउनुभयो । छोराको अवस्थाले आफूलाई विक्षिप्त बनाएको उहाँको भनाइ छ । छोरालाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकाले छोरालाई पेटभरि खुवाउनसमेत नसक्ने अवस्था छ ।” अभावको पिल्सिएका चौहान परिवार यतिबेला सहयोगको अपेक्षामा छन् ।

“आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोराहरुमा मानसिक रोग छ । उनीहरुलाई सम्हालेर राख्न नै समस्या छ । खोरमा राखेन भने अनेक उपद्रो गर्छन्”, उहाँले भन्नुभयो, “आफ्ना छोरा हुन्, माया त लाग्छ नि तर पनि पशु झैँ खोरमा राख्नु परेको अवस्था छ ।” उनीहरुलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ । छोराहरुलाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने बुबा छत्रबहादुरको भनाइ छ ।

उपचारका लागि थुप्रै अस्पताल डुलाएँ केही सीप लागेन”, उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था कमजोर छ । उपचारमै पैसा सकियो । अहिले छोरालाई फेर्ने कपडा समेत छैन । एउटै कपडामा महिनौ बिताउँछ ।” उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति पनि सकियो ।

अब उनीहरुलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको विकल्प नभएको बुबा चौहानको भनाइ छ । सरोकारवाला पक्षले उपचारका लागि सहयोग गरी दिन्छन् कि भन्ने आशा छ, उहाँले भन्नुभयो ।

काठमाडाँैमा रहेको पाटन अस्पतालमा उपचार गराएको भए पनि रकम अभाव भएपछि उनीहरुलाई घरमा ल्याएर राखेको बुबा चौहानले बताउनुभयो । उनीहरुलाई नियमित रुपमा औषधि खुवाउन नसकेका कारण झनै समस्या भएको उहाँको भनाइ छ ।

लामो समयदेखि मानसिक रोगले भेटेपछि परिवारमा पीडा थपिएको उहाँले बताउनुभयो । उनीहरुलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्ने, बरबराउनेलगायत क्रियाकलाप देखाउने गरेको बुबा चौहानले बताउनुभयो ।

परिवारमा भएका तीन भाइ छोरामध्ये जेठो र कान्छो छोरालाई मानसिक समस्या भएको उहाँले बताउनुभयो । माइलो छोरा भने छुट्टिएर गएकाले अहिले परिवारभन्दा बाहिर बस्दै आएको उहाँले बताउनुभयो । मानसिक समस्या भएका कारण व्यक्तिगत सरसफाइ लगायतका कुरामा अरूको सहायता आवश्यक पर्ने भए पनि राज्यले अपाङ्गता परिचयपत्रसमेत नदिएको बुबा चौहानको दुःखेसो छ ।

साल्पासिलिछो गाउँपालिका उपाध्यक्ष धनमाया राईले आर्थिक अभावमा उपचारबाट वञ्चित भएका चौहान दाजुभाइको पहिचान भएकाले अब चाँडै अपाङ्गता परिचयपत्र बनाएर सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुको अवस्थाका बारेमा हामीलाई जानकारी भएपछि आवश्यक सहयोगमा जुटेका छौँ । उनीहरुलाई राज्यबाट पाउने सुविधा दिलाउन प्रक्रिया अघि बढाएका छौँ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.