Advertisement

तीन पालिकामा अस्पताल भवन निर्माण सुरु

0 393

Advertisement

१६ माघ, म्याग्दी । म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुआत भएको छ । जग्गा व्यवस्थापन, प्राविधिक तयारी र ठेक्का प्रक्रिया पूरा गरेर मङ्गला गाउँपालिकाको अर्मन हाडेभिरमा १०, अन्नपूर्ण गाउँपालिकाको दोबा र धवलागिरि गाउँपालिकाको ताकममा पाँच–पाँच शय्या क्षमताको अस्पतालको भवन बनाउन थालिएको हो ।

रघुगङ्गा गाउँपालिकाको वडा नं १ बेगमा अस्पताल भवन बनाउने गाउँसभाको बहुमतका आधारमा निर्णय भएको एक वर्ष बिते पनि काम सुरु भएको छैन । मङ्गलाको ३५ कोठे दुईवटा भवन बनाउन रु नौ करोड ११ लाख आठ हजार ७२९ मा ठेक्का सम्झौता गरेको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्शनले जग्गा ब्यवस्थापनको काम सुरु गरेको छ ।

गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलका अनुसार विसं २०७८ असार ९ गते ठेक्का सम्झौता भएको थियो । आगामी २०८० असार ९ गतेभित्र दुईवटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अन्नपूर्णको भवन निर्माणका लागि रबिना–अमित जेभीले विसं २०७८ वैशाख १७ गते रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वरबहादुर भण्डारीले विसं २०७९ असोजमा दुईतले भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताउनुभयो ।

रु चार करोड ७९ लाख ४० हजार ३३४ मा धवलागिरिको ताकममा पाँच शय्या क्षमताको अस्पतालको १६ कोठे दुईतले भवन बनाउने ठेक्का लिएको बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले डिपिसी लेबलको ढलान सकेको छ । धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले २०७९ असार १५ गतेभित्र दुईतले १६ कोठे भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको सबै भवन अपाङ्मैत्री हुनेछन् । भवन निर्माण भएपछि ग्रामीण क्षेत्रमा सुविधासम्पन्न अस्पताल सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने जनप्रतिनिधिहरुले बताएका छन् ।

मालिकाको केन्द्र दरबाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने तयारी भएको छ । सदरमुकामस्थित बेनी नगरपालिकामा जिल्ला ५० शय्या क्षमताको बेनी अस्पताल छ । प्रदेश सरकारमातहतको सो अस्पतालको सङ्घीय सरकारले ५० शय्या क्षमताको भवन निर्माण सुरु गरेको चार वर्षसम्म पनि पूरा भएको छैन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.