Advertisement

गुरुकुल चलाउन धार्मिक महोत्सव

0 655

Advertisement

१३ पुस, बागलुङ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर बिहुँकोट धार्मिक महोत्सवको आयोजना गरिएको छ । आउँदो माघ १ देखि ७ गतेसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

महोत्सवको मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अनुसार विगतको सशत्र द्वन्द्वताका गुरुकुल पाठशाला बन्द हुने पुगेको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा उक्त गुरुकुल सञ्चालनमा आएको थियो । समाजकै परिकल्पना र सङ्कल्पमा धार्मिक महोत्सव आयोजना हुन लागेको संस्थाका अध्यक्ष देवीलाल सुवेदीले बताउनुभयो । महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ वटा विभाग गठन गरी कामको जिम्मेवारी दिइएको उहाँको भनाइ छ ।

महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ । महोत्सवमा स्थानीय संस्कृतिको झाँकी प्रर्दशनी, हेलिकप्टरबाट पुष्ट वृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्कीर्तन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम हुनेछन् ।

महोत्सवमा धौलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाइ छ । गुरुकुल पुनःसञ्चालनको पवित्र उद्देश्य राखेर महोत्सव गरिनु सुखद् रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो ।

संस्कृत पाठशालाले सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने उहाँको विश्वास छ । रामकोटधामका प्रधान संरक्षक एवं राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००० स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनको प्रवद्र्धन र संस्कृत पाठशाला सञ्चालानार्थ आयोजित महोत्सवमा सबैले सहयोगको हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले वैदिक सनातन धर्म, संस्कृति जोगाउन सबै कस्सिनुपर्ने बेला आएको बताउनुभयो । पछिल्लो समय धार्मिक गन्तव्यस्थलका रुपमा विकास भइरहेको रामकोटधामको प्रचारप्रसारमा पनि महात्सव सहयोगी बन्ने उहाँको भनाइ छ ।

धाम परिसरमा कलात्मक त्रिपुरेश्वर महादेव मन्दिर र गण्डकी प्रदेशकै ठूलो शिवलिङ्गसमेत छ । त्यस धाममा बर्सेनि ज्येष्ठ ११ मा रथयात्रासँगै महामेला गर्ने प्रचलन छ । यस्तै बालाचर्तुदशी, शिवरात्रिलगायतमा पर्वमा पनि धार्मिक अनुष्ठान चल्छन् । वैदिक विधिद्वारा दैनिक पूजाआजा हुने भएकाले रामकोटधाम श्रद्धालुको रोजाइमा छ । सदरमुकाम बागलुङ बजारदेखि २० किमी सडकयात्रामा त्यहाँ पुग्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.