Advertisement

डिजिटल मिडिया सम्झाउने टेलिभिजन विश्लेषण

0 14

Advertisement

०५ जेठ, काठमाडाैँ । फ्रान्सेली समाजशास्त्री पिअर बोर्दिउले टेलिभिजनको सम्बन्धमा गरेको विश्लेषण डिजिटल माध्यमको सञ्चारमाध्यममा झनै बढी सान्दर्भिक बनेको छ।

आम सञ्चारमाध्यमको विकासमा टेलिभिजन एउटा महत्त्वपूर्ण परिघटना थियो। पक्कै पनि त्योभन्दा निकै पहिला भएको छापाखानाको आविष्कारले यूरोपमा एउटा नयाँ युग नै शुरू गरेको थियो। 

छापाखानाले एकातिर मार्टिन लुथर किङ जस्ता अभियन्तालाई ‘प्रोटेस्टेन्ट’ सुधार शुरू गर्न मद्दत पुर्‍याएको थियो। आमजनताले बोल्ने भाषामा बाइबलको अनुवाद गरेर उनले क्रिश्चियन रूढिमाथि प्रश्न चिह्न त उठाए नै, एंगेल्सका विश्लेषणमा सामन्तवाद विरुद्ध उदीयमान पूँजीवादीहरूको संघर्षको थालनी पनि गरे। त्यसैले त म्याक्स वेबरले ‘प्रोटेस्टेन्ट’ सुधारलाई पूँजीवादको विकासका लागि आवश्यक पृष्ठभूमि बनेको श्रेय दिन्छन्।

अर्कातर्फ, बेनेडिक्ट एन्डरसनले व्याख्या गरे जस्तै छापाखानाले राष्ट्रवादको उदयमा पनि योगदान पुर्‍यायो। एन्डरसनको विश्लेषणमा छापाखानाले एकै उद्गममा विश्वास राख्ने र एकअर्कालाई उस्तै ठान्ने ‘काल्पनिक समुदाय’ को निर्माण गर्‍यो। त्यो नै राष्ट्रवादको जग थियो।

टेलिभिजनको विकास हुँदा मानव इतिहासमा धेरै परिवर्तन आइसकेको थियो। पूँजीवादको उच्चतम विकास भएर एउटा विश्वयुद्ध भइसकेको थियो। सन् १९३० को दशकमा परीक्षणका लागि केही कार्यक्रमहरू प्रसारण भए पनि दोस्रो विश्वयुद्धले यसको विकासको गति सुस्त बनाएको थियो। संसारभर प्रजातन्त्रको दोस्रो लहर चलिरहेको सन् १९५० को दशकमा भने पश्चिमा जगत्‌मा यो प्रभुत्वशाली सञ्चारमाध्यम बनिरहेको थियो। सन् १९४६ मा संयुक्त राज्य अमेरिकामा जम्मा आठ हजार घरमा टेलिभिजन सेट भएकोमा सन् १९६० मा त्यो संख्या चार करोड ५७ लाख पुगिसकेको थियो।

नेपालमा त्यही टेलिभिजन आउन भने प्रजातन्त्रको अर्को लहर पर्खिनुपर्‍यो। सन् १९९० को दशकमा प्रजातन्त्रसँगै टेलिभिजन फस्टाए पनि युद्धको चपेटामा परेको नेपालमा २१औं शताब्दीको शुरूआतकालीन दशकमा मात्रै यो प्रभावकारी माध्यम बन्यो। देशका सबैजसो शहरमा विद्युत् प्रसारण र केबल नेटवर्कको विस्तार भएसँगै टेलिभिजन नेपाली समाजको अंग बन्दै थियो।

त्यति नै वेला यो बहसको विषय पनि बनिरहेको थियो। भारतीय च्यानलमा देखाइने साप्ताहिक टेलिशृंखला ‘बदनाम’ भइरहेका थिए। अर्कातर्फ, तिनै टेलिशृंखलाले नेपाली मध्यमवर्गीय शहरियाको जीवन शैलीमा परिवर्तन ल्याइरहेका थिए।

टेलिभिजनको अर्को शक्ति थियो, ताजा समाचार। छापाखाना एक रात ढिलो बासी खबर बोकेर आउँथ्यो। रेडियो अलि छिटो थियो, तर दृश्यको अभाव खट्किरहन्थ्यो। सेटेलाइट प्रणाली विकास भएपछि टेलिभिजनले लाइभ प्रसारणहरू गर्न थाल्यो। अनि टेलिभिजन पत्रकारिता ‘अजेन्डा सेटिङ’मा मात्र सीमित भएन, संस्कृतिकै सर्जक पनि भयो। टेलिभिजनको उपभोग संस्कृतिकै अंग बन्यो। आमसञ्चारका ज्ञाता मार्शल म्याकलुहानको शब्दमा यसले केवल सन्देश प्रवाह गरेन, आफै सन्देश बन्यो।

डिजिटल प्रविधिको विकास भएसँगै र इन्टरनेटमा सहज पहुँच बढ्दै गएपछि शहरिया मध्यम वर्ग अचेल टेलिभिजनमा त्यति आकर्षित देखिंदैन। तर टेलिभिजनले शुरू गरेको श्रव्य-दृश्यको माध्यम झनै सशक्त बनिरहेको छ। यूट्यूब र ओटीटी प्लेटफर्मले अब टेलिभिजनको दृश्य माध्यमलाई हात हातमा पुर्‍याइदिएको छ।

टेलिभिजनको सीमा थियो। नेपाली दर्शकले नेपालभित्र त्यो पनि निश्चित केबलको माध्यमबाट मात्र हेर्न सक्ने कार्यक्रम अब यूट्यूबको माध्यमबाट संसारको कुनै पनि कुनाबाट हेर्न सकिने भयो। फिल्म अब सिनेमा घरमा सीमित भएन। भीसीआर, डीभीडी हुँदै अब यूट्यूब वा ओटीटीमा आयो। नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटीटीमा आउन थालेपछि टेलिशृंखलाहरू बदनाम पनि हुनु परेन। दृश्य माध्यम यति शक्तिशाली भइसकेको छ, अब विशुद्ध समाचार सामग्रीमा अभिन्न पाटो भइसकेको छ।

दृश्य माध्यम सहज र प्रभावकारी भइरहेको यो समयमा सम्झिनुपर्ने एक नाम हो, पिअर बोर्दिउ। सन् १९३० मा फ्रान्समा जन्मिएका समाजशास्त्री पियर बोर्दिउ समाजका विभिन्न तहमा शक्तिको अति सूक्ष्म तर विविधतापूर्ण वितरण हुन्छ भन्ने मान्यता राख्थे। सामाजिक सोपान निर्माणमा संस्कृतिको भूमिकामा उनले बढी ध्यान दिएका थिए। ‘सांस्कृतिक पूँजी’ (कल्चरल क्यापिटल)का व्याख्याता बोर्दिउले गरेको एउटा महत्त्वपूर्ण विश्लेषण थियो, टेलिभिजनको भूमिका। टेलिभिजनको सांस्कृतिक-राजनीतिक शक्तिबारे उनको पुस्तक हो, सन् १९९६ मा प्रकाशित अन टेलिभिजन।

सामान्यतः पत्रकारितालाई राजनीतिको सन्देशवाहकका रूपमा लिइन्छ। तर बोर्दिउ पत्रकारितालाई नै राजनीतिक कर्मका रूपमा व्याख्या गर्छन्। त्यसले पार्ने सामाजिक-सांस्कृतिक प्रभावबारे घोत्लिन्छन्। त्यसैले उनका लागि पत्रकारिताले सत्यको प्रसार गर्नेभन्दा पनि सत्य निर्माण गर्छ।

यूट्यूब जस्ता डिजिटल प्लेटफर्ममा अहिले हावी भइरहेको पोडकास्ट अभ्यास मूलतः टेलिभिजनको ‘टक शो’कै धेरै हदसम्म निरन्तरता वा रूपान्तरित रूप हुन्। टेलिभिजनमा जस्तो समयको सीमा नहुने र जुनसुकै समयमा पनि हेर्न सकिने यी वार्तालाप कार्यक्रम अहिले लोकप्रिय भइरहेका छन्। बोर्दिउको ठम्याइमा यी ‘टक शो’ कार्यक्रम प्रस्तोताको राजनीतिक अभियानका अंग हुन्। अतिथिको छनोटबाट यस्तो राजनीतिक अभ्यास गरिने उनको ठम्याइ छ। 

उनी लेख्छन्– ‘कार्यक्रम प्रस्तोताले रोजेका उपयुक्त अतिथि खासमा बहसका भागीदार नभई, कुनै खेलका पात्र हुन्। यी प्यानलिस्टहरू बहसका निम्ति सदैव तैयार रहन्छन् र पत्रकारले सोधेको जतिसुकै मूर्खतापूर्ण प्रश्नको पनि उत्तर दिन्छन्।

बोर्दिउको बुझाइमा जस्तोसुकै बहसमा जुनसुकै प्रश्नको उत्तर दिने वक्ताले टेलिभिजन सेलिब्रेटी भई लोकप्रियता बढाउँछन्। आर्थिक-सांस्कृतिक पूँजी आर्जनका लागि त्यो लोकप्रियता उपयोग गर्छन्। राज्य शक्ति सञ्चालनका लागि कर्मचारीको आवश्यकता पर्ने विश्लेषण थियो बोर्दिउको। उनी भने टेलिभिजन वा आमसञ्चारको शक्ति निरन्तरताका निम्ति प्यानलिस्ट आवश्यक पर्ने तर्क गर्छन्।

उनीहरूकै लोकप्रियताको आडमा मिडियाले आफूले ठानेको सत्य स्थापित हुन्छ। समाजमा स्थापित भाष्यले मूलधारको राजनीतिमा प्रभाव पार्ने हुँदा पत्रकार राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने अदृश्य खेलाडी हुन् भन्ने बोर्दिउको विश्लेषण छ। थप, उनीहरूले स्थापना गरेको सामाजिक भाष्यले उनीहरूमाथि कृपा गर्ने कुनै राजनीतिक दल वा दलको नेतालाई प्रत्यक्ष नभई लाक्षणिक लाभ मिल्ने हुँदा उक्त महत्त्वाकांक्षी पत्रकारको पूँजी सञ्चयमा पनि टेवा पुग्छ। यस्तो पूँजीलाई उनी ‘सिम्बोलिक क्यापिटल’ (सांकेतिक पूँजी) भन्छन्।

उनको प्रश्न छ- ‘पत्रकारकै उपकरण, समय र स्थानमा बसेर बोल्नेले कसरी तर्कसंगत उत्तर दिन सक्लान्?’ कार्यक्रम प्रस्तोताले सोध्नासाथ जवाफ दिनेहरूलाई उनले ‘ऐश्वरीय क्षमता’ भनी व्यंग्य गरेका छन्। टेलिभिजनले प्रतीकात्मक हिंसा गर्ने उनको ठम्याइ छ। तर यो हिंसा गर्ने र भोग्ने दुवै अन्जान हुन्छन् भन्छन् उनी। 

‘यूट्यूब पत्रकारिता’ नेपालमा अर्को बदनाम अभ्यास हो। कुनै पनि घटना हुनासाथ क्यामेरा बोकेर कुदिहाल्ने यूट्यूबरलाई नयाँ समस्याका रूपमा बुझ्ने पनि गरिन्छ। तर बोर्दिउको पुस्तकबाट थाहा लाग्छ, दृश्य माध्यमको पुरानै रोग हो यो। 

‘सेन्सेशनल’ र ‘ब्रेकिङ’को अभ्यास टेलिभिजनबाट शुरू भएको हो। जसको आडमा जस्तोसुकै घटनाको महत्त्व र गाम्भीर्य एकाएक बढाउने गरिएको विश्लेषण छ उनको। साधारणभन्दा फरक भावभंगीमा घटनालाई प्रस्तुत गरेर सेन्सेशनल बनाइन्छ जसले दर्शकलाई आकर्षण र भय सिर्जना गर्छ। 

ब्रेकिङले भने सबैखाले पत्रकारलाई एउटै मियो वरिपरि दौडमा सीमित गरिदिएको उनको विश्लेषण छ। जतिसुकै संख्यामा भए पनि सबै सञ्चारमाध्यम ‘ब्रेकिङ’को चक्रमा घुमिरहँदा समाज पनि त्यसैको शिकार बन्ने उनले व्याख्या गरेका छन्। ‘ब्रेकिङ’का कारण पत्रकारलाई आफू पछि परिन्छ कि भन्ने भयले सधैं सताइरहने भएकाले समाचार ‘ब्रेक’ गर्ने होडमा जे पनि गर्न तयार हुने उनको ठम्याइ छ। परिणाम, सबै सञ्चारमाध्यमको खोजीमा केवल एउटै थोक हुन्छ, बिक्ने सामग्री।

सामग्री बिकाउने प्रतिस्पर्धाले संख्यामा जतिसुकै धेरै भए पनि विषयवस्तुमा सबै सञ्चारमाध्यम एउटै बन्ने उनको विश्लेषण छ। त्यसैले आम सञ्चारमाध्यमका उपभोक्ता ठूलो मात्रामा पत्रकार नै हुन्छन्। अरूले के लेखिरहेछन् वा के प्रसारण गरिरहेछन् र के बिकिरहेछ भन्ने थाहा पाउन अरूले लेखेको समाचारको उपभोग गर्नुपर्ने प्रवृत्तिले सार्वजनिक विषयबारेको बहसमा विविधता थप्न नसकेको बोर्दिउले विश्लेषण गरेका छन्।

एक पटक प्रसारण गरेको सामग्री बिक्न थालेपछि उस्तै सामग्री उत्पादनको शृंखला शुरू हुन्छ। त्यहाँ प्रस्तोताको लुप्त राजनीतिक अजेन्डा पनि घुस्छ। यसरी बिकाउ मालले कसैको वैयक्तिक राजनीतिक अजेन्डा बोक्ने जनमत तयार पार्छ। अनि हुन्छ, शक्तिको दुरूपयोग। बोर्दिउले भनेको सांकेतिक हिंसा त्यही हो।

बोर्दिउले टेलिभिजनको सम्बन्धमा व्याख्या गरेको ‘ब्रेकिङ’को चक्र अनलाइन पत्रकारितामा त झनै ठूलो रोग बनिसकेको छ। यो रोग अब दृश्य माध्यमको मात्रै समस्या रहेन। बोर्दिउले आफ्‍नो समयको समाजमा प्रतीकात्मक हिंसाको स्वरूप टेलिभिजनमा पाए। आज त्यसको माध्यम डिजिटल प्रविधि बनिरहेका छन्।

हिमाल खबर बाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.