Advertisement

विश्व शौचालय दिवसका अवसरमा सफाईकर्मीको सम्मान, ‘शौचालयको महत्व अमूल्य’ भन्ने नाराका साथ विश्व शौचालय दिवस मनाइदै

0 433

Advertisement

०३ मंसीर, काठमाडौं । विश्व शौचालय दिवसका अवसरमा सफाईकर्मीको सम्मान, ‘शौचालयको महत्व अमूल्य’ भन्ने नाराका साथ विश्व शौचालय दिवस मनाइदै

काठमाडौंं, ३ मंसिर । आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउदै आएको छ ।
विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।

विश्व शौचालय दिवसको अवसरमा खानेपानी मन्त्रालय र स्मार्ट वास सोलुसन्स प्रा.लि.को आयोजना तथा युनिसेफ नेपाल,वाटर एड नेपाल,पोखरा वास इन्ड्रस्ट्रिज प्रा.लि.र इन्टरनेशनल वाटर म्यानेजमेण्ट इन्स्टिच्यूटको सहयोगमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सरसफाईकर्मीहरुको सम्मान गरिएको छ ।

कार्यक्रममा सफाईकर्मी जयराम लामा, सना नेवार, राजेश देउला, गोपाल महर्जन, जयराम विक, र यज्ञ सुवेदीलाई खानेपानी मन्त्रालयकी सहसचिव मीना श्रेष्ठले खादा र नगद पुरस्कारसहित कदरपत्र दिएर सम्मानित गर्नुभएको थियो ।

विश्व शौचालय दिवसको अवसरमा आयोजना गरिएको सो कार्यशालामा सफाईकर्मीको पेशागत स्वास्थ्य सुरक्षा र प्रतिष्ठाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै वाटर एड नेपालका वरिष्ठ नीति तथा पैरवी  अधिकारी गोविन्द श्रेष्ठले दिशाजन्य फोहरको व्यवस्थापन र सार्वजनिक शौचालयको सफाईमा सफाईकर्मीको भूमिकाको महत्व दर्शाउनुभएको थियो ।

उहाँले कोभिड १९ सुरुभएपछिको एक घटना सुनाउदै भन्नुभयो, “जतिवेला हामीहरु घरबाट काम गरेर कोठामा बसेर जीवन सुरक्षित गरिरहेका थियौ,कोठाको झ्याल खोलेर हेर्दा छिमेकमा सफाईकर्मीहरु ढल खोलिरहनुभएको रहेछ । हरेक मानिस घरभित्रै माक्स लगाएर बसेको त्यस्तो बेलामा पनि आफ्नो स्वास्थ्य जोखिममा पारेर नगर सफाईमा लाग्नुहुने जनशक्ति बास्तवमै सम्मानका हकदार हुनुहुन्छ । सबै सफाईकर्मीको कदर गर्दै केही प्रतिनिधिलाई मात्र सम्मान गरिएको हो ।”

बहस सार्वजनिक शौचालयको

नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकोले निजी शौचालयको महत्व र सरसफाईको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको छ । अहिले यस क्षेत्रमा कार्यरत संस्थाहरुले सार्वजनिक स्थलमा पर्याप्त शौचालय बनाउने र तिनको सरसफाई राख्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।

खानेपानी मन्त्रालय र स्मार्ट वासले आयोजना गरेको कार्यशालामा यूनिसेफका खानेपानी सरसरसफाई र स्वास्थ्य विज्ञ सिद्धि श्रेष्ठले खुला दिसामुक्त घोषणाको टिकाउ, इको कन्सर्न प्रा.लि.का इञ्जिनियर कृष्णराम याड.दोले ढल प्रशोधन केन्द्रको सञ्चालन, पोखरा वास इन्ड्रस्ट्रिजका संस्थापक सुनिल कार्कीले शौचालय ः हाम्रो मूल्य भन्ने विषयमा, गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सार्वजनिक शौचालयको अवस्था सञ्चालन,मर्मतसंभार र पहुँचको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवि शाक्य बज्राचार्यको सभापतित्वमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै नेपालीलाई संविधानले मौलिक हकमा ब्यवस्था गरेको स्वच्छ खानेपानी र सरसफाईको हक उपलब्ध गराउनुका साथै स्वच्छ नेपाल बनाउने अभियानलाई सफल बनाउन निरन्तर कार्यक्रमको खाँचो देखिएको बताउनुभयो ।

उहाँले सरसफाई र शौचालयको व्यवस्था मानव सभ्यताको सूचक भएकोले यसलाई विश्वस्तरमा कायम गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै स्मार्ट वासका अध्यक्ष ई. रामदीप शाहले सार्वजनिक शौचालयको व्यवस्थापन र शौचालयमा जम्मा भएको लेदोको व्यवस्थापन तथा शहरी क्षेत्रमा ढल प्रशोधन केन्द्रको  स्थापना र सञ्चालन अहिले चुनौतीको रुपमा देखिएकोले तीनै तहका सरकारले त्यसतर्फ विचार पुर्याउनु पर्ने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रमलाई विल एण्ड मिलिण्दा गेट्स फाउण्डेशनका उपनिर्देशक रोशनराज श्रेष्ठ, सोफेनका अध्यक्ष अनिलभद्र खनाल,काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल,खानेपानी मन्त्रालयकी सहसचिव मीना श्रेष्ठ र स्मार्ट वासका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

विश्वमा शौचालयको अवस्था

विश्वको जनसंख्याको ठूलो हिस्सा झण्डै ३.६ अर्ब मानिसहरु सुरक्षित शौचालयको सुविधाबाट बञ्चित छन् । जब समुदायका केही मानिसहरुले सुरक्षित शौचालयको सुविधा पाउदैनन, उनीहरुले खुला स्थानमा दिसा पिशाब गरिदिन्छन र त्यसले सबैको स्वास्थ्यलाई जोखिममा पार्दछ । खुला दिसा पिशाबले खानेपानीको स्थानीय स्रोत,नदी र खाद्य बालीमा असर गर्दछ । त्यसले ठूलो जनसंख्याको स्वास्थ्यलाई जोखिमतिर पुर्याउछ ।

यस बर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा शौचालयको महत्व(Valuing Toilets) राखेको छ । राष्ट्र संघले यो विषयलाई किन महत्व दिएको छ भने विश्वका धेरै देशहरुमा शौचालय निर्माण र सरसफाईको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरिदैन, यसलाई न्यूनाकलन गरिन्छ । यसले स्वास्थ्य र आर्थिक तथा वातावरणीय पक्षमा भयानक परिणाम निम्त्याउने खतरा हुन्छ,विशेष गरी विपन्न र सीमान्तकृत समुदायमा ।
अर्कोतर्फ स्वास्थ्य र सरसफाईको क्षेत्रमा गरिएको १ डलरको लगानीले ५ डलरसम्म प्रतिफल दिन्छ भनिन्छ । यसले औषधोपचार खर्चमा बचत गर्नुका साथै व्यक्तिको उत्पादकत्व बढाउदै सेवा श्रृखलामा अनगिन्ती रोजगारी पनि सिर्जना गर्दछ । अझ महिला र बालिकाको लागि घर,विद्यालय र कार्यस्थलमा शौचालय हुँदा तिनीहरुले आफ्नो सम्पूर्ण सामाथ्र्य काममा लगाउन पाउछन र समाजमा पूर्ण भूमिका निर्वाह गर्न सक्दछन् । महिनावारी र गर्भवती हुँदा शौचालयको अभावमा उनीहरुले ठूलो सकस ब्यहोर्नुपर्दछ ।

शौचालय दिवसको सुरुआत

संयुक्त राष्ट्र संघले सन २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवस मनाउन थालेको हो राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यस यता  राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ  । त्यस अगाडि सिंगापुरमा अवस्थित विश्व शौचालय संस्था(वल्र्ड ट्वाईलेट  अर्गनाइजेशन) नाम एक गैरसरकारी संस्थाले सन २००१ देखि अनौपचारिक रुपमा विश्व शौचालय दिवस मनाउन थालेको थियो ।

संयुक्त राष्ट्र संघका विभिन्न प्रकाशनमा जनाइए अनुसार अझै पनि ६७ करोड ३० लाख मानिसहरु खुला दिसापिशाब गर्दछन् । राष्ट्र संघको अगुवाईमा सुरु भएको दिगो विकास लक्ष्यको लक्ष्य नं ६ले सबैलाई दीगो र पर्याप्त पानी तथा सरसफाईको  सुविधा उपलब्ध हुने सुनिश्चित गर्ने उद्देश्य राखेको छ । यसको लक्ष्य नं ६.२ मा खुला दिसा पिशाब रोक्ने र स्वास्थ्य तथा सरसफाईमा पहुँच पुर्याउने कुरा उल्लेख छ । सन २०२० को दीगो विकास लक्ष्यका प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा राष्ट्र संघका महासचिव अन्टरियो गुटेरसले दीगो विकास लक्ष्यको लक्ष्य नं ६ नराम्रोसंग विचलित भएको टिप्पणी गर्नुभएको थियो ।

खुला स्थानमा दिसा तथा पिशाब गर्नाले यसले खानेपानीका स्रोत,मुहान,खोला,नाला,नदी प्रदूषित गराउने र त्यसबाट हैजा,टाइफाइड,झाडा पखाला जस्ता रोग फैलिन गई आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकोले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिइएको हो ।

नेपाल खुला दिसामुक्त

नेपाल तीन बर्ष पहिले  १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेको घोषणा भएको छ । यो दिन ल्याउनका लागि स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारीहरु, सामाजिक अभियन्ता र स्थानीय तथा राष्ट्रिय स्तरका राजनीतिक नेतृत्वको डेढ दशकभन्दा बढीको अथक परिश्रम परेको छ ।

नेपाललाई खुला दिसामुक्त पार्ने अवधारणाको विकास सन २००३ को समुदायिक नेतृत्वको समग्र सरसफाई कार्यक्रममार्फत सुरु भयो र विद्यालय नेतृत्वको समग्र सरसफाई कार्यक्रम २००५ मा यसले मूर्त रुप लियो । सन २००५ देखि नै विद्यालय क्षेत्रलाई खुला दिसामुक्त राख्ने र गाउँ विकास समितिलाई खुला दिसामुक्त पार्ने अभियान सुरु भयो । मानव सभ्यता, शिष्टता र सरसफाई तथा स्वास्थ्यसंग जोडिएको यो अभियानले अन्तर्राष्ट्रिय सरसफाई बर्ष २००८ मा झन तीव्रता पायो । सामाजिक अभियानको रुपमा सरसफाई चेतना जागेको बेला २०११ मा ल्याइएको स्वास्थ्य र सरसफाई गुरुयोजनाले सन २०१७ सम्म नेपाललाई खुला दिसामुक्त पार्ने लक्ष्यसहितको मार्ग निर्देशिका दियो । त्यसपछि स्थानीय सरकारको नेतृत्वमा खुला दिसामुक्त अभियानलाई विस्तारित गर्दै लगियो । २०७२ मा आएको विनासकारी भूकम्पले दुई बर्ष विलम्बित हुन गएपनि नेपाल २०७६ मा खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । यो स्वास्थ्य,सरसफाई र मानव सभ्यताको हिसाबले पनि महत्वपूर्ण उपलब्धि हो ।

अबको बाटो

घरमा शौचालय हुनु र खुलास्थानमा दिशा पिशाब नगर्दैमा सरसफाईको लक्ष्य हासिल हुँदैन । ढल प्रणालीमा नजोडिएका शौचालयमा जम्मा भएका दिशा र खोला नालामा निसृत गरिएका ढल हाम्रालागि ठूलो चुनौतिका विषय भएका छन् ।

देशभरका ७ सय ५३ पालिकाहरुमा ढल प्रशोधन र व्यवस्थापनको ठूलो चुनौती देखिएको छ । ढल प्रशोधन प्रणाली विकास र व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने खाँचो देखिएको छ । यसका लागि तीनै तहका सरकार, दातृ राष्ट्र तथा निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था र समुदायको साझेदारी,सहयोग र सहकार्य जरुरी देखिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.