Advertisement

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

0 1,200

Advertisement

२३ कात्तिक, बैतडी । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ ।

कार्तिक शुक्ल पक्षमै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मेलौली भगवती, सुर्नयास्थित भवानी, शिवनाथ, महारुद्र, पुर्चौडीस्थित त्रिवेणीधाम (राताशीला) र दोगडाकेदारमा रहेको भिटाकेदार मन्दिरमा जात्रा लाग्ने गर्दछ ।

राष्ट्रकै सातौँ धामका रूपमा रहेको दार्चुलास्थित मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा र डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा पनि कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
यसैगरी बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन, भिटाकेदार मन्दिरमा नवमीका दिन र मेलौली भगवती, भवानी, उग्रतारालगायत मन्दिरमा पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।

यसैगरी मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडस्थित विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको हो ।

यो समयमा लाग्ने जात्रामा टाढा–टाढाका श्रद्धालुसमेत आउने गरेको स्थानीयवासी गङ्गासागर जोशीले बताउनुभयो । भाइटीकाका दिनदेखि सुरु भई करिब १५ दिनसम्म विभिन्न ठाउँका मन्दिरमा लाग्ने भएकाले जात्राको ऐतिहासिक एवं धार्मिक महत्व बढ्नाका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ ।

देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरमा पूजाआजा हुनाका साथै कार्तिक शुक्ल पक्षमा पनि धेरै जात्रा तथा मेला हुने गरेको छ । स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिनुभयो । जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्रि जात्रा सुरु भएसँगै चहलपहल पनि बढेको छ ।

यहाँका जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा सहभागी हुनका लागि बसाइँसराइ गरेर गएकासमेत गाउँमा फर्किएकाले यहाँको चहलपहल बढेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जात्रामा दर्शनका लागि टाढा रहेका पनि आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गर्दछ, गाउँबाट बसाइँ सरेका पनि गाउँ फर्कने भएकाले निकै चहलपहल बढेको छ ।” कार्तिक शुक्ल पक्षमा मन्दिर तथा शक्तिपीठमा लाग्ने जात्रालाई सामाजिक सम्बन्धको पर्वका रूपमा समेत लिइने गरिन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.