Advertisement

पर्यटक लोभ्याउँदै बुङ र अक्टोपस झरना

0 473

Advertisement

०१ कात्तिक , लमजुङ । बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । विश्वका कतिपय मुलुकमा चर्चित चक्रीय अन्नपूर्ण पदमार्गस्थित लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा यो झरना हेर्न केही दिनदेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको थालेको हो । कोरोना सङ्क्रमणका कारण लामो समय सुनसानजस्तै रहेकामा अहिले यहाँ सङ्क्रमणको असर कम हुँदै गएकाले झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटक गरी १५० जनासम्म आउन थालेका छन् ।

केही दिनअघिसम्म मुस्किलले दुई चार पर्यटक आउने गरेकामा पनि यतिबेला भने पर्यटक बढ्न थालेसँगै यहाँको चहलपहल बढ्न थालेको छ । यो झरना रमणीय एवं सुन्दर देखिने भएकाले पदमार्गमा आउने पर्यटक आकर्षित हुने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, सदाबहार छङछङ झरिरहने झरनाले पर्यटक आकर्षित गरिरहेकाले विगतमा यस झरनामा दैनिक करिब चार सयसम्म पर्यटकले अवलोकन गर्दै आएका थिए । अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारीसाधनबाट जाने पर्यटक एकपटक बुङ छहरामा नहेरी जानै चाहाँदैनन् । तारे भिरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि बनाएर तस्वीर लिने र सेल्फी खिच्नेको भिड लाग्छ ।

स्थानीयवासी आइतबहादुर गुरुङले भन्नुभयो, छहरा हेर्न रोकिने पर्यटकका कारण होटल व्यवसायसमेत फष्टाएको छ । केही दिनअघिदेखि १०० भन्दाबढी पर्यटकले आवतजावत गर्न थालेको र तिनले झरना हेर्न रोकिने गरेकाले यहाँको आम्दानीसमेत बढ्न थालेको उहाँको भनाइ थियो ।

झरनाको वारी च्याम्चेमा होटल छन् । यहाँ लोकल कुखुरासँगै खाना, चिया कफीजस्ता पेय पदार्थ बेच्न व्यवसायीलाई फुर्सदै हुँदैन । सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटरको दूरीमा पर्ने यो छहरा वर्षात्का बेला निकै ठूलो देखिने भएकाले झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौँसम्म भुल्ने गरेको स्थानीयवासीको भनाइ थियो । यतिबेला पर्यटक आगमनको याम भएको र कोरोना सङ्क्रमणको जोखिम पनि कम भएकाले दैनिक ठूलो सङ्ख्यामा पर्यटक ओहोर दोहोर गर्ने गर्छन् । भिरको बाटोमा मन सिरिङ्ग बनाउँदै हिँडेका पर्यटकले आँखै अगाडि ठोकिने झरना देख्दा सबै दुःख र थकान बिर्सने गरेको अनुमान भएको उनीहरूको भनाइ थियो ।

त्यस्तै सोही पदमार्गको च्याम्चेकै अर्को अक्टोपस झरनाले पनि पर्यटकलाई थप आकर्षित गराउँदै आएको छ । यो झरना बेँसीशहरस्थित चामे सडकको बीच भागमै झर्ने भएकाले पैदल तथा मोटरसाइकलमा जाने यात्रुलाई त रुझाउँछ नै । यो झरनाको तस्वीर खिचेर सामाजिक सञ्जालमा नहाल्ने सायद कमै होलान् । अत्यन्त मनमोहक यो झरना अक्टोपसको खुट्टा झैँ देखिन्छ । यहाँ आइपुगेर झरना हेर्दा स्वर्गको अनुभूति भएको पर्यटक युनिका पोख्रेलले बताउनुभयो ।

यस्तो झरना देख्दा नहेरी कहाँ मन मान्छ र, यति मात्र होइन, झरनासँगै सेल्फी त खिच्न छुटाउनै भएन । झरनामा पुग्दा आफूले आफँैलाई बिर्सेर स्वर्गमा पुगेको अनुभूति भएको उहाँको भनाइ थियो । उहाँजस्तै यहाँ आउने जो कोहीले पनि अवलोकन पछि स्वर्ग नै पुगेको अनुभूति भएको बताउने गर्दछन् ।

मनमोहक यस्ता झरनाको थप प्रचारप्रसारका साथै स्थानीय क्षेत्रलाई थप व्यवस्थित गर्नसके अझै थुपै्र पर्यटक आगमनले यहाँको व्यवसाय फस्टाउने पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो । गाउँपालिकामा यी झरनासँगै अन्य झरना पनि राम्रो रहेकाले पर्यटन प्रवद्र्धन गर्नका लागि यी झरनाको गुरुयोजना बनाएर अघि बढ्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले झन आकर्षित गराउँछ ।”

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.