Advertisement

लुम्बिनीका पहाडी जिल्लामा सेतो पुतलीबाट हुने सापू रोगको जोखिम बढ्दो

0 1,606

Advertisement

०२ असाेज, रूपन्देही । समयमै उपचार नपाए आँखाको ज्योति गुम्ने खतरा: लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने भएपछि रूपन्देहीको भैरहवास्थित लुम्बिनी आँखा अस्पताल, दाङ्गको राप्ती आँखा अस्पताल, कपिलवस्तुको छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल र बाँकेस्थित फत्तेमान आँखा अस्पतालमामा यसको उपचारका लागि पठाउन थालिएको छ । यहाँका आँखा अस्पतालहरूमा उपचारका लागि पहाडी जिल्लाबाट सापू रोग लागेका बिरामी आउने क्रम बढ्न थालेको छ ।

बुटवलस्थित लायन्स आँखा अस्पतालका डा. उपेन्द्रदेव भारीका अनुसार यो रोग लागेका बिरामीका लागि तुरुन्त सर्जरी गर्न आवश्यक पर्ने भएकाले सबै ठाउँमा सम्भव नभएको र आफ्नो अस्पतालमा आएका यस्ता बिरामीलाई लुम्बिनी आँखा अस्पताल भैरहवा पठाएको बताए । कपिलवस्तुको छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका डा. शुभलक्ष्मी कटुवालका अनुसार केही दिनअघि अर्घाखाँचीबाट सापु रोगबाट प्रभावित बिरामीलाई उपचार गरिएको थियो ।

सेतो पुतलीको झुसले आँखामा छिट्टै रियाक्सन गरी आँखा बिगार्ने भएकाले तुरुन्तै विशेषज्ञ अस्पतालमा उपचार गर्न आवश्यक हुन्छ,’ उनले भनिन् । गण्डक क्षेत्रमा साउनदेखि कार्तिकसम्म यो खालको समस्या बढी देखिएको र एक वर्ष बिराएर यसले प्रभाव देखाउने भएकाले यसबाट सचेतना अपनाउन पर्ने डा. कटुवालको सुझाव छ । सो अस्पतालका प्रशासन प्रमुख जसराज बिकले सापु रोगको उपचारका लागि अस्पतालमा तयारी रहेकाले यस्ता लक्षण देखिएमा तुरुन्त अस्पतालमा पठाउन सबैलाई आग्रह गरिएको बताए ।

रूपन्देहीको भैरहवास्थित लुम्बिनी आँखा अस्पताल भैरहवामा एकहप्ताको अन्तरालमा ७ जना सापू रोगीको उपचार भएको सो अस्पतालले जनाएको छ । एक जनाबाहेक अन्य सबै १० वर्षमुनीका बालबालिका छन् । केहीको आँखा बच्ने सम्भावना निकै न्यून छ । सन् १९७५ मा नेपालमा पहिलोपल्ट देखिएको सापू रोग प्रत्येक दुई–दुई वर्षमा देखिने गरेको छ । खासगरी अहिलेको सिजनमा सेतो पुतली बढी सक्रिय हुने भएकाले सापू रोगी बढी रहेका छन् । लुम्बिनी प्रदेशका प्यूठान, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीमा यो रोग बढी देखिएको चिकित्सकले बताएका छन् ।

ग्याजालिना जेनस अन्तर्गतको क्राइसोलोफा प्रजातिको निसाचर पुतलीबाट यो रोग लाग्ने र समयमै उपचार नपाए आँखाको ज्योति नै गुम्ने खतरा हुने यसका विज्ञ डक्टरहरूको भनाइ छ । डा. उपेन्द्रदेव भारीका अनुसार आँखामा देखिने यस्तो समस्यालाई समाधान गर्न तुरुन्त अपे्रेसन गर्नुपर्ने भएकाले सचेत रहनुपर्दछ ।

रूपन्देही भैरहवास्थित आँखा अस्पताल आएकी बाग्लुङको निसिखोला गाउँपालिका–७, राजपुतकी निरमाया शाही चार दिनअघि छोराले विदेशबाट पठाएको पैसा लिन बुर्तिवाङ पुगेर पैसा लिएर घर फर्किएकी थिइन् । साँझ बलिरहेको बत्तिको वरिपरी सेतो पुतली घुमिरहेको थियो । प्लास्टिकले पुतली समातेर फ्याँकिन् । भोलिपल्ट बिहान उठ्दा आँखा रातो भयो, डिल सुन्निएको थियो । मेडिकल पुगिन् आइड्रप ल्याएर आँखामा राखिन् । सबैले आँखा पाक्ने रोग लागेको बताए । विस्तारै आँखाको नानीमा सेतो टल्किनेजस्ता लक्षण देखिए । त्यसपछि सापू लागेको आशंका गरियो । अहिले उनको आँखाको शल्यक्रिया भएको छ ।

चिकित्सकले शाही ढिलो गरी अस्पताल आएकाले आँखाको ज्योति बचाउन कठिन रहेको जनाएका छन् । ‘सेतो पुतलीबाट लाग्ने सापू आँखाका लागि खतरानाक रोग हो । चिकित्सकहरूका अनुसार सापूको शल्यक्रिया गरेपछि सुधार आउन ३–४ दिन लाग्नसक्छ तर आँखा नदेख्ने सम्भावना प्रबल हुन्छ । सेतो पुतलीको झुस आँखामा परेमा रोग लाग्छ,’

उनले भने, ‘सापूले आँखामा कचरा जम्ने, रातो हुने, सुन्निने र विस्तारै आँखा सेतो बन्दै जान्छ । उपचार नपाए आँखा सुक्दै जान्छ र ज्योति गुम्ने खतरा हुन्छ । खासगरी बच्चाहरूमा यो रोग बढी देखिने गरेको छ । रातिमा बढी मात्रामा सेतो पुतली सक्रिए हुने गर्छ । यस्तो अवस्थामा घरको बत्ति निभाउने, झुल लगाएर सुत्ने, घर वरिपरीको झाडी सफा गर्नुपर्छ । सापू देखिएको २४ देखि ४८ घण्टाभित्रै उपचार नपाएमा आँखा गुम्ने सम्भावना हुन्छ ।’

समयमै उपचार गर्नसके आँखा बचाउन सकिने लुम्बिनी आँखा अस्पताल भैरहवाका रेटिना रोग विशेषज्ञ डा. ज्ञानेन्द्र लामिछानेले बताउँछन् ।

बाँकेको फत्तेमान आँखा अस्पतालका प्रबन्धक डा. कौशलकुमार बर्माले अहिलेसम्म आफ्नो अस्पतालमा यसका बिरामी नआएको बताए । ‘सेतो पुतलीबाट आउने यो प्रायः पहाडी जिल्लामा देखिन्छ, हामीकहाँ यसको उपचारको सबै व्यवस्था छ, तर आएको अवस्था छैन,’ उनले भने ।

स्वास्थ्यकर्मीले यस्तो समस्या देखिए तुरुन्त सम्बन्धित अस्पतालमा पुग्न आग्रह गरेपनि सर्वसाधारण स्थानीय मेडिकलबाट सामान्य औषधि किनेर प्रयोग गर्ने, केही त झारफुकमा लाग्ने अनि अन्तिम अवस्थामा अस्पताल आउने गरेका कारण समस्या बढेकाले सबैले सचेतना बढाउन आग्रह गरेका छन् ।

कपिलवस्तुको छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका डा. शुभलक्ष्मी कटुवालले आफू राप्ती आँखा अस्पतालमा रहँदा रोल्पाका यस्तै बिरामी ढिलो गरी आएका कारण आँखाको ज्योति गुमाएको उदाहरण भएकाले र यसको बढी जोखिम बच्चाबच्चीहरूमा भएकाले तथा एकजनाबाट अर्कोमा नसर्ने भएकाले सचेतनामै ध्यान दिन आग्रह गरेकी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.