Advertisement

प्रधानमन्त्रीको विरोध गर्दा मुख थुन्ने प्रहरीलाई कारबाही होला?

0 45

Advertisement

१० चैत, बीबीसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनीहरूको मुख समेत थुनेको भिडिओ सामाजिक सञ्जालमा व्यापक भएपछि प्रशासनविरुद्ध आक्रोश व्यक्त भइरहेको छ।

प्रहरीले प्रचण्डविरुद्ध नाराबाजी गर्नेहरूको मुख थुन्दै गरेको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा मानिसहरूले शेअर गर्दै “बोल्न पनि नपाइने हो?” भनिरहेका छन्।

प्रहरीले प्रधानमन्त्री संलग्न कार्यक्रममा बाधा पुर्‍याउन खोजेको भन्दै तीन जना युवालाई पक्राउ गरिएको र अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको बताएको छ।

उनीहरूको मुख थुन्ने प्रहरीहरूमाथि हालसम्म अनुसन्धान वा विभागीय कारबाही नभएको काठमाण्डू प्रहरीका प्रवक्ता सीताराम रिजालले बताए।

यो घटनाबारे बुधवार संसद्‌मा पनि प्रश्न उठेको छ।

“संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने र बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन?” राष्ट्रिय सभाको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेकी विमला राई पौड्यालले भनिन्।

“अनि यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन? यस विषयमा म गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र यहाँ जवाफ पनि माग गर्छु।“

घटना के हो?

प्रचण्ड

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको एक कार्यक्रममा सम्बोधन गर्न राजधानीको नयाँ बानेश्वरमा पुगेका प्रधानमन्त्रीविरुद्ध तीन जना युवाहरूले नाराबाजी गरेको भिडिओहरूमा देखिन्छ।

एक जनाले प्रधानमन्त्रीलाई “आतङ्ककारी”को आरोप लगाउँदै गर्दा उनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका प्रहरीले उनको मुख हातले थुनिदिन्छन्।

प्रहरीको हात आफ्नो मुखबाट हटाउन बल गरिरहेका ती प्रदर्शनकारीको मुख फेरी अर्का प्रहरीले थुनिदिन्छन्।

प्रहरीले ब्याङ्कको ब्याजदरको विरोध गरिरहेका अर्का युवाको पनि मुख थुन्दै आफ्नो गाडीमा राख्छ।

नाराबाजी गर्नेमध्ये एक जनाले ब्याङ्कको ब्याज कम गर्न माग गरिरहेको सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा सुनिन्छ।

    उनीहरूमध्ये एक जनाले मुख थुनिएको भन्दै “हामी अपराधी हो? मान्छे मार्न आएको हो?” भन्दै प्रश्न गरिरहेको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ।

    घटनापछिको प्रतिक्रिया

    प्रशासनले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा समेत रोक लगाएको र मुख थुन्ने जस्तो ‘अमानवीय’ व्यवहार गरेको भन्दै कतिपय सर्वसाधारण र राजनीतिकर्मीले घटनाको विरोध गरेका छन्।

    “हामीले गणतन्त्र ल्यायौँ, सङ्घीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने क.प्रचण्ड- हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?” राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीसँग प्रश्न गरेका छन्।

    पूर्व राजदूत नीलाम्बर आचार्यले पनि मुख थुनिएको घटनाको निन्दा गरेका छन्।

    “हिंसा अपराध हो, शान्तिपूर्ण विरोध मानव अधिकार हो। ज्यादती नगर नागरिकका मुख थुन्ने धृष्टता नगर। हाम्रो व्यवस्था लोकतान्त्रिक हो शासन सञ्चालन पनि लोकतान्त्रिक रहनुपर्छ,” उनले ट्विटरमा लेखेका छन्।

    कतिपयले अमेरिकी राष्ट्रपति जो बाइडनकै अगाडि उनको विरोध भइरहँदा प्रशासनले हस्तक्षेप नगरेको भिडिओ सामाजिक सञ्जालमा राखेर मङ्गलवारको घटनासँग तुलना गरेका छन्।

    यसअघि राष्ट्रपतिको आलोचना गर्दा पक्राउ परेपछि मुखमा कालो टेप लगाएर सार्वजनिक सभामा उपस्थित भएकी रामकुमारी झाँक्रीको तस्बिर सामाजिक सञ्जालमा राखेर हाल एकीकृत समाजवादीकी नेतृ झाँक्रीलाई पनि मानिसहरूले प्रश्न गरिरहेका छन्। उनको दलले अहिलेको सरकारलाई समर्थन गरेको छ।

    “नारासँग डराउनेहरू के को क्रान्तिकारी? के को लोकतान्त्रिक?” नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले ट्विटरमा लेखेका छन्।

    प्रहरीको भनाइ के छ?

    प्रधानमन्त्री प्रचण्ड

    जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता सीताराम रिजालले प्रहरीले नियोजित रूपमा युवाहरूको मुख नथुनेको दाबी गरे।

    “प्रधानमन्त्रीज्यू उपस्थित भएको कार्यक्रम बाधा पुर्‍याउन खोज्ने तीन जना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिन बल प्रयोग गर्ने क्रममा हात कता पर्‍यो होला तर मुख थुन्ने प्रहरीको नीति होइन,” उनले भने।

    पक्राउ गरिएका युवाहरूलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको रिजालले जानकारी दिए। तर पक्राउ गर्ने क्रममा मुख थुन्ने प्रहरीमाथि कुनै पनि कारबाही वा अनुसन्धान नभएको उनको भनाइ छ।

      नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पोषराज पोखरेलले भने मुख थुनिएको घटनाबारे प्रहरीले अनुसन्धान गर्न सक्ने बताए।

      “यसमा सम्बन्धित वृत्त र परिसर कार्यालयले छानबिन गर्लान्। कहिलेकाहीँ भिडमा गल्ती हुन्छ। मैले भिडिओ चाहिँ हेरेको छैन तर यस्तो काम प्रहरीबाट हुँदैन,” पोखरेलले भने।

      “हामीले मानवअधिकारबारे बेलाबेला प्रशिक्षण दिइरहेका हुन्छौँ कारबाही पनि गरिरहेका हुन्छौँ।”

      मानव अधिकार आयोग के भन्छ?

      राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले घटनाबारे आयोगमा लिखित उजुरी नगरे पनि आयोगले जानकारी लिएको बताए।

      “घटनाबारे आयोगमा जानकारी आइसकेको छ। त्यसबारे हामी केही गर्छौँ,” उनले भने।



      मल्टिमिडिया ग्यालरी


      © Nepali horoscope

      Comments

      comments

      Subscribe to our newsletter
      Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
      You can unsubscribe at any time
      Leave A Reply

      Your email address will not be published.