काठमाडौंमा वर्षेनी बढ्दै सवारी दुर्घटना: ज्यान गुमाउनेमा मोटरसाइकल चालक र पैदल यात्रु बढी

0 15

१० चैत, काठमाडौं । गत फागुन २४ गते साँझ काठमाडौंको शंखरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो। साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले चलाएको बा९४प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भयो।

सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो। खड्काले चलाएको बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो। एकैपटक एउटा टिपरले दुई सवारी साधनलाई ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा २० वर्षीय पुनम श्रेष्ठ गम्भीर घाइते भइन्।

यस्तै, गत माघ १४ गते काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित चमतीमा ट्याङ्करको ठक्करबाट ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भयो। प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बज्राचार्यको ज्यान गएको हो।

माथि उल्लेखित घटना प्रतिनिधिमूलक घटनामात्र हुन्। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाका कारण वर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन्। आफूले ठीक ढङ्गबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा काठमाडौं उपत्यकाभित्र ६ हजार ८०३ सवारी साधन दुर्घटनाबाट १२७ जनाको मृत्यु भएको छ। यस्तै, १५४ जना गम्भीर घाइते भएका छन् भने ५ हजार १२७ जना सामान्य घाइते भएका छन्।

पछिल्लो ३ वर्षको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाभित्र सवारी साधन दुर्घटनाबाट ४८४ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ९ हजार ५४५ सवारी साधन दुर्घटनाबाट १६६ जनाको मृत्यु भएको छ भने २२९ जना गम्भीर घाइते तथा ७ हजार ९५ जना सामान्य घाइते भएका छन्।

आर्थिक वर्ष २०७८/७९ मा १० हजार ७३३ सवारी साधन दुर्घटनामा परेर १९१ जनाको मृत्यु भएको छ भने २५७ गम्भीर घाइते र ८ हजार २८१ जना सामान्य घाइते भएका छन्। काठमाडौं उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ। काठमाडौं उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदल यात्रु बढी छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउँछन्। ‘दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिती जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनन् लगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ,’ उनी भन्छन् । साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागि प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा १ हजार ७०० ट्राफिक प्रहरी परिचालित छन्। लामो समयसम्म काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काम गरेका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन्।

‘चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्,’ उनी भन्छन्। हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १८ लाखदेखि २० लाख सवारी साधन सञ्चालनमा छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.