सुनको भाउ बढ्नुमा यस्तो छ कारण, प्रतितोला एक लाख १० हजार माथि पुग्ने अनुमान
३० फागुन, काठमाडाैं । पछिल्लो केहि दिन यता नेपाली बजारमा सुनचाँदीको भाउ लगातार वृद्धि भइरहेको छ । अमेरिकाका दुई ठूला बैंक बन्द हुँदा अन्तराष्ट्रिय सुन बजारमा परेको प्रभावले नेपालमा समेत सुनचाँदीको भाउ निरन्तर बढ्दै गएको हो ।
फागुन २५ गते १ लाख १ हजारमा कारोबार भएको सुन ५ दिनमा ४ हजार ७ सय रुपैयाँले बढेर आज (मंगलबार) सुन १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यता फागुन २५ गते १ हजार २ सय २० रुपैयाँ कायम भएको चाँदी ५ दिनको अवधिमा ८० रुपैयाँ बढेर आज चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो । अमेरिकाको दुई ठूला बैंकहरु बन्द हुनाले सुनचाँदीको भाउमा वृद्धि भएको हो । मार्च १० मा सिलिकन भ्याली बैंक टाट पल्टिएपछि त्यसको असर सुनमा देखिएको व्यवसायीको भनाइ छ ।
अमेरिकाको दुई ठूला बैंक बन्द हुनुले सुनको बजारलाई असर गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व(अध्यक्ष तेजरत्न शाक्यले बताए । उनले अब अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सम्म पुग्ने अनुमान गरिएकोले नेपालमा पनि केही समय नघट्ने बताए ।
उनले भने,‘ अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सम्म पग्ने अनुमान छ अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सम्म पुग्यो भने नेपालमा १ लाख १० हजारसम्म पुग्छ’ । सुनको भाउ १ लाख भन्दा तल आउने सम्भावना तत्काल नभएको उनको भनाइ छ ।
माघ १९ गते छापावाला सुनको भाउ हालसम्म कै उच्च बिन्दु (१ लाख ७ हजार ५ सय) मा पुगेको थियो । अहिले फेरी सुनको भाउमा उल्लेख्य वृद्धि हुन थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले सुनको भाउ घट्छ नै भन्न नसकिने बताए । एउटा मात्र सूचनाले पनि सुनको भाउलाई प्रभाव पार्न सक्ने भएकोले सुनको भाउमा अनुमान लगाउन नसकिने उनको भनाइ छ । मूल्य अत्याधिक वृद्धि भएकोले फागुन महिनामा सोचेजति राम्रो प्रतिफल पाउन नसकेको उनको भनाइ थियो ।
बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा सुनचाँदीको कारोबार मुल्य निर्धारण हुन्छ । २०२२ सम्म २०९ अर्ब डलर बराबरको कुल सम्पत्ति रहेको सिलिकन भ्याली बैंक टाट पल्टिएपछि अन्तराष्टिय बजारमा सुनको भाउ बढ्दा त्यसको असर नेपाली सुन बजारमा देखिएको हो ।
सिलिकन भ्याली बैंक ४० वर्ष पुरानो (सन् १९८३ मा स्थापित) बैंक हो । यो अमेरिकाको १६औँ ठूलो बैंक हो ।
यस्तै अमेरिकाको अर्को वित्तीय संस्था सिग्नेचर बैंक पनि बन्द हुनुले पनि सुनचाँदीको भाउका प्रभाव पारेको छ । त्यहाँको नियामक निकायहरूले आइतबार (फागुन २८) गते साँझ विज्ञप्ति निकालेर उक्त बैंक बन्द भएको घोषणा गरेका थिए । त्यसको भोलीपल्ट सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएकोे थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको भाउको उतार–चढाव, नेपाली रुपैयाँको डलरसँगको विनिमय दरको तलमाथी, नेपाल सरकारले समय समयमा तोक्ने सुनचाँदीको भन्सार दरले नेपाली सुनचाँदीको बजार भाउलाई प्रभाव पारिरहेको हुन्छ।