अन्डाको मूल्य फेरि बढ्यो, अब प्रतिक्रेट कति पुग्याे ?

२८ वैशाख, काठमाडौं । बजारमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य) प्रतिक्रेट ३५ रुपैयाँले वृद्धि गरेको छ।

संघका अनुसार पछिल्ला चार दिनभित्रै अन्डाको मूल्य दोस्रो पटक बढाइएको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अब मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४३५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४०० रुपैयाँ थियो।

त्यसैगरी ठूलो (लार्ज) अन्डाको मूल्य ४५० रुपैयाँबाट बढेर ४८५ रुपैयाँ कायम गरिएको छ। एक्सएल अन्डाको मूल्य पनि ३५ रुपैयाँले बढेर ५०० रुपैयाँ पुगेको संघले जनाएको छ।

संघका अनुसार देशका विभिन्न क्षेत्रमा फैलिएको बर्डफ्लुका कारण हालसम्म ५ लाखभन्दा बढी लेयर्स कुखुरा नष्ट भएपछि उत्पादनमा ठूलो गिरावट आएको छ। उत्पादन घट्दा बजारमा माग उच्च भएकाले मूल्य समायोजन गर्न बाध्य भएको संघको भनाइ छ।

अध्यक्ष पोखरेलले मूल्य वृद्धि भए पनि किसानले अझै वास्तविक लागत मूल्य नपाएको बताएका छन्। उनका अनुसार उत्पादन लागत बढ्दै गएको र सरकारी राहत समयमै नपाउँदा किसानहरू संकटमा परिरहेका छन्।

बर्डफ्लुको प्रभावका कारण उत्पादन घटेपछि उपभोक्ता मूल्यमा समेत असर पर्ने देखिएको छ। संघले समयमै राहत र नीतिगत सहयोग नभए कुखुरापालक किसानहरू पलायन हुने जोखिम बढ्ने चेतावनी दिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours