Advertisement

सगरमाथाको फोहोर ओसारेर परीक्षण भइरहेछ विश्वकै ठूलो ड्रोन

0 10

Advertisement

२० वैशाख, एजेन्सी । सगरमाथा क्षेत्रको फोहोर ओसारेर विश्वकै ठूलो ढुवानी ड्रोनको परीक्षण भइरहेको छ । हाल पासाङ ल्हामु खुम्बु गाउँपालिकाले चिनियाँ कम्पनी डिजेआईलाई ड्रोनमार्फत फोहोर ढुवानीको अनुमति दिएको हो ।

गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले उपल्लो शिविरबाट आधार शिविरसम्म फोहोर ल्याउनका निम्ति ड्रोन परीक्षण भइरहेको बताए । ‘हालसम्म परीक्षण त सफल भएको छैन । तर यदि यो प्रभावकारी भएमा हामी फोहोर बोक्नका निम्ति यसको प्रयोग गर्नेछौं,’ उनले भनेका छन् ।

डिजेआईको ‘फ्लाइकार्ट थर्टी’ ड्रोन विना भार ६ हजार मिटर माथिसम्म उडान गर्न सक्छ । यसले ४० केजी बराबरको भार बाेक्न सक्छ । सिंगल ब्याट्रीमा ९ मिनेटभित्र ८ किलोमिटरको दुरी पार गर्नसक्छ, भने डबल ब्याट्रीमा १८ किलोमिटर दुरी पार गर्नसक्ने कम्पनीले जनाएको छ । ड्रोनलाई ३० केजी भार बोकाएको अवस्थामा ३ हजार मिटरको उचाइमा उड्न सक्छ ।

यसै साताबाट ड्रोन परीक्षण गरिएको हो । सोमबार ड्रोन ल्यान्ड हुन सकेको थिएन । मंगलबार भने ड्रोनले आधार शिविरबाट क्याम्प वानमा दुईवटा अक्सिजन सिलिन्डर पुर्‍याएर फर्किएको थियो । ड्रोनको परीक्षणका लागि कम्पनीबाट दुईजना प्राविधिक खटिएका छन् ।

नेपाली सेना तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिले त्यहाँको फोहोर मैला व्यवस्थापन गरिरहेका छन् । फोहोर संकलनमा ड्रोन प्रयोगको सम्भाव्यताका लागि भने गाउँपालिकाले पहल गरेको हो । हाल फोहोर संकलनका लागि परीक्षण भनिए पनि यसको प्रयोगबारे विभिन्न प्रश्न उठेका छन् । यसलाई आकस्मिक अवस्थामा प्रयोग गर्ने वा अत्यावश्यक सामग्री आपूर्तिका लागि प्रयोग गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ।

नेपाल सरकारले सगरमाथा आरोहीका लागि ट्र्याकिङ डिभाइस रेक्को अनिवार्य गरेको छ । आरोहणमा संलग्न कम्पनीहरूले आरोहीलाई अनिवार्य रूपमा यो उपकरण उपलब्ध गराउनुपर्ने नियम छ । यता डिजेआईको यो ड्रोन निकै महँगोसमेत छ । यसको मूल्य प्रतिथान ४२ हजार अमेरिकी डलर तोकिएको छ । परीक्षण सफल भएको अवस्थामा पनि यसको प्रयोगबारे स्पष्ट नीति भने छैन ।

नेपालमा ड्रोनको प्रयोगमा निकै निमयन छ । नेपालले ड्रोन फ्लाइट ऐन २०१९ मार्फत नियमन गरिरहेको छ । यसले २५ केजी माथिका ड्रोनलाई प्रयोगका लागि जोखिमयुक्त भन्छ । यसको प्रयोग गर्दा अपरेटरले आँखाले देख्ने इलाका भित्रमात्रै गर्नुपर्ने उल्लेख छ । बढीमा १५ मिनेटका लागि ३०० मिटरको दुरीमा प्रयोग गर्नुपर्ने उल्लेख छ ।

२०० फिटभन्दा माथि उडान गर्न नपाइने बताइएको छ भने उडानका लागि निषेधित क्षेत्रसमेत तोकिएको छ। अन्तर्राष्ट्रिय सिमा क्षेत्रको ५ किलोमिटरको दुरीमा प्रयोग गर्न पाइँदैन भने राष्ट्रिय निकुञ्जसहित अन्य संवेदनशील क्षेत्रमा पनि यसको प्रयोगका लागि विशेष अनुमति लिनुपर्छ ।

डिजेआईको यस ड्रोनले नियमनका लागि बनेका सबै नियमको पालना गर्नुपर्ने अवस्था छ । यसका लागि गाउँपालिकाले गृह मन्त्रालयसँग स्वीकृति लिएको बताएको छ । सरकारले आरोहण निरीक्षणका लागि क्याम्प वान र टूको बीचमा हेलिकप्टर प्रयोग गर्ने भनेसँगै ड्रोनको परीक्षण सुरु भएको हो ।

यसअघि गाउँपालिकाले आधार शिविर व्यवस्थापन नियमावली अन्तर्गत स्याङबोचेभन्दा उता कुनै पनि उडान प्रतिबन्धित गरेको थियो । अहिलेको लागि भने त्यो नियमावली निलम्बन गरिएको छ । नियम निलम्बनपछि नै आधार शिविरभन्दा माथि ड्रोनको परीक्षण भइरहेको हो ।

विभिन्न सेवासुविधा सहितको आरोहण बढेसँगै स्थानीय कामदारहरूले समेत रोजगार गुमाएको बताइरहेका छन् । सरसफाइदेखि सेफसम्मका कामदार कम्पनीहरूले आफैं शहरबाट शिविरसम्म पुर्‍याउन थालेपछि स्थानीयहरूको रोजगारी संकटमा परेको हो ।

यस सम्बन्धी गाउँपालिका अध्यक्षको भनाइ भने फरक छ । ड्रोनले कसैको पनि रोजगारी नखोस्ने उनी बताउँछन् । ‘ड्रोनले कसैको पनि रोजगारी खोस्दैन । यसको प्रयोग निकै सीमित रूपमा हुनेछ । यसले सहजीकरणमात्रै गर्ने भएकाले स्थानीय कामदार आत्तिनुपर्ने अवस्था छैन,’ अध्यक्ष शेर्पाले भने ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.