Advertisement

तातोपानी नाकामा व्यवसायीका दुःखः दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

0 46

Advertisement

११ जेठ, काठमाडौं । नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ।

लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो। तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनिय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन्।

पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरुका सामान आयात गर्नै छोडेका छन्। सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे।

सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरुले वर्षेनि सास्ती भोग्नुपरेको छ। तातोपानी क्षेत्र भौगोलिक रुपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम सुरु भएसँगै सडकमार्ग जिर्ण छ। नेपाल–चीन जोड्ने नेपालको प्रमुख व्यापारीक तातोपानी नाका भए पनि सडक मार्गको समस्याले सधैं ग्रसित छ।

चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैं भासिने गरेको छ। व्यवसायीहरुले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालीन मर्मत गर्न नसक्दा सधैं जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ। दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ। व्यापारीक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रुपमा गुड्नसक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम भए पनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालीन समस्या समाधानको उपाय खोज्न सकेको छैन।

चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवसायीहरु नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन्। व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउनको लागि सडक जिर्ण भएकाले असहज भइरहेको बताए। उनले सरकारले चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको गुनासो गरे।

सडक पूर्वाधार मजबुत भएमात्रै नाका सञ्चालनमा सहज हुने उनको भनाइ छ। उनले सडक जिर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पुर्‍याउँदा बढ्ने गरेको बताए। भन्सारमा व्यवसायीका लागि आवश्यक सबै सुविधा सरकारबाट प्राप्त भए पनि सडक मार्ग भने राम्रो बनाउन नसक्दा सधैं समस्या भएको उनले गुनासो गरे।

अर्का व्यवसायी विजय शेर्पाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको बताए। सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको उनले बताए। उनले स्थानीय पालिका र व्यवसायीहरुले सरोकारवाला निकायहरुलाई सडक मार्ग स्तरोन्नतिका लागि पहल गर्न आग्रह गर्दा पनि अहिलेसम्म हुन नसकेको भन्दै गुनासो गरे।

त्यस्तै,तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताए। उनले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँसमेत नहुने अवस्था रहेको बताए। उनले कन्टेनर बेला–बेलामा सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेकोसमेत उल्लेख गरे।

तोतापानी नाका पूर्णरुपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर सडकको अवस्था भने दयनीय छ। तातोपानी नाका सहज रुपमा सञ्चालनमा आए पनि सडक मार्गको अवस्था नाजुक र जिर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ। कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षा याममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ। तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाइ सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.