लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले विश्वासको मत पाएका छन्। प्रदेश सभामा मंगलबार भएको मतदानमा चौधरीले आवश्यक बहुमत पाएका हुन्।
विश्वासको मत लिन मुख्यमन्त्री चौधरीले राखेको प्रस्तावमाथि भएको मतदानमा पक्षमा ५३ मत परेको थियो। त्यस्तै प्रस्तावको विपक्षमा २९ मत परेको थियो।
चौधरीले वैशाख १४ गते कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना सांसद खड्ग बस्नेत (कुल ५३ जना) को समर्थनको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए। उनी त्यसै दिन मुख्यमन्त्री नियुक्त भएका थिए।
अघिल्ला मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते विश्वासको मत लिने प्रस्ताव राखेका थिए। तर आवश्यक बहुमत जुटाउन नसकेपछि उनी पदमुक्त भएका थिए।