Advertisement

सुदूरपश्चिममा चार वर्षमा चार सय ३० क्षयरोगीको मृत्यु

0 11

Advertisement

१० चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार वर्षको अवधिमा क्षयरोगबाट चार सय ३० जनाको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार आठ सय ३४ नयाँ बिरामी पहिचान भएकोमा एक सय १३ जनाको क्षयरोगकै कारण मृत्यु भएकोे छ।

प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा ९० जना, २०७७/७८ मा एक सय १५ जना र आर्थिक वर्ष २०७६/७७ मा एक सय १२ जना क्षयरोगीको मृत्यु भएको जनाइएको छ।

क्षयरोगका कारण मृत्यु हुने दर कैलालीमा उच्च रहेको निर्देशनालयले जनाएको छ। कैलालीमा चालु आर्थिक वर्षको फागुनसम्म ४३ जना, आर्थिक वर्ष २०७८/७९ मा २९ जना, आर्थिक वर्ष २०७७/७८ मा ५४ र आर्थिक वर्ष २०७६/७७ मा ५० जना क्षयरोगीको मृत्यु भएको जनाइएको छ।

स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग सुपरिवेक्षक मनोज ओझाले देशभरमा क्षयरोगका कारण मृत्यु हुनेको दर दुई प्रतिशत रहेपनि सुदूरपश्चिम प्रदेशमा चारदेखि पाँच प्रतिशत रहेको बताए। उनले समयमै क्षयरोगका पहिचान गरी उपचार गर्न सकेमा मृत्युदर घटाउन सकिने बताए।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले क्षयरोगको नियन्त्रण र अन्त्य गर्न बसाइसराई, नियमित औषधि सेवन नगर्नु, आइसोलेसन वार्डहरू प्रर्याप्त नहुनु, ढिलो परीक्षण गराउनु लगायतका चुनौती रहेको बताए।

लुकेर बसेका क्षयरोगी पत्ता लागेमा बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबैभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनले बताए।

बिरामी पहिचान दरमा कमी
सुदूरपश्चिम प्रदेशमा क्षयरोगीका सबै संक्रमितहरु सम्पर्कमा आउन सकेका छैनन्। प्रदेशमा अनुमानित क्षयरोगका संक्रमितमध्ये सबै उपचारको दायरामा नआइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

चालु आर्थिक वर्षमा प्रदेशमा ६ हजार छ सय ६९ जना नयाँ क्षयरोगका बिरामी पहिचान गर्ने लक्ष्य रहेकोमा फागुनसम्म प्रदेशभरी एक हजार आठ सय ३४ जनामात्र पहिचान भएको निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग सुपरिवेक्षक ओझाले प्रदेशमा लक्ष्य अनुसारका नयाँ क्षयरोगका बिरामी लक्ष्य अनुसार पहिचान हुन नसकेको बताए। प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा दुई हजार आठ सय २६ र आर्थिक वर्ष २०७८/७९ मा तीन हजार चार सय २४ नयाँ क्षयरोगका बिरामी पहिचान भएका थिए।

नौ वटा जिल्ला रहेको यस प्रदेशमा सबैभन्दा बढी नयाँ बिरामी पहिचान दर कैलालीमा रहेपनि अझै लक्ष्य अनुसार पहिचान हुन नसकेको उनले बताए। कैलालीमा चालु आर्थिक वर्षको फागुनसम्म सात सय ५२ नयाँ क्षयरोगका बिरामी पहिचान भएका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक हजार चार सय ३३ र आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४ नयाँ विरामी पहिचान भएका थिए।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने– ‘कैलालीमा वार्षिक दुई हजार पाँच सय बढी क्षयरोगीका नयाँ बिरामी पहिचान गर्नुपर्ने हुन्छ तर, हामीले एक हजार भन्दा बढी नयाँ बिरामी फेला पार्न सकेका छैनौं।’ उनले समाजमा चेतना नहुनु, निजी अस्पतालमा पत्ता लागेका बिरामीहरूलाई सरकारी अस्पतालमा लैजान नसक्नु लगायतका समस्याले लक्ष्य अनुसारको नयाँ बिरामी पहिचान गर्न नसकिएको बताए।

उनले भने– ‘सबै क्षयरोगका बिरामीहरूको पहिचान गरि उपचारको दायरामा ल्याए क्षयरोगको अन्त्य गर्न सकिने छ।’ क्षयरोगबाट हुने बिरामी र मृत्यु दरलाई घटाई रोग सर्ने प्रकृयालाई रोकी सन् २०३५ सम्ममा क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहन नदिने सरकारको लक्ष्य रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.