रेमिट्यान्समा भएको वृद्धि र आयात नियन्त्रणले नेपाली अर्थतन्त्र सुधारउन्मुख
०३ चैत, काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण शिथिल बनेको नेपाली अर्थतन्त्र सन् २०२३ मा सकरात्मक देखिएको छ ।
रुस-युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य र खाद्य वस्तुको मूल्य आकाशिदा तीव्र गति लिएको मुद्रास्फीति दर घट्ने क्रममा रहेको छ भने रेमिट्यान्समा भएको वृद्धि र आयातमा गरिएको नियन्त्रणका लागि गत वर्षको तुलनामा यो वर्षमा वित्तीय सूचांकमा सुधार आएको छ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०२३ को जनवरी महिनामा नेपालको खुद्रा मुद्रास्फीति दर ७.३ प्रतिशत रहेको छ । जुन सन् २०२२को डिसेम्बर महिनामा ७.४ प्रतिशत रहेको थियो । खाद्य वस्तुको मूल्यमा कमी आएका कारण खुद्रा मुद्रास्फीति दरमा समेत कमी आएको केयर नेपालले जनाएको छ ।
सन् २०२२ को डिसेम्बर महिनामा खाद्यान्न मुद्रास्फीति दर ५.९ प्रतिशत रहेको थियो । जुन सन् २०२३ को जनवरीमा घटेर ५.६ प्रतिशत पुगेको हो । खाद्यान्न मुद्रास्फीति दरमा कमी आएता पनि सर्भिस क्षेत्रको मुद्रास्फीति दरमा भने परिवर्तन आएको छैन ।
जनवरी महिनामा खुद्रा मुद्रास्फीति दरमा कमी आएता पनि थोक मुद्रास्फीति दर भने बढेको छ । सन् २०२२को डिसेम्बर महिनामा ९.२ प्रतिशत रहेको थोक मुद्रास्फीति दर सन् २०२३मा बढेर ९.८ प्रतिशत पुगेको हो । उत्पादित वस्तुको मूल्य ९ प्रतिशतले बढेको छ भने पेट्रोलियम पदार्थको मूल्य बढेर ३२.४ प्रतिशत पुगेको छ । जसकारण मुद्रास्फीति दर बढेको छ ।
रेमिट्यान्समा भएको वृद्धिका कारण विदेशी विनिमय सञ्चिति बढेको छ । रेमिट्यान्समा भएको वृद्धिका कारण नेपालको विदेशी विनिमय सञ्चिति ४ प्रतिशतले बढेको छ । हाल नेपालको विदेशी सञ्चिति १० अर्ब ३० लाख अमेरिकी डलर रहेको छ । जुन ९ महिना १० दिनका लागि वस्तुहरुको आयात गर्न पर्याप्त रहने छ ।
सन् २०२१–२२मा विदेशी विनिमय सञ्चिति घट्दै गएपछि नेपाल सरकारले विलासी वस्तुहरुको आयात प्रतिबन्ध गरेको थियो । जसकारण व्यापार घाटामा सुधार आएको छ । सन् २०२२ को डिसेम्बर महिनामा ११९ अर्ब पुगेको व्यापार घाटा सन् २०२३ को जनवरी महिनामा ११४ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७९÷८०को ६ महिनामा नेपालको ब्यापार घाटा ७१२ अर्ब पुगेको छ । जुन आर्थिक वर्ष २०७८/७९मा ८८० अर्ब थियो । व्यापार घाटा कमी हुँदै जाँदा देशको भुक्तानी सन्तुलनमा समेत सकरात्मक प्रभाव परेको छ ।
यस्तै विदेशी रकम भित्राउने अर्को उद्योग पर्यटन उद्योग रहेको छ । पछिल्लो समयमा कोभिडका वर्षको तुलनामा नेपालमा पर्यटकहरुको सन् २०२२मा ६ लाख १४ हजार पर्यटकहरुले भ्रमण गरेका थिए । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै पर्यटन व्यवसायबाट हुने आम्दानी समेत बढेको छ । तथापि सन् २०२३को जनवरी महिनामा नेपालमा ५५ हजार ७०४ पर्यटकहरु भ्रमणका लागि आएका छन् । सन् २०२२को सोही अवधिको तुलनामा पर्यटक आगमन १८ प्रतिशतले घटेको हो ।
नेपाली अर्थतन्त्र आयातमा आधारित रहेको छ । आयात निर्भर अर्थतन्त्र रहेका कारण बाह्य झड्काबाट अर्थतन्त्र सजिलै प्रभावित हुँदै आएको छ । पछिल्लो समयमा अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर आक्रामक शैलीमा बढाउँदै आएको छ । जसकारण डलरको भाउ बढेको छ भने नेपाली मुद्राले अन्तराष्ट्रिय विनिमय बजारमा कमजोर प्रर्दशन गरिरहेको छ ।
विश्वव्यापी रुपमा मुद्रास्फीति दर बढ्दा आयात गरिने सामाग्रीको मूल्य आकाशिएको छ भने बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा आन्तरिक उद्योगको उत्पादन लागत बढेको छ । यसको प्रत्यक्ष असर निम्न आय भएका मानिसहरुमा परेको छ । वर्तमान अवस्थामा नेपाली अर्थतन्त्र संकटमा नभएता पनि संकट उन्मुख भने रहेको छ।