Advertisement

घट्न थाल्यो ब्याजदर, ट्रेजरीको डिस्काउन्ट रेट एकल अंकमा

0 63

Advertisement

३० फागुन, काठमाडाैं । बैंकिङ प्रणालीको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ । मंगलबार बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएसंगै ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि एकल अंकमा झरेको हो ।

बैंक तथा वित्तीय संस्थाको स्रोत बढ्ने तर कर्जा लगानी विस्तार हुन नसकेपछि तरलताको अवस्था सहज देखियो । तरलता सहज देखिएसंगै बैंक वित्तीय संस्थाले ब्याजदर घटाउन थाले पनि ट्रेजरीमा लगानी बढाउदा उच्च प्रतिस्पर्धाले दोहोरो अंकमा रहेको डिस्काउन्ट रेट समेत घटेर एकल अंकमा आएको हो ।

बैंक तथा वित्तीय संस्थाले दैनिक तरलता व्यवस्थापन गर्न प्रयोग गर्ने स्थायी तरलता सुविधा र ओभर नाइट रिपोमा सीमा तोकेसंगै सरकारी ऋणपत्रको लगानी घटाउन थालेका थिए । ट्रेजरीमा लगानी गरेपनि दैनिक तरलता व्यवस्थापनका लागि प्रयोग गर्न नपाउने भएपछि बैंक वित्तीय संस्थाले उच्च दरमा मोलमोलाई गर्दै आएका थिए । तर, लगानी नै ठप्प भइ अधिक तरलता बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाले डिस्काउन्ट रेट घटेर भएपनि ट्रेजरी खरिद गर्न थालेका हुन ।

सरकारले सोमबार १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनका लागि ट्रेजरी बिल्सको बोलकबोल आह्वान गरेको थियो । मंगलबार बाँडफाँड हुने गरी निष्कासन भएको उक्त ट्रेजरी बिल्स २८, ९१ र ३६४ दिने अवधिका रहेका छन । त्यसमध्ये पनि सरकारले ५ अर्ब रुपैयाँ बरावरको २८ दिने नयाँ ट्रेजरी बिल्स निष्कासन गरेको हो । सोमबार निष्कासन भएका सबै प्रकारका ट्रेजरीबिल्स ५–५ अर्ब रुपैयाँ बरावरका भएपनि ९१ दिने र ३६४ दिने भने पुरानो नविकरण गरिएको हो ।

मंगलबार बाँडफाँड भएका सबै प्रकारका टे«जरी बिल्सको डिस्काउन्ट रेट एकल अंकमा आएको छ । अल्पकालिन ब्याजदरको रुपमा रहेको ट्रेजरी बिल्सको ब्याजदरमा देखिएको उतारचढावले बैंकिङ क्षेत्रको ब्याजदरको अवस्थालाई समेत संकेत गर्छ । ट्रेजरी बिल्सको रेट निरन्तर घट्न थालेपछि फागुन महिनामा स्थीर राखेका बैंक वित्तीय संस्थाले समेत चतमा निक्षेप तथा कर्जाको ब्याजदर घटाउने निर्णय गरीसकेका छन् ।

सोमबार बोल भएको ट्रेजरी मध्ये २८ दिनेको औसत डिस्काउन्ट रेट ८.००२४ प्रतिशत कायम भएको छ ।

यसमा बैंक वित्तीय संस्थाले बोल गर्दा अधिकतम १०.७४०२ र न्यूनतम ७.०८९७ प्रतिशत माग गरेका थिए । बैंकहरुले उच्च डिस्काउन्ट रेट माग गरेपछि केन्द्रीय बैंकले ५ अर्बको बिक्री गर्न खोजेको भएपनि ३ अर्ब रुपैयाँ बरावरको मात्र बिक्री गरेको छ। यसभन्दा अघि गत २३ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ७.२२११ प्रतिशत रहेको थियो।

त्यसैगरी ९१ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय अधिकत ९.२२८१ र न्यूनतम ८.९००१ प्रतिशत माग गरेका थिए । यसको औसत डिस्काउन्ट रेट ९.०९९२ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि गत २३ गते ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.११४७ प्रतिशत कायम भएको थियो ।

सोमबार निष्कासन भएको ५ अर्ब रुपैयाँ बाराबरको ३६४ दिने नयाँ ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले अधिकतम ९.५९९७ र न्यूनतम ९.२५०० प्रतिशत माग गरेका थिए । सो ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.५११३ प्रतिशत कायम भएको छ । यसअघि फागुन २३ गते ३६४ दिने ट्रजरीमा बैंक वित्तीय संस्थाले धेरै ब्याज माग गरेपछि बिक्री नै भएको थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.