Advertisement

आर्थिक मन्दीको प्रभाव: होमस्टेमा आउने पाहुनाको संख्या घट्यो

0 18

Advertisement

२९ फागुन, ढोरपाटन । ४ वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे।

२०७४ सालमा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम–स्टे) सञ्चालनमा ल्याए। घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकी बदलिँदै गएको थियो। १ वर्षमै विश्वभर महामारीका रुपमा कोभिड–१९ फैलियो। यसको प्रत्यक्ष असर यहाँका घरबास सञ्चालकलाई पनि परेको थियो।

झण्डै २ वर्ष कोभिडका कारण बन्द भएको घरबास पुनः सञ्चालनमा आयो। गत असोज महिनासम्म तोरीखोला घरबासमा पाहुनाको चाप निकै बढेको थियो। टाढा–टाढाबाट गलकोट घुम्न आउने आन्तरिक पर्यटकको बासस्थान तोरीखोला घरबासनै हुन्थ्यो। पाहुनाको आकर्षक थलो बनेपछि घरबास सञ्चालकको आयआर्जन र जीवनशैली फेरिँदै गएको थियो। जब बजारमा महँगी बढ्यो र तरलता अभाव हुन थाल्यो त्यसपछि घरबासमा आउने पाहुना क्रमशः घट्दै गए। आर्थिकमन्दीले गर्दा पाहुनाको आगमन घटेपछि घरबास सञ्चालक पनि समस्यामा पर्दै गएका छन्।

कुनै दिन दैनिक ५० जनाभन्दा बढी पाहुन आउने तोरीखोला घरबासमा अहिले महिनामा ५० पुग्न गाह्रो छ। यातायात र इन्टरनेटको सहज पहुँच रहे पनि पाहुनालाई भित्राउन गाह्रो भइरहेको छ। पहिलेको जस्तो पर्यटकीय ठाउँमा घुम्नेको सङ्ख्या घटेपछि घरबासमा बास बस्न आउनेह पनि घटेको सञ्चालकको भनाइ छ। पाहुनाका लागि पालेका स्थानीय जातका कुखुरा घरबास सञ्चालकले बाहिरै बजारमा लगेर बेच्न बाध्य भएका छन्।

घरबास सञ्चालक सीता पुन भन्छिन्, ‘सबै व्यवस्थापन राम्रो गर्दै गएका थियौँ, दैनिक पाहुनको चाप पनि बढेको थियो, चार/पाँच महिना भयो, यहाँ आउने पाहुना निकै कम हुनुहुन्छ, हाम्रो कमी कमजोरीको कारणले त होइन होला, सबैले राम्रो छ भन्नुहुन्थ्यो, अहिले पाहुना ह्वात्तै घटेपछि हामीहरुलाई पनि अचम्म लागेको छ।’

चार वर्षदेखि सञ्चालनमा आएको तोरीखोला घरबास गलकोटको हटिया र नरेठाटी बजारदेखि नजिकै पर्छ। हटिया बजारबाट एक घण्टा र नरेठाटी बजारबाट आधा घण्टामा यहाँ पुग्न सकिन्छ। स्थानीयले पाँच घरमा घरबास सञ्चालन गरिरहेको पुनको भनाइ छ। शान्त वातावरण, गाउँले हावापानी र लोकल खानाको स्वाद लिनका लागि पर्यटक यहाँ आउने गरेको सञ्चालक पुनको भनाइ छ।

गलकोट क्षेत्रमा तोरीखोला घरबाससँगै वडा नम्बर १० को पाण्डपखानीमा सिद्धथान सामुदायिक होमस्टे, वडा नम्बर ६ मा ‘स्टोन भिलेज’ सामुदायिक होमस्टे र वडा नम्बर ११ मा रिघा सामुदायिक होमस्टे सञ्चालनमा रहे पनि पाहुना नआएको सञ्चालक बताउँछन्। यी घरबास सुरुआती चरणमा रहेको हुँदा प्रचारप्रसारलाई जोड दिएको सिद्धथान सामुदायिक होमस्टका अध्यक्ष खिमबहादुर पुनमगर बताए।

२०७५ सालमा गण्डकी प्रदेश सरकारको १० लाख सहयोगमा स्थापना गरेको यो घरबासमा कोभिड संक्रमण फैलिनुपूर्व पाहुनाको चाप निकै हुने गरेको भए पनि अहिले भने सुस्ताउँदै गएको अध्यक्ष पुनमगरको भनाइ छ। प्रदेश सरकारले दिएको अनुदानले घरबासमा इन्टरनेट जडान, बिस्तरा तथा शौचालय व्यवस्थापन गरेको पुनमगरले जानकारी दिए।

पाहुनाले लोकल कुखुरा, कोदोको ढिँडो, रक्सी, भाँगोको अचार मन पराउने गरेको हुँदा आफूहरुले उत्पादन बढाएको भन्दै पाहुन कम हुँदा उत्पादन खेर जाने अवस्था आएको पुनमगरले दुखेसो पोखे। घरबासलाई थप पाहुनामैत्री बनाउन स्थानीय जुटेको उनको भनाइ छ। स्थानीय पालिकाले घरबाससम्म पुग्ने सडक र त्यस क्षेत्र वरपर रहेका धार्मिक तथा पर्यटकीयस्थललाई व्यवस्थित गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए।

पाहुना भित्र्याउनका लागि घरबास सञ्चालकको व्यवहार, यहाँ पाइने परिकार र सरसफाइ मुख्य विषय रहेको भन्दै त्यसलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले सहयोग गरिरहेको भण्डारीको भनाइ छ। घरबास सञ्चालनसम्बन्धी तालिम, खाना पकाउने तरिकालगायतका विषयमा थप तालिम प्रदान गर्न आवश्यक रहेको भन्दै नगरपालिकाले त्यसको व्यवस्था गर्ने उनले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.