Advertisement

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ : राष्ट्रिय टोलीका सदस्यका पनि शंकाको घेरामा

0 48

Advertisement

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य पनि संलग्न हुनसक्ने देखिएको छ ।

मुलुकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेलेको पछिल्लो टोलीका दुई सदस्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च निगरानीमा राखेको हो ।

ब्यूरो स्रोतका अनुसार उनीहरुसहित केही खेलाडीहरुको प्रहरीले बयान लिइसकेको छ । यसमा खेलाडी मात्र नभई टी–२० लिगमा सहभागी टिमका अफिसियलहरु पनि संलग्न देखिएको ब्यूरो उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।

अधिकृतहरुका अनुसार सीआईबीले गरेको अनुसन्धानका क्रममा निर्धारित खेलका गतिविधिका बलमा नतिजा हेरफेर हुने गरी केही खेलाडीहरु लेनदेन गरेको तथ्यहरु फेला परेको छ ।

केही खेलाडीसम्म शंकास्पद रकम पुगेको देखिएको अधिकृतहरुले बताएका छन् । यो कार्यमा नेपालका पूर्वराष्ट्रिय खेलाडीको समेत संलग्नता देखिएको प्रहरीको भनाइ छ । अनुसन्धान समिति स्रोतका अनुसार यसरी दिइएको रकम १० लाख रुपैयाँभन्दा तल छ ।

आईसीसीको रिपोर्ट कुर्दै सीआईबी

प्रकरणमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एन्टी करप्सन युनिट (एसीयू) ले पनि छुट्टै छानबिन गरिरहेको छ । आईसीसीको छानबिन खेलको प्राविधिक विषयमा बढी केन्द्रीत रहेको स्रोतको भनाइ छ ।

आईसीसीका एन्टी करप्सन अफिसर वीर सिंह नेतृत्वको टोलीले खेलाडीहरुको बलिङ/ब्याटिङ प्याटर्न, मुभमेन्ट लगायतका गतिविधिमा सुक्ष्म अनुसन्धान गरिरहेको छ । सिंह नेतृत्वको टोलीले हरेक दिन साँझ आईसीसीलाई रिपोर्टिङ गरिरहे पनि ब्यूरोलाई सूचना दिएको छैन ।

स्रोतका अनुसार सिंहले आफ्नो चेन अफ कमाण्ड अनुसार एसीयू हुँदै आईसीसीसम्म सूचना दिने, त्यसपछि त्यहीँबाट विवरणहरु लिन भनेका छन् । तर, हालै प्रहरी अनुसन्धानबारे जानकारी लिन काठमाडौं आएका आईसीसीका दुई अधिकारीले आफूहरु छानबिनमा सीआईबीसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

उनीहरुले खेल सकिएलगत्तै छानबिनका विवरण उपलब्ध गराउने भनेका छन् । क्यानले पनि सीआईबीलाई जारी खेल अबरुद्ध हुने गरी अनुसन्धान अघि बढे राम्रो सन्देश नजाने बताउँदै जारी प्रतियोगिता पनि चल्ने गरी अनुसन्धान गरिदिन ब्यूरोलाई आग्रह गरेको थियो ।
‘खेल पूरा होस् भन्नेमा ब्यूरो पनि सचेत थियो, बुधबार खेल सकिएपछि मात्रै थप कामहरु सुरु भएका छन्’ सीआईबीका निर्देशक उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने । उनका अनुसार खेलाडीहरुलाई बयानका लागि समेत खेल नभएको दिन मात्र ब्यूरोमा बोलाइएको थियो ।

अधिकृतहरुका अनुसार ब्यूरोको अनुसन्धान लगभग निष्कर्षतिर पुगेको छ । तर, आईसीसीको अनुसन्धान प्रतिवेदनलाई अधिकृतहरुले कुरेका छन् । ‘आईसीसीको रिपोर्टसँग बाझिने खालको भयो भने भोलि अदालतमा केश स्टाबलिस गर्न गाह्रो हुनसक्छ’, एक अधिकृत भन्छन्, ‘त्यसैले आईसीसीको रिपोर्ट हेरेर मात्रै अघि बढ्छौं ।’

आईसीसीको प्रतिवेदन अनुसार सीआईबीले अन्तिम प्रतिवेदन तयार पार्नेछ । त्यसपछि संलग्न व्यक्तिहरुमाथि राष्ट्र हितविरुद्धको कसूरमा मुद्दा प्रक्रिया अघि बढ्ने स्रोतको भनाइ छ ।

यसरी खुल्यो फिक्सिङको रहस्य

खेल चलिरहेका बेला काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको खुलासा गरेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको मल्लले बताएका थिए ।

प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

ब्यूरोले घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक डीएसपी सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । समितिमा रहेका एक जना सदस्यका अनुसार स्पष्ट फिक्सिङमा नेपाल क्रिकेट संघ क्यान को व्यापारिक एवं रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसकै संलग्नता समेत देखिएको छ ।

‘कम्पनीका पदाधिकारी नै प्रत्यक्ष नजोडिए उनीहरुसँग जोडिएका व्यक्तिले नेपाल र भारतका केही पूर्वराष्ट्रिय खेलाडी प्रयोग गरेर एम्प्रोच गरेको देखिएको छ’, एक अधिकृतले भने, ‘केही महत्वपूर्ण प्रमाणहरु फेला परेका छन् ।’

सट्टेबाजी गराएर असूली गर्ने उद्देश्य अनुरुप कम्पनीले खेल सञ्चालनको जिम्मेवारी लिएको हुनसक्ने देखिएको एक अनुसन्धान अधिकृतले बताए । भारतमा दर्ता यो कम्पनीको प्रबन्ध पत्रमा समेत सट्टेबाजी घरहरु सञ्चालन गर्ने उल्लेख छ । कम्पनीका सञ्चालक भारतीय नागरिक जतिन अहलुवालिया फरार छन् ।

नेपालमा स्पट फिक्सिङबारे अनुसन्धान सुरु भएलगत्तै उनी भागेर भारत पुगेका थिए । अहलुवालियाले आफूलाई नेपालमा सुरक्षा चुनौति भएको दाबी गरेका थिए । तर, अधिकृतहरुको दाबीमा अनुसन्धान सुरु भएपछि उनी भागेका हुन् ।

क्यानले ८ वर्षका लागि ३३ करोड रुपैयाँमा सेभेन थ्री स्पोर्टस्लाई टी–२० लिग आयोजनाको जिम्मा दिएको थियो । ब्यूरोका एक अधिकृतका अनुसार खेलमैदानमा पर्याप्त विज्ञापन पनि थिएन भने उल्लेख्य दर्शक पनि थिएनन् । बरु सट्टेबाजीका लागि चर्चित वेवसाइट ‘वान एक्स वेट’मा नेपाल टि–२० लिगका खेलहरु बेटिङका लागि राखिएका थिए ।

मैदानमा पनि ‘वान एक्स ब्याट’को विज्ञापन राखिएको थियो । ‘वान एक्स ब्याट भन्नलाई समाचारमूलक वेवसाइट रहेछ तर, यसको उद्देश्य अर्के देखिएको छ’, एक अधिकृत भन्छन्, ‘वान एक्स वेटबाट सिधै विज्ञापन गर्न नमिल्ने भएपछि वान एक्स ब्याटको साहारा लिएको पाइएको छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.