Advertisement

नेवाः सभ्यता र बागमती सफाइमा सहकार्य गर्न काठमाडौं महानगरको ललितपुरलाई प्रस्ताव 

0 79

Advertisement

०२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन्।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो प्रस्ताव अघि बढाएका हुन्।

यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला–एक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो।

मेयर शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र बागमती सफाइको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासका लागि नै राम्रो सन्देश हुनेसमेत स्पष्ट पारे।

उनले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाःसम्बन्धी विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणा राखे।

‘काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका आफैँमा एउटा एकदमै नजिकको भित्र, छिमेकी दाजुभाइ जसरी बस्दै आएको भएकाले हामीले सहकार्य गर्नुपर्ने धेरै कुरा छन्। देशकै पहिलो नगरपालिका भएको हुनाले हाम्रो संस्कृति, सभ्यता, सम्पदा जोगाउनका लागि ललितपुर महानगरपालिकाले एकदमै अग्रसर भएर आफ्ना भूमिकाहरू देखाएको छ। त्यो एकदमै सराहनीय छ’, मेयर शाहले भने, ‘ललितपुर महानगरबाट आगामी दिनमा हामीले पनि सिक्नुपर्ने धेरै कुरा छन्। सम्पदाको क्षेत्रमा जसरी अहिले ललितपुर महानगरले ढुंगेधारा, पुराना हिटीहरूको संरक्षणमा अग्रसर भएको छ। ती कुराहरूलाई हामीले पनि अब पुल्चोक इन्जिनियरिङ कलेजसँग समझदारी गरेर हाम्रा हिटीहरूको पुनःस्थापनाको काम गर्दैछौं।’

ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालयका लागि पनि पहल गरिदिन उनले आग्रह गरे।

ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसका लागि पहल गरिदिन उनको आग्रह थियो। ‘यसो भयो भने हाम्रो सभ्यताको अभिलेखीकरण पनि हुन्छ। यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्नसक्छौं,’ मेयर शाहले भने, ‘हाम्रा कलाकौशलहरूलाई अन्तर्राष्ट्रियकरण गर्नसक्छौं। हाम्रा बाजाहरूलाई स्नातकोत्तरको पाठ्यक्रममा समावेश गर्नसक्छौं।’

नेवाः सभ्यताभित्र धेरै पक्ष भएको भन्दै उनले यो सम्पूर्णलाई मानिसले पढ्न आवश्यक भएको र पुस्तान्तरण गर्न पनि जरुरी रहेको बताए।

‘अब आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउन पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ। अर्को कुरा, दुवै महानगरपालिकाले गर्नुपर्ने चिज भनेको बागमतीको स्थायी सरसफाइ नै हो’, उनले भने, ‘अस्थायी सफाइ अभियान त धेरै हुन्छन्। स्थायी रूपमा यसको सरसफाइ गर्नलाई काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ। यो काम काठमाडौं एक्लैले पनि सक्दैन। ललितपुर एक्लैले पनि सक्दैन। हामीले दुईटा महानगरपालिका, बागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर बागमतीको स्थायी सफाइ अभियान चलाउन पर्छ।’

बागमतीको पानीलाई निलो सफा पानी बनाउन दुवैको सहकार्य भए सम्भव रहेको मेयर शाहले बताए।

‘यी दुईवटा कार्यमा मात्रै हामीले हाम्रो कार्यकालमा सहकार्य गरेर अघि बढ्नसक्यौं भने निकै राम्रो सन्देश जान्छ’, उनले भने, ‘काठमाडौं उपत्यकाको तर्फबाट नै एउटा राम्रो सन्देश जान्छ। र, हाम्रो जुन मित्रवत भावना छ। त्यसलाई अझै मधुरता दिन सकिन्छ।’

मेयर शाहले सम्पदाहरूको संरक्षणमा ललितपुर महानगरबाट काठमाडौं महानगरपालिकाले धेरै कुरा सिक्नुपर्ने बताए। उनले प्राचिन ढुंगेधाराहरूको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरूले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारीसमेत दिए। उनले ललितपुर महानगरसँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि पटक–पटक दोहोर्‍याए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.