Advertisement

हेलम्बुमा स्याउसँगै चिया खेती

0 230

Advertisement

११ असाेज, चौतारा । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ ।

हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब दुई हेक्टर जमिनमा चिया खेती गरेका थिए । खेर गएको बाँझो जमिनमा चिया खेती सुरु गरेका स्थानीयले थप तीन सय रोपनी जग्गामा खेती विस्तार गर्दै गाउँलाई चियाको पकेट क्षेत्र बनाउने लक्ष्यअनुसार खेती गरिरहेका छन् ।

गाउँका किसानले चिया खेती गर्ने योजना बनाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट एक हजार दुईसय मिटरदेखि दुई हजार तीनसय मिटर उचाइसम्म चिया खेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

‘गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पुर्‍याउने अपेक्षा छ’, अध्यक्ष शेर्पाले भने, ‘चिया खेती थप गर्ने क्रममा रहेकाले गाउँमै प्रशोधन केन्द्र स्थापना गर्ने योजना रहेको छ ।’ गाउँपालिकाको अन्नबालीको उत्पादन कम हुने क्षेत्रमा नगदेबालीको रुपमा फलफूल तथा अन्य खेतीलाई प्राथमिकता दिने योजनाअनुसार गाउँपालिकामा स्याउ तथा चिया खेती गर्न थालिएको हो ।

यस्तो खेतीबाट गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै थप पर्यटन प्रवर्द्धनका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाएको गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताए । हेलम्बु गाउँपालिकाको सहयोगमा अर्थोडक्स चिया लगाइएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.