Advertisement

बैंकिङ्ग तरलता अभावकै बेला राष्ट्र बैंकले ट्रेजरी बिल जारी गरेर २१ अर्ब उठाउँदै

0 148

Advertisement

२३ जेठ, काठमाडाैँ । बैंकिङ्ग तरलता कम भइरहँदा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट दैनिक अबौं रुपैयाँका स्थायी तरलता सुविधा (एसएलएफ) सापटी लिँदै गदौ केन्द्रीय बैंकले सोमबार वित्तीय प्रणालीबाट २१ अर्ब ९ करोड रुपैयाँ तरलता उठाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि आज सोमबार २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आज बिक्री गर्न लागेको ट्रेजरीमध्ये ५ अर्बको नयाँ निष्काशन हो भने १६ अर्ब ९ करोड रुपैयाँ बराबरको यसअघि जारी ट्रेजरी बिलको समय सकिएकाले नवीकरण गरिन लागिएको हो ।

चालु आर्थिक वर्ष सकिन एक महिनाभन्दा केही समयमात्र बाँकी रहँदा पनि बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायमै छ । सरकारले पूँजीगत खर्च गर्न नसक्दा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि लिने सापटी रकम घट्न सकेको छैन । आइतबार विदा भएकाले बैंकहरुले सापटी लिएनन् भने शुक्रबार २७ अर्ब २४ करोड तथा बिहीबार ४८ अर्ब ७४ करोड रुपैयाँ रकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि तरलता सुविधा लिएका हुन् ।

ट्रेजरी बिल भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।

केन्द्रीय बैंकले सरकारलाई उठाने आन्तरिक प्रयोजनका लागि उक्त बिल बिक्री गर्न लागेको हो सरकारलाई आवश्यक पर्ने एक वर्ष सोभन्दा कम अवधिको अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया ट्रेजरी बिल जारी गर्ने गर्दछ ।

केन्द्रीय बैंकका अनुसार जारी गर्न लागेको ट्रेजरी बिलमध्ये ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ९१ दिन अवधिको, १० अर्बको १८२ दिन अवधिको र ६ अर्ब ८३ करोड रुपैयाँ ३६४ दिन अवधिको गरी कुल २१ अर्ब ९ करोड बराबरको ट्रेजरी जारी गर्न लागिएको हो ।

९१ दिन अवधिको ट्रेजरी आगामी भदौ २१ गते, १८२ दिने ट्रेजरी आगामी मंसिर २० र ३६४ दिने ट्रेजरी २०८० साल जेठ २३ मा परिपक्व हुनेछ । ट्रेजरीको बोलकबोल सोमबार दिउँसो ३ बजेभित्र अनलाइन मार्फत गर्न सकिन्छ । यसमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका साथै गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकले समेत बोलकबोलमा भाग लिन सक्नेछ ।

यसअघि राष्ट्र बैंकले जेठ १६ गते २३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी बिल जारी गरेको थियो । सो अवधिमा २८ दिने अवधिको २ अर्बको ट्रेजरी बिलको औषत बट्टादर (डिस्काउन्ट रेड) ८.१७८७, ९१ दिने अवधिको ३ अर्ब १३ करोडको ट्रेजरी बिलको औषत बट्टादर ९.३४२०, १८२ दिने अवधिको ६ अर्बको ट्रेजरी बिलको औषत बट्टादर १०.१३२८, र ३६४ दिने अवधिको १२ अर्बको ट्रेजरी बिलको औषत बट्टादर १०.११६२ निर्धारण भएको थियो ।

सरकारले बढीमा एक वर्ष वा सोभन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउने प्रयोजनका प्रयोग गरिने ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । ट्रेजरी बिल विशेष गरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार अवधिको निष्कासन गरिन्छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा छैन । यी विभिन्न अवधिका ट्रेजरी बिल आवश्यकता अनुसार निष्कासन गरिन्छ ।

बोलकबोलमा बहुबोल मूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा नै गर्नुपर्छ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोल गर्न सक्ने व्यवस्था हुन्छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा बट्टादर (डिस्काउन्ट रेट) बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ ।

ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा जम्मा गरी भौचर यस विभागमा पेश गर्नु पर्दछ र बोलकबोलमा सफल भए पश्चात् बुझाउनुपर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्रऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नु पर्दछ ।

नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नु पर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाकोअर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा न्यूनतम ५० हजार रूपैयाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सकिन्छ । ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गर्ने गरिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.