Advertisement

महोत्तरीमा प्राकृतिक सम्पदा संरक्षण नै मुख्य मुद्दा

0 132

Advertisement

१२ जेठ, महोत्तरी । स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणलाई मुख्य मुद्दा बनाउनुपर्ने जिल्लाका बासिन्दाको माग छ । निर्वाचन परिणामपछि शपथ लिएर पदबहाली गरिरहेका स्थानीय तहका प्रतिनिधिले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आफ्ना प्राथमिकतामा रहेको बताइरहेका बेला सर्वसाधारणले भने प्राकृतिक सम्पदाको संरक्षण गर्न जोड दिएका छन् ।

बर्दिबास नगरपालिका–१४ ७५ वर्षीय खड्गबहादुर सिंह चुरे पर्वतको संरक्षण प्रमुख मुद्दा बन्नुपर्ने बताउनुहुन्छ । “जिल्ला भएर बग्ने अधिकांश नदी, खोल्साखोल्सीको उद्गमस्थल चुरे पहाड र त्यस वरपरका शृङ्खला छन्, चुरे जोगाउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

जिल्लाको उर्वर वन क्षेत्र, पाखा–पर्वत र नदीनालाका मुहान बर्दिबासमै भएपछि यो नगरपालिका यहाँका बासिन्दा मात्र नभएर सबै जिल्लावासीको चासोको ठाउँ बनेको हो । यहाँबाट बग्ने नदीनालाको व्यवस्थापन ठिक नहुँदा पूरै जिल्ला कटान र डुबानबाट प्रभावित हुने हुँदा सबैतिरको चासोमा बर्दिबास रहेको बर्दिबास–३ गौरीडाँडाकी सरिता ढुङ्गाना बताउनुहुन्छ । बर्दिबास क्षेत्रका नदीनाला, पहाडी टाकुरा र नदीउकास क्षेत्रमा अनियन्त्रित दोहन निकै बढेको छ । उत्खनन गर्ने र बालुवाढुङ्गा अवैध निर्यात बढ्दै गएपछि कटान र डुबानको समस्या झेल्नुपरेको उहाँको भनाइ छ ।

भङ्गाहा–७ मेघरोलका डा विजयकुमार सिंह भन्नुहुन्छ, “उत्खनन् नियन्त्रण, सम्पदाको संरक्षण र उपयोगको वैज्ञानिक विधि अवलम्बन नगरे यसको प्रभाव जिल्लाभरि पर्छ ।” यो सब रोक्ने अभिभारा यहाँका नवनिर्वाचित प्रतिनिधिको काँधमा आएको छ । स्पष्ट विधि र मापदण्ड अभावले प्राकृतिक विपद् बढ्दै गएको छ । अनियन्त्रित उत्खननले वन मासिँदै गएको छ । असन्तुलित वर्षा हुने, भू–स्खलन बढ्ने, बाढीले कटान र डुबान बढाउने समस्या बढ्दै गएको छ ।

चुनावमा अधिकांश उम्मेदवारले प्राकृतिक सम्पदाको संरक्षण र अनियन्त्रित उत्खनन रोक्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले अवैध क्रसर उद्योग हटाउने र अनियन्त्रित दोहन रोक्ने बताएका थिए । बर्दिबास–९ पशुपतिनगरका ललन मण्डल प्रतिबद्धता कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्नुहुन्छ । “विगतमा पनि प्रतिवद्धता जनाएकै हुन, कार्यान्वयनमा आउन सकेन”, उहाँले भन्नुभयो ।

जिल्लाको पूरै पहाडी क्षेत्र बर्दिबास नगरमा पर्छ । बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रका नदी, नदीउकास जग्गामा अहिले ५० भन्दा बढी अवैधरूपले सञ्चालन गरिएका क्रसर उद्योग छन् । नवनिर्वाचित जनप्रतिनिधिसामु यस्ता अवैध क्रसर उद्योग हटाउन चुनौतीपूण जिम्मेवारी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.