Advertisement

७९ स्थानीय तह रहेको कर्णालीमा दलहरू उम्मेदवार टुङ्गो लगाउन व्यस्त

0 163

Advertisement

०४ वैशाख, काठमाडाैँ । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन्। सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ।

नेपाली कांग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरूले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले १० वटै जिल्लामा सिट बाँडफाँटबारे गहन छलफल भइरहेको बताए।

‘जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्ष आएको अवस्था छैन्’, उनले भने, ‘विसं २०७४ को निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै उम्मेदवारको भागबण्डा लगाउन निर्देशन दिएका छौँ, भागबण्डाको टुङ्गो जिल्लाले नै लगाउने हो।’

सभापति शाहीले प्रदेशस्तरीय गठबन्धनको बैठक आगामी सोमबार बस्ने र उक्त बैठकमा जिल्ला संयन्त्रले पठाएका प्रतिवेदनबारे छलफल हुने जानकारी दिए। स्थानीय तहबाटै तालमेलको टुङ्गो लगाउँदा परिणाम राम्रो आउने हुँदा तल्ला कमिटीलाई उक्त जिम्मेवारी दिइएको उनको भनाइ छ।

कर्णालीमा ७९ स्थानीय तह छन्। तीमध्ये २५ नगरपालिका र ५४ गाउँपालिका छन् भने ७१८ वडा छन्। विसं २०७४ को स्थानीय तह निर्वाचनमा ठूलो दल एमाले विभाजनपछि दोस्रो स्थानमा झरेको छ।

यहाँ माओवादी केन्द्र हाल पहिलो शक्ति बनेको छ। माओवादी केन्द्रका प्रमुख–उपप्रमुख गरी ५२ जना छन्। एमालेका ४५, कांग्रेसका ४१ प्रमुख–उपप्रमुख छन्। त्यस्तै एमाले विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)का १७ जना प्रमुख–उपप्रमुख छन्।

स्वतन्त्रबाट निर्वाचित प्रमुख–उपप्रमुखको सङ्ख्या पाँच रहेको छ। प्रदेशस्थित सत्ता साझेदार पाँच दलले केन्द्रको निर्देशनअनुसार विसं २०७४ को यही मतभारलाई मुख्य आधार बनाई चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका हुन्।

एमाले भने उम्मेदवार छनोट र सिफारिसमा व्यस्त छ। प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार हालसम्म एमालेका स्थानीय कमिटीले नौ स्थानीय तहको प्रमुख–उपप्रमुखको टुङ्गो लगाइसकेका छन्।

‘कतिपय स्थानमा सर्वसम्मत र कतिपय स्थानमा मतदानबाट टुङ्गो लगाइएको छ, स्थानीय कमिटीले टुङ्गो लगाउन नसकेका तहको माथिल्लो कमिटीको बैठकले टुङ्गो लगाउनेछ”, प्रदेश अध्यक्ष शाहले भन्नुभयो, “उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए एक पदका लागि तीन जनाको नाम माथिल्लो तहमा पठाउन स्थानीय कमिटीलाई निर्देशन दिएका छौँ।’

हालसम्म प्रदेशका २७ वडाबाट उम्मेदवारका आकाङ्क्षीहरू माथिल्ला कमिटीमा सिफारिस भएका र ७० वडामा वडाध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भइसकेको जनाइएको छ।

एमालेबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख पदमा सूर्यबहादुर शाही, जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष पदमा वीरबहादुर गिरी, भेरी नगरपालिकाको प्रमुखमा चन्द्रप्रकाश घर्ती, कालिकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा, दैलेखको दुल्लू नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा मानबहादुर रोकाया, हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री, पातारासी गाउँपालिका अध्यक्षमा सुकराम रावत सर्वसम्मत सिफारिस भएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.