गुल्शनसहित पाँच युवा खेलाडीले भारतमा प्रशिक्षण गर्ने
२७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच युवा खेलाडीले भारतमा प्रशिक्षण गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली पाँच युवा खेलाडीले भारतको बेंगलोरस्थित क्रिकेट एकेडेमीमा खेल विकास दुई सातासम्म प्रशिक्षण गर्ने भएका हुन्।प्रशिक्षण गर्न जानेहरुमा लोकेश बम, गुल्शनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल अलाम छन्।
उनीहरु खेलाडी विकाश कार्यक्रमअन्तर्गत प्रशिक्षणका लागि भारत जान लागेको क्यानले जनाएको छ। उनीहरु शुक्रबार राती नै भारत प्रस्थान गर्नेछन्।
नेपाली क्रिकेट टोली हाल विश्वकप क्रिकेट लिग डिभिजन २ को तयारीका लागि श्रीलंका भ्रमणमा रहेको छ। श्रीलंकामा स्थानीय टोलीसँग केही अभ्यास खेल खेलेपछि नेपाली टोली त्यहीँबाट युएई जाने तालिका छ ।