Advertisement

सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

0 253

Advertisement

१० फागुन, काठमाडौँ । नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ ।

सुरुङ मार्गमा खटिएका प्राविधिक टोलीका सहसंयोजक (डेपुटी टिम लिडर) इन्जिनियर अच्युत भट्टका अनुसार नागढुङ्गातर्फको नाकाबाट मुख्य सुरुङको चार सय ७४ दशमलव २० मिटर टनेल खनिएको छ । नौबिसेतर्फको नाकाबाट पनि ४७४.४ मिटर सुरुङ खनिसकिएको छ ।

सहायक सुरुङको नागढुङ्गा नाकाबाट ७९० मिटर र नौबिसेतर्फको नाकाबाट ५७० मिटर खनिसकिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ र सहायक सुरुङको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ । भट्टले भन्नुभयो, “समग्रमा आजसम्म ४५ प्रतिशत काम सकिएको छ । तोकिएकै समयमा निर्माण सक्ने गरी काम भइरहेको छ ।”

मुख्य सडकबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारी साधनबाहेक अन्यलाई गुड्न दिइनेछ । दोस्रो सुरुङबाट मुख्य सडकमा सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपत्कालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै प्रवेश दिइने भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य र सहायक सुरुङ मार्गलाई जोड्न सातवटा पहुँच मार्ग बनाइनेछ । जुन मार्गबाट आवश्यकताअनुसार दुवै सुरुङ मार्गका विशेष अवस्थाका सवारी साधनलाई आवातजावात गर्न दिइनेछ ।

सुरुङ खनिसकेपछि त्यहाँ ३० सेन्टिमिटर बाक्लो ढलान गरिनेछ । तुलनात्मक रूपमा अन्य सडकमा गरिने कालोपत्रेभन्दा यो निकै नै बाक्लो भएको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य सडकजस्तो सुरुङ मार्ग बारम्बार बनाइरहन सकिँदैन । त्यसैले बीचमा कुनै समस्या नआओस् भनेर यहाँ बाक्लो गरी ढलान गर्न लागिएको हो । ढलान गर्ने यन्त्रले एक पटकमा तीन सय मिटर कालोपत्रे गर्न सकिन्छ ।”

सुरुङ मार्गसँगै गुर्जुधारासम्म जोड्ने पहुँच सडकखण्डको निर्माण पनि दु्रत गतिमा भइरहेको छ । उक्त खण्डमा सडक खन्ने, कल्भर्ट निर्माण तथा दायाँबायाँ नाली खन्ने काम पनि एकसाथ भइरहेको छ । आइतबार चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलगायतका स्थानीय जनप्रतिनिधिले सुरुङ मार्गको निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिनुभएको छ ।

सुरुङ मार्ग निर्माणका क्रममा नागढुङ्गा खण्डमा कुनै पनि समस्या आउन नदिने गिरीले प्रतिबद्धता जनाउनुभयो । गिरीका अनुसार सुरुङ मार्गदेखि गुर्जुधारासम्म निर्माण भइरहेको पहुँच मार्ग र त्यहाँ निर्माण हुन लागेको फ्लाइओभरले ओगट्ने जग्गाको मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

गुठीको जग्गा तथा कागजपत्र नमिलेर मुआब्जा वितरण रोकिएका ठाउँमा पनि नगरपालिकाले सहजीकरण गरेर समस्या समाधान गरिरहेको जानकारी गिरीले दिनुभयो । जापान सहयोग नियोग (जाइका) र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङ मार्ग निर्माण भइरहेको छ । सुरुङ मार्गको काम २६ महिनाअघि सुरु भएको हो ।

४२ महिनाभित्र काम सक्ने भनिएकोमा गत वर्ष कोरोना सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण तीन महिना काम रोकिएको थियो । सोहीअनुसार आयोजना निर्माणका लागि सरकारबाट ८६ दिन म्याद थप भएको सहसंयोजक भट्टले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.