Advertisement

शीतभण्डार बनाउँदै तनहुँका स्थानीय तह

0 270

Advertisement

२३ माघ, दमौली । कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्नका लागि तनहुँका स्थानीय तहले शीतभण्डार निर्माणलाई अगाडि बढाएका छन् । जिल्लास्थित विभिन्न स्थानीय तहले शीतभण्डार निर्माण थालेका हुन् ।

घिरिङ गाउँपालिका–१ अत्रौलीमा शीतभण्डार निर्माण सुरु भएको छ । सङ्घीय सरकार र घिरिङ गाउँपालिकाको लागत साझेदारीमा शीतभण्डार निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । रु दुई करोड दश लाख ८८ हजार २८६ को लागतमा निर्माण हुने शीतभण्डार विसं २०८० मङ्सिर १४ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । शीतभण्डार निर्माणका लागि आरएनसिएस कश्याप जेभीसँग सम्झौता भएको छ । किसानले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्नसक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो । “गाउँपालिकाभित्र व्यावसायिक रुपमा उत्पादन भएका कृषि सामग्रीको उचित मूल्य पाउन नसक्दा किसानलाई समस्या हुँदै आएको छ, शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्ने विश्वास लिएका छौ”, उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र उत्पादन हुने आलु, अदुवालगायतका वस्तुलाई भण्डारणको व्यवस्था मिलाएर बिक्री वितरण गर्ने लक्ष्य लिइएको छ ।” शीतभण्डार नहँुदा समस्या भोगेका किसान यसको निर्माण सुरु भएपछि खुशी भएका छन् ।

शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेका किसानलाई यसले सहयोग पुग्ने स्थानीयवासी विष्णुभक्त सिग्देलले बताउनुभयो । व्यास नगरपालिकाले पनि शीतभण्डार निर्माण थालेको छ । व्यास नगरपालिका– ११ मा रु तीन करोडको लागतमा शीतभण्डार निर्माण भइरहेको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिनुभयो । व्यास नगरपालिकाले नगरलाई आलुमा आत्मनिर्भर बनाउन किसानलाई अनुदानमा आलुको बीउ वितरण गर्दै आएको छ । शीतभण्डार निर्माण भएपछि आलुलाई भण्डारण गरेर बिक्री वितरण गर्न सकिने खड्काले बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिकाले पनि गत वैशाखदेखि शीतभण्डार निर्माण गरिरहेको छ । शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट निर्माण सुरु गरिएको शीतभण्डारको काम तीव्र गतिमा भइरहेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

किसानले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको वडाध्यक्ष रेग्मीले बताउनुभयो । उहाँका अनुसार शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले रु एक करोड सशर्त अनुदान बजेट उपलब्ध गराएको छ, भने नगरपालिकाले रु दुई करोड लगानी गरेको छ । कूल रु तीन करोडको बजेटमा बोलपत्र प्रक्रियाबाट निर्माणकार्य सुरु गरिएको हो ।

लामो समयदेखि लालिमस्थित सिर्जनशील महिला समाजले संरक्षण गरेको सार्वजनिक जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । नगर क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो । “यस वडामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ, तर पनि किसानले उत्पादन गरेका आलुको उचित मूल्य पाउन गाह्रो भइराखेको थियो,“उहाँले भन्नुभयो, “शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्छ ।”

चालू आर्थिक वर्षभित्रै शीतभण्डारको काम सम्पन्न हुनेछ । नगरमा उत्पादन हुने आलु, अदुवालगायतका वस्तुलाई यसवर्ष भण्डारण गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । किसानले उत्पादन गरेको आलु शीतभण्डारसम्म पु¥याउन वडा कार्यालयले नै व्यवस्था मिलाउँदै आएको छ । शीतभण्डारसम्म आलु ढुवानीका लागि यसवर्ष रु दुई लाख बजेट विनियोजन गरिएको छ ।

“किसानले उचित मूल्य पाउन भन्नका लागि शीतभण्डारसम्म आलु ढुवानीका लागि सहयोग हुँदै आएको छ, तर यही शीतभण्डार निर्माण भएपछि किसानलाई पनि सहज हुन्छ,” रेग्मीले भन्नुभयो । किसानलाई आत्मनिर्भर बनाउन यस वडामा आलुको बीउ वितरण गरिएको थियो । ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले वडा नम्बर नं ८ मा आलु उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलुबाली विकास कार्यक्रम अन्तर्गत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको थियो । शीतभण्डार नहुँदा समस्या भोगेका किसान शीतभण्डार निर्माण सुरु भएपछि खुसी भएका छन् । शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेको किसान मञ्जु श्रेष्ठले गुनासो गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.