अनलाइन जुवा खेलेको आरोपमा बौद्धको एक रेष्टुरेन्टबाट ७४ जना पक्राउ
१७ माघ, काठमाडाैँ । अनलाइन जुवा खेलमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ७४ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धबाट ७४ जनालाई पक्राउ गरेको हो।
काठमाडौं–६ बौद्धस्थित प्लानिङ नजिक रहेको सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टबाट जुवा खेलमा संलग्न भएको आरोपमा ७४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कोभिड–१९ को महामारी कायम रहेको अवस्थामा ठूलो संख्यामा मानिसहरु भेला जम्मा भई अनलाइन जुवा खेल्ने गरेको भन्ने सूचनाका आधारमा छापा मारेर ७४ जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए। उनीहरुबाट मोबाइल, जुवा खेल्न प्रयोग गरिने कुपन र नगद समेत बरामद गरिएको छ।
उनीहरुबाट जुवा खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिइएको । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला छन्। त्यसक्रममा ६ लाख १९ हजार २५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।